काठमाडौं । वैदेशिक रोजगार विभागले जापानमा वैदेशिक रोजगारी खुलिनसकेको स्पष्ठ पारेको छ । केही सञ्चारमाध्यम र विभागबाट अनुमति प्राप्त गरी सञ्चालनमा आएका केही संस्थाहरुले समेत जापानमा रोजगारी खुलेको भनी लेखिएको समाचार र जारी गरिएको सूचनाप्रति विभागको ध्यानाकर्षण भएको समेत जनाएको छ ।
विभागले बुधबार एक विज्ञप्ती जारी गर्दै उक्त भ्रममा नपर्न समेत समन्धित सबैलाई आह्वान गरेको छ । साथै त्यस्तो भ्रमपूर्ण कार्यहरु गर्ने कम्पनी फर्म वा संस्थालाई कारबाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।
‘नेपालबाट जापानमा वैदेशिक रोजगारीमा कामदारहरु पठाउने विषयमा हालसम्म नेपाल सरकारको कुर्नै पनि निर्णय भइनसकेको र यस विषयमा निर्णयको पारदर्शिता हुने नै हुँदा जापान पठाउने भनी संस्थागत/व्यक्तिगत/कम्पनी बाट गरिएको सबै क्रियाकलाप कानून विपरित देखिन आएकोले तत्काल त्यस्ता गतिविधिहरु नगर्न र नगराउन सूचित गरिन्छ ।’ विभागको विज्ञप्तीमा भनिएको छ, ‘यस्तो सूचना गरे गरेको पाइएका सम्बन्धित संस्थागत/व्यक्तिगत/कम्पनी उपर वैदेशिक रोजगार ऐन/नियम अनुसार तत्काल कारबाही गरिने व्यहोरा सम्बद्ध सबैका लागि जानकारी गराइन्छ ।’