
काठमाडौं । नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी तिहारको भाइटिकामा मल्लकालीन रानीपोखरीमा पानी देख्न पाइनेगरी निर्माण कार्य अघि बढिरहेको बताएका छन् । नेपाल पुनर्निमाण प्राधिकरणको ३ बर्षको प्रगति एवं आगामी २ वर्षको कार्ययोजनासम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सीईओ ज्ञवालीले भने – ‘यसअघि रानीपोखरीलाई कुन शैलीमा पुनर्निमाण गर्ने भन्नेवारे विवाद थियो । पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच त्यसमा मतैक्यता थिएन । अहिले त्यसको टुङ्गो लागेको छ मल्लकालीन ग्रन्थकुट शैंलीमा बन्ने रानीपोखरीमा अबको भाइटिकासम्ममा तपाईँहरुले पानी देख्नुहुन्छ ।’
रानीपोखरीका निर्माणका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी प्राधिकरणलाई प्राप्त भएको समेत ज्ञवालीले बताए । रानीपोखरीमा आफैं पानी आउने अवस्था भने नरहेको पत्रकार सम्मेलनका क्रममा ज्ञवालीले जानकारी दिए । ३०० मिटर पर ट्युबेलिङ गरेर पानी निकाल्ने र पोखरीमा पठाउने व्यवस्था मिलाउनेगरी प्रक्रिया अघि बढेको समेत ज्ञवालीले जानकारी दिए ।
रानीपोखरीमा आधुनिक शैलीमा बनाउने र कंक्रिटको प्रयोग गर्ने तयारी महानगरपालिकाले गरेपछि विवाद सिर्जना भएको थियो । महानगरको यस्तो तयारीमा पुरातत्व विभागले हस्तक्षेप गरेपछि पोखरी पुनर्निमाणको प्रक्रिया रोकिएको थियो ।