काठमाडौं । रसुवा भन्सार कार्यालय टिमुरेले करीब १५ अर्ब राजश्व सार्वजनिक भएको छ ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार २०७२ साल मङ्सिरदेखि चालू आर्थिक वर्षको पुस मसान्तसम्म भ्याटसमेत गरी कूल १५ अर्ब १२ करोड ६७ लाख राजश्व आर्जन भएकोे छ ।
६७ औँ विश्व भन्सार दिवस कार्यक्रम तयारीबारे प्रमुख भन्सार अधिकृत खड्काले समय सापेक्ष भन्सारको काममा सुधार गर्न सिसी क्यामरा जडान गरी चुहावट रोक्न प्रयास गरिएको, जाँचकीलाई दिनैपिच्छे फरक फरक सामान परीक्षणमा खटाइएको, सुरक्षा अङ्ग अहोरात्र परिचालन भएका कारण चोरी निकासी अन्त्य भएकाले राजश्वमा वृद्धि भएको जानकारी दिएका छन् ।
गत आर्थिक वर्षको साउनदेखि पुससम्मको तुलनामा चालु आर्थिक वर्ष २०७५/७६ को अवधिमा २५० प्रतिशतले वृद्धि भएको भन्सार कार्यालय टिमुरेले बताएको छ । भन्सार हातामा सामान परीक्षणका लागि ३० जाँचकी नियमित परिचालन भरहेका र परीक्षण गर्दा कुहिने चिजलाई पहिलो प्राथमिकता दिई हेरिने गरेको बताइएको छ ।
विसं २०७२ वैशाख १२ को भूकम्पको असरले सिन्धुपाल्चोकको तातोपानी नाका पूर्णरूपमा बन्द भएपछि २०७२ साल मङ्सिर १५ गतेदेखि रसुवागढी नाका पूर्णरूपमा सञ्चालन हुँदा मानवचाप बढ्न गई टिमुरे क्षेत्रका होटल, लज र पसल सञ्चालनमा आएपछि यहाँका बासिन्दाको जीवनस्तरमा सुधार आएको टिमुरे घट्टेखोलाका समाजसेवी सोनावाङ्दी तामाङले बताएको छ ।
भन्सार कार्यालयले भन्सार दिवसअन्तर्गत शनिबार मनाइने कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरेको छ । कार्यक्रममा शनिबार बिहान रसुवाबाट नेपाल पस्ने पहिलो पर्यटकलाई स्वागत गरिने, रसुवागढीबाट पदयात्रा गर्दै टिमुरे आउने, राजश्व चुहावट रोक्न चेतना जगाउने, भन्सारका विद्यमान ऐननियम दिशाबोध गराउने जस्ता रहेको प्रमुख भन्सार अधिकृत खड्काले जानकारी दिएका छन् । रासस