
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षलाई सानो बनाउने प्रयास अहिलेमात्र भएको होइन । म बोर्डको अध्यक्ष हुनुभन्दा अगाडि २०६५ सालमा हालका गभर्नर चिरञ्जीवि नेपाल बोर्डको अध्यक्ष थिए । तात्कालिन डेपुटी गभर्नर बीरविक्रम रायमाझीको नेतृत्वमा धितोपत्र बोर्डका अध्यक्ष सदस्य, नेप्सेको महाप्रबन्धक सदस्य, बीमा समितिको अध्यक्ष सदस्य रहनेगरी एउटा समिति गठन भएको रहेछ । त्यस्तो अवस्थामा चिरञ्जीवि नेपाल डेपुटी गभर्नरको नेतृत्वमा सदस्य भएर बैठकमा सहभागी भइरहेका रहेछन् ।
म गएपछि मैले यस्तो हुनै सक्दैन, मेरो हैसियत गभर्नर जत्तिकै हो भनेर विद्रोह गर्दा तात्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेले मलाई हटाउन लागे तर मैले सर्वोच्च अदालतबाट स्टेअर्डर लिएर फेरि बोर्डमा फर्किएपछि पहिलेको समिति खारेज गरेर अर्थमन्त्रीले आफ्नै संयोजकत्वमा अर्थ मन्त्रालयका दुवैजना सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डको अध्यक्ष, बीमा समितिको अध्यक्ष र एकजना डेपुटी गभर्नरसहितको समिति बनाइएको थियो जसलाई उच्चस्तरीय वित्तीय सुधार समिति बनाइएको थियो । तर म हटेपछि समिति पनि त्यतिकै हरायो ।
मैले विद्रोह गरेर कायम गरेको हैसियतलाई अहिले फेरि तुहाउने काम भएको छ । यसमा म भएको भए पनि सहभागी हुने थिइँन, हालका अध्यक्ष सहभागी हुनु भएनछ, उहाँले राम्रो गर्नुभयो ।
नेपाल राष्ट्र बैंक सरकारको मौद्रिक सल्लाहकार मात्र हो । धितोपत्र बोर्ड पुँजीबजारको सल्लाहकार हो । बीमा बजारको सल्लाहकार बीमा समिति हुन्छ । यी तीनओटै अर्थ मन्त्रालयमातहत अन्तर्गत पर्छ । यी तीनऔटै निकायलाई समेटिएपछि मात्र वित्तीय क्षेत्र बन्छ । यी क्षेत्रमा एक अर्कामा परिपुरक छन् । कार्यक्षेत्र धेरै वा थोरै जे भए पनि यी तीनओटै क्षेत्रको एउटै हैसियत हुन्छ, हुनुपर्छ ।
(नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष सुरवीर पोडेलसँग गरिएको कुराकानीमा आधारित)