काठमाडौं । समस्याग्रस्त ओरेन्टल कोअपरेटिभ लिमिटेडका तात्कालिन दुई कर्मचारीले खरिद गरेको शेयर लिलामी गरी बचतकर्ताहरुको रकम फिर्ता गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रक्रिया अघि बढाएको छ । संस्थाका कर्मचारीहरु नितु थापा बस्नेत र राजेश श्रेष्ठले खरिद गरेको ग्लोबल आईएमई बैंकको क्रमशः ४७ हजार ५९ कित्ता र १ लाख ८६ हजार ६११ कित्ता गरी कुल २ लाख ३३ हजार ६७० कित्ता शेयर लिलामी बढाबढमा बिक्री गरी आएको रकम फिर्ता गर्ने तयारी गरिएको हो ।
उक्त शेयरमध्ये ६३ हजार ३८८ कित्ता शेयर साधारण शेयर हो भने बाँकी संस्थापक समूहको शेयर हो । समितिले उक्त शेयर जफत नगर्नुपर्ने कारण भए सात दिनभित्र प्रमाण पेश गर्न आग्रह गरेको छ ।
यद्यपि, लिलामी गर्न लागिएकाे उक्त शेयर कुल बचतकाे नगन्य हिस्सा मात्र हाे ।
बचतकर्ताहरुको बचत फिर्ता समेत गर्न नसकेपछि अघिल्लो वर्षको कात्तिकमा सहकारी तथा गरिबी निवारण मन्त्रालयले ओरेन्टल सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसको दुई महिनापछि मन्त्रीपरिषद्ले समस्याग्रस्त सहकारीहरुको व्यवस्थापन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी समितिलाई नै त्यस्तो व्यवस्थापन गर्न जिम्मा दिएको थियो । उक्त सहकारीमा ११ हजार भन्दा बढी बचतकर्ताका साढे ५ अर्ब भन्दा बढी बचत फसेको थियो ।
उक्त संस्थामा सुधीर बस्नेत अध्यक्ष थिए । उनले हाउजिङ व्यवसायमा असाधारण लगानी गरेका थिए । हाउजिङ क्षेत्रमा आएको मन्दीसँगै उनी बचतकर्ताको रकम समेत फिर्ता गर्न नसक्ने अबस्थामा पुगेपछि सहकारी बन्द गरेका थिए ।