काठमाडौं । चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाले स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ ।
गाउँपालिकाले एक जना बालिकाको खातामा पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ ।
अभिभावकको अवस्था कमजोर रहेमा दातासमेत खोजी रकम जम्मा गराउने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रमुख गीता गुरुङकाअनुसार गाउँपालिका भित्रका बच्चा जन्माउने चार वटा केन्द्रमा जन्मिएका छोरीका नाममा खाता खोल्न लागिएको हो । इच्छाकामना–१ को हात्तिवाङ–४ को कुरीनटार, ६ को चण्डीभञ्ज्याङ र ७ को माथिल्लो दाहाखानीमा बर्थिङ सेन्टर रहेको छ ।

त्यस गाउँपालिकाको चार वटा बर्थिङ सेन्टरमा गत वर्ष जन्मिएका शिशुमध्ये २७ छोरी र १०० छोरा भएपछि आफूले बाल बचत कार्यक्रम शुरु गरेको बताएका छन् । २५ हजार १२ जनसङ्ख्या रहेको उक्त गाउँपालिकामा १३ हजारभन्दा बढी महिला रहेका छन् ।
सहकारी र ठूला संस्थासँग समेत छोरीको खातामा रकम राखी सहयोग अध्यक्ष गुरुङले आग्रह गरेका छन् । रु १० हजार र त्यो भन्दामाथि निक्षेप राखी उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको छ ।
हालका लागि गाउँपालिका भित्रका बर्थिङ सेन्टरमा मात्रै जन्मिएका छोरीको नाममा खाता खोलेपछि सो गाउँपालिकाबाट अन्यत्र गएर छोरी जन्मिएमा पनि खाता खोलिदिने योजना रहेको उजनाएका छन् । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि रु ३० लाख बजेट महिला र बालबालिकाका लागि विनियोजन गरी महिलाको चेतना अभिवृद्धिसँगै सीपमुलक तालिमसमेत दिँदै आएको छ । रासस