
काठमाडौँ । अरुण काबेली पावर लिमिटेडको सातौं तथा आठौं संयुक्त वार्षिक साधारण सभा, कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा पुस ३० ईन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाण्डौंमा सम्पन्न भयो ।
साधारण सभाले आर्थिक वर्ष २०७३/७४ तथा आ.व. २०७४/२०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गरि स्वीकृत गरेको छ ।
कम्पनीका संस्थापक शेयरधनीको प्रतिनित्व गर्ने सञ्चालक पद गुरुप्रसाद न्यौपाने, जीवनराज शाक्य, बच्छराज तातेड तथा भेजप्रसाद तिमिल्सिना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक मिलन खड्का तथा नोलकुमारी आचार्यलाई महिलाको प्रतिनिधित्व गर्ने गरी र स्वतन्त्रतर्फबाट इन्द्रमणि त्रिताललाई सञ्चालक समितिमा चयन भएका छन् ।
कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ्ग जिल्लाको सिमाना भएर बहने काबेली नदीको पानीे उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी—१ जलविद्युत परियोजना निर्माण गरिरहेको छ ।
परियोजनाबाट उत्पादन हुने विद्युतशक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ९० किलोमिटर लामो दमक—काबेली (मेची कोरिडर) १३२ के.भी. डवल सर्किट राष्ट्रिय प्रसारण लाईन आयोजना अन्तर्गत पाँचथर जिल्ला साविकको अमरपुर गा.वि.स. स्थित अमरपुर सबस्टेसनमा जडान गरी विद्युत आपूर्ति गर्ने गरी संझौता सम्पन्न भएको छ ।
परियोजनामा निर्माण गर्नुपर्ने हाईड्रोमेकानिकलको कार्य अन्र्तगत पेनस्टक पाईप, गेट निर्माण तथा जडान, ईलोक्टोमेकानिकल तथा स्विचिङ्ग सवस्टेशनमा लाग्ने मेशिनहरु जडान कार्य सम्पन्न भएको छ ।
कम्पनीले निर्माण गर्नुपर्ने काबेली देखि अमरपुर सवस्टेशन सम्मको ४.५ किलोमिटर लामो १३२ के.भी प्रसारण लाईन निर्माण गर्ने कार्य सम्पन्न भई लाईन चार्ज समेत भईसकेको छ ।
परियोजनाबाट बार्षिक १४,१७,४६,४७० किलोवाट घण्टा विद्युतशक्ति उत्पादन हुने प्रक्षेपण गरिएको छ । विद्युत बिक्रीको मूल्य वर्षात्का ८ महिनाको लागि रु. ४.८० प्रति किलोवाट घण्टा तथा हिउँदका ४ महिनाको लागि रु ८.४० प्रति किलोवाटघण्टा कायम गरिएको छ । यस आधारमा यो परियोजना निर्माण सम्पन्न भई सञ्चालन भएको पहिलो वर्ष रु ७६ करोड आम्दानी प्राप्त हुन बताइएको छ ।
२५ मेगावाट क्षमताको काबेली बि-१ जलविद्युत परियोजना निर्माण पूरा गर्न कूल रु. ४६३ करोड लागत लाग्ने अनुमान छ । हालसम्म परियोजना निर्माणमा रु ४५४ करोड लगानी भईसकेको छ ।