काठमाडौं । काँग्रेस युवा नेता गगन थापाले भोलि बस्ने संसद बैठकमा मुठभेड पनि हुनसक्ने चेतावनी दिएका छन् । उनले सभामुखले तटस्थता कायम नगरे संसदमा मुडभेड निम्तिने चेतावनी दिएका हुन् । राजधानीमा आयोजीत एक कार्यक्रममा उनले चिकित्सा शिक्षा विद्येयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको पनि गुनासो पोखे ।
सांसद थापाले भने,‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ । सभामुख सदनमा आउनुपुर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो, तर सभामुखको पदमा आसिन भैसकेपछि उहाँको दलमा आवद्धता रहनुहुन्न । र रहँदैन भन्ने कुरालाई सँधैभरि हामीले अपेक्षा गर्दछौं । तर, दुःखका साथ भन्नुपर्छ सम्मानीय सभामुखको भुमिकाबाट हामीले यो कुरालाई महशुस गर्न पाईरहेका छैनौं ।’
थापाले भने,‘जुन विद्येयक अनशनबाट डाक्टर गोविन्द केसीसँग सम्झौता भैसके पछाडि सदन चलेको बेलामा, माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछिमात्रै त्यो अगाडि बढेको छ । त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होईन, प्रश्न यहाँ संसदको पनि हो ।’
सभामुख महराको भूमिकालाई लिएर आक्रोशित थापाले अघि थपे,‘यो विषयमा संसदको पनि प्रश्न रहँदै गर्दा यो बेलामा, यतिखेर सम्मानीय सभामुखको भूमिका त विवेकपूर्ण ढंगबाट, किन हामीले देखेका छौं नि । सभामुखको भूमिका भनेको त, जिम्मेवारी भनेको त त्यो ठाउँबाट त पर्दा पछाडिबाट पनि भूमिका निर्वाह गरेर यो विद्येयक सदनमा पनि सम्झौता भएर आएको छ । यसमा सम्झौता खोज्नको निम्ति मैले पनि पहलकदमी गर्नुपर्छ भन्ने ठाउँमा सम्पूर्ण रुपमा एक खालको रुझान राखेर, जुन खालको भूमिका निर्वाह गरिएको हो । यो स्विकार्य छैन । यो अस्विकार्य छ ।’
नेकपाकै जिम्मेवार नेता एवम् संसदको सदस्यहरुले भोलि सदनमा यस्तो–यस्तो हुन्छ भनेर बाहिर यहाँबाट घोषणा गरिरहेको भन्दै उनले कडा टिप्पणी गरे । उनले भने,‘यहाँबाट फद्वा जारी राख्नुभएको छ । यस्तो–यस्तो हुन्छ भनेर । के व्यवस्थापिका–संसदको सभामुख कुनै अमुक पार्टीको अमुक कार्यकर्ता हो ? पार्टीको निर्देशनबाट, बाहिर खुल्लामञ्चबाट, खुल्ला ठाउँबाट योभन्दा मानमर्दन केही हुन्छ ? यहाँ संसदभित्र प्रतिपक्षले प्रतिरोध गर्दै गर्दाखेरि बोलेका कुराहरु र उठाएका विषयहरुले सदनको मानमर्दन भयो भनेर भनिएको छ। त्यो सदनको मानमर्दन हुने, अनि खुल्लामञ्च, चोक चौताराबाट भोलि सदन यसरी चल्छ, सदन चलाउने कसले हो ? पार्टीले हो ? सदन चलाउने सरकारले हो ? के सदन चलाउने सभामुखले हो ? सभामुखले भोलि यसो यसो गर्नुहुन्छ ? मैले आदेश दिईसकें । हाम्रो आदेश गैसक्यो भन्ने ढंगबाट आदेश दिईन्छ अनि भोलि सभामुख त्यसलाई टुलुटुलु हेरेर पालना गर्नुहुन्छ भने त्यो बेलामा नेपालको सदन, नेपालको संसदले सार्वभौम जनताको त्यो सार्वभौम भूमिका निर्वाह गर्न सकिरहेको छ त ? भन्ने प्रश्न उठ्छ ।’
भोलि माघ ११ गतेको संसद बैठकभन्दा अगाडि सभामुखले आफूहरुलाई बोलाएर छलफल गर्ने भन्ने अपेक्षा आफूहरुको रहेको पनि थापाले सुनाए । उनले थपे,‘अस्तिको घट्ना जुन संसदभित्र भएको छ, त्यो भएको घट्नाप्रति उहाँले सदनभित्रका अमर्यादित घट्नालाई अब नदोहोरिने परिस्थितिका बारेमा हामीलाई आश्वस्त पार्नुहुन्छ । सरकारले पनि हामीसँग छलफल गर्छ । एउटा नयाँ परिस्थितिको सिर्जना गर्छ भन्ने हामीलाई अझैपनि अपेक्षा छ ।’
यद्धपी थापाले यी केही पनि कुराहरु नगर्ने अनि म पेलेर देखाईदिन्छु र मुठभेड गर्छु भन्छ भने त्यो बेलामा प्रतिउत्तर दिनेभन्दा आफूहरुसँग अर्को विकल्प नहुने स्पष्ट पारे । ‘त्यो दुर्भाग्यपूर्ण स्थिति नआओस भन्ने हामी अहिलेपनि चाहन्छौं’–उनले थपे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डाभोसको मञ्चमा म जनताको नोकर भएर बस्ने हो भनेर भनेको कुरा सकारात्मक भएको उल्लेख गर्दै थापाले भने,‘फर्केर आईसकेपछि हामी प्रधानमन्त्रीको त्यो बोलि व्यवहारमा अनुवाद भएको हेर्न चाहन्छौं । किनकी प्रधानमन्त्री गैसकेपछि देशभित्र सदनमा मुठभेड छ, गोविन्द केसीको अनशन जारी छ । यी सबैका बीचमा, र सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा यत्रो धेरै संघर्षको स्थिति बनेको बेलामा यसलाई मिलाउने काम प्रधानमन्त्रीको हो । यो कर्तव्य उहाँले निर्वाह गर्नुहुनेछ भन्ने कुराको विश्वास व्यक्त गर्छु ।’
प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता लागु गर्नुपर्ने थापाको भनाई छ । उनले भने,‘अब प्रधानमन्त्रीले लाचारी दोहोर्याउनु हुँदैन । मैले सम्झौता गरेकै हो, तर सदनले मान्दैन त म के गरौं ? सम्झौता भनेको यस्तै हो । कहिलेकाहीँ गरेको बेलामा गर्ने हो, बलियो भएको बेलामा उल्लंघन गर्ने हो भनेर भन्ने ? देशको प्रधानमन्त्रीले सम्झौता गरेको पालना गर्ने चिज होईन, सम्झौता भनेको गर्ने चिज हो । लेख्ने चिज हो भनेर भन्नुभयो भने यहाँभित्र थिति बस्दैन् । त्यो कारणले प्रधानमन्त्रीले यसमा पनि ध्यान पुर्याउनुहुन्छ भन्ने म अहिलेपनि अपेक्षा गर्छु ।’
उनले प्रधानमन्त्री ओलीलाई अहिले केही पनि अप्ठ्यारो नभएको भन्दै विद्येयकको सम्बन्धमा कसरी अघि बढ्ने भन्नेबारे उपायपनि
सुझाए । थापाले भने,‘प्रधानमन्त्रीको पनि आत्मसम्मान राख्नको लागि बाटो छ । यो पटक डा. गोविन्द केसीसँग वार्ता गर्न गैराख्नुपनि पर्दैन् । मैले देखेको । प्रधानमन्त्री आईसकेपछि संसदीय सर्वोच्चता रहन्छ । संसदीय सर्वोच्चता भनेको समितिको सर्वोच्चता होईन । अहिले समितिले पारित गरेको हो । संसदले होईन । समितिले पारित गरेको प्रतिवेदनलाई माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मैले यो–यो सच्याउन चाहन्छु भन्नुभयो भने उहाँले जे पनि सच्याउन पाउनुहुन्छ । उहाँले सच्याएको कुरालाई सदनले स्विकार वा अस्विकार गर्ने हो ।’
प्रधानमन्त्री ओलीले संसदमा म आग्रह गर्छु भनेको कुरा सुनाउँदै थापाले भने,‘हाम्रो आग्रह छ सरकारले आग्रह गरोस न त । सरकारले भनोस डा. केसीसँग सम्झौता गरेर विद्येयक समितिमा पठाएको थिएँ, यसले केही कुरा बिगारेर लिएर आएछ । त्यसलाई फेरि सच्याईदिओस भनेर सरकारले आग्रह गर्दैगर्दा बाटो फेरि समितिमा फर्काउन सकिन्छ । त्यही सदनमा सच्याउन सकिन्छ ।हाम्रो नियमले कति बाटो देखाउँछ देखाउँछ । त्यसकारण संसदीय सर्वोच्चता भनेको हाम्रो पद्धतीमा प्रधानमन्त्रीले चाहनुभएको विद्येयक संसदको बहुमतबाट जहिलेपनि पारित हुन्छ । यदि प्रधानमन्त्रीको चाहना संसदबाट पारित भएन भने त प्रधानमन्त्री सकिनुहुन्छ । प्रधानमन्त्रीको विश्वास गयो । मैले चाहेको तर सदनले दिएन भन्ने कुरा लाचारीको कुरा हो ।’
उनले प्रधानमन्त्री ओलीलाई विदेशबाट स्वदेश फर्केर आईसकेपछि संसदमा मुठभेड नमित्याउन पनि आग्रह गरे । उनले भने,‘अस्पतालको कुरालाई (अस्ति उहाँले भन्नुभएको छ) त्यसलाई मिलाउनुहोस् । चिकित्सा शिक्षा विद्येयकको सन्दर्भमा सम्झौता भएअनुसारको सदनबाट पारित गर्ने व्यवस्था मिलाउनुहोस । सदनपनि चल्छ । र, डाक्टर गोविन्द केसी पनि आफ्नो अनशनबाट उठ्नुपर्छ । हामी पनि त्यो बेलामा उहाँलाई भन्छौं । तपाई जिद्दी गरेर नबस्नुहोस भन्छौं । तपाईको अरु विषयमा पछि छलफल हुन्छ, यो विषयसँग नजोड्नुहोस भन्छौं । हामी पनि उहाँलाई भन्छौं ।’