काठमाडौं । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महीनाको अवधिमा रु १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले दिएको जानकारी अुनसार सो अवधिमा रु १६ अर्ब १६ करोड २१ लाख ३० हजार राजश्व असुल गर्ने लक्ष्यमा रु २४ करोड ३० लाख ८८ हजार बढी राजश्व सङ्कलन भएको हो ।
आर्थिक वर्ष २०७४७५ मा सो अवधिमा रु ११ अर्ब ३२ करोड ३२ लाख ४९ हजार राजश्व असुली भएको थियो भने यसवर्ष सो अवधिमा ४४.८८ प्रतिशत राजश्व बढी उठेको कार्यालयका प्रमुख मिमांश अधिकारीले जानकारी दिएका छन् । चुहावट हुन नदिन विशेष सतर्कता अपनाएको र भन्सार जाँचलाई पनि कडाइ गरेकाले राजश्वमा उल्लेखनीय वृद्धि भएको बताएका छन् ।
सङ्कलित राजश्वमा साउनमा रु दुई अर्ब ९९ करोड ७५ लाख ३६ हजार, भदौमा रु तीन अर्ब सात करोड ९० लाख नौ हजार, असोजमा रु तीन अर्ब ९७ करोड ६४ लाख ५० हजार, कात्तिकमा रु तीन अर्ब १५ करोड ८२ लाख ७० हजार र मङ्सिरमा रु तीन अर्ब १९ करोड ३९ लाख ५३ हजार रहेको छ ।
विराटनगर भन्सारका अनुसार चालु आर्थिक वर्षको पाँच महीनामा रु ६८ अर्ब २० करोड ७९ लाख ७४ हजारको सामान पैठारी र रु आठ अर्ब १९ करोड ६१ लाख ७९ हजारको सामान निकासी भएको छ । सो अवधिमा गएको वर्षमा रु ५२ अर्ब ४५ करोड तीन लाख सामान पैठारी र रु नौ अर्ब छ करोड ९८ लाख ३६ हजारको मालसामान निकासी भएको थियो ।
तुलनात्मक आधारमा गएको वर्ष भन्दा यसवर्ष सो अवधिमा पैठारी रु १५ अर्ब ७५ करोड ७६ लाख ७४ हजारले बढी हो भने निकासीमा रु ८७ करोड ३६ लाख ५७ हजारले कम भएको देखिएको छ । भारत तथा समुद्रपारबाट विराटनगर भन्सारबाट नेपाल पैठारी भएको सामानमा पेट्रोलियम पदार्थ, एमएस विलेट, पोलीथित दाना, स्टिल वायर रड इन क्वायल र एमएससम्म, सेन्थेटिक यार्न, सिआर सीट, एलपी ग्यास, तयारी कपडा, एच आर सीट र खाद्यान्न रहेका छ । रासस