काठमाडौं । तपाईँसँग भएको नोट बजारमा कसैले दिन नमाने नेपाल राष्ट्र बैंकले साटिदिने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना नै जारी गरी बैंकले जारी गरेका नोटहरुमा छपाई समस्या भएका नोटहरुमा कुनै किसिमको त्रुटी पाइएमा नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली २०५९ बमोजिम चलनचल्तीमा अयोग्य नोटहरु शोधभर्ना गरिदिने भएको हो । बैंकले नाटको संरक्षणका लागि गम्भीर बन्न र आवश्यकभन्दा बढी रकम बैंकमा जम्मा गर्न अनुरोध समेत गरेको छ ।
नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली २०५९ अनुसार कुनै पनि व्यक्तिले छपाई बिग्रिएको, च्यातिएको, डढेको नोटको ५० प्रतिशत भन्दा बढी भाग पूरा नम्बर सहित पेश गरेमा उक्त नोटको मूल्य बराबरको शोधभर्ना गरिदिने व्यवस्था छ । तर शोधभर्ना हुन नसकेको अवस्थामा पनि सो नोट फिर्ता भने गरिने छैन ।