मेलम्चीको पानी दुई महिना पछि राजधानीमा, उत्तरीभेगमा पानी पाउने सुनिश्चितता नभए वाग्मतीमा बगाइदिने

<p>काठमाडौं । मेलम्चीको पानी प्रशोधन केन्द्रलगायत संरचना भएको उपत्यकाको उत्तरपूर्वी भेगमा खानेपानी नदिए स्थानीयवासीले पानी वितरण गर्न नदिने बताएका छन् । मेलम्चीको पानी दुई महीनापछि राजधानी आए लगत्तै सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधन गरी परीक्षणसँगै पानी वितरण गर्ने सरकारको योजना छ । पहिलो चरणको वितरण सञ्जाल निर्माण अन्तिम अवस्थामा पुगेका बेला गोकर्णेश्वर र कागेश्वरी मनोहरा [&hellip;]</p>

काठमाडौं । मेलम्चीको पानी प्रशोधन केन्द्रलगायत संरचना भएको उपत्यकाको उत्तरपूर्वी भेगमा खानेपानी नदिए स्थानीयवासीले पानी वितरण गर्न नदिने बताएका छन् ।

मेलम्चीको पानी दुई महीनापछि राजधानी आए लगत्तै सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधन गरी परीक्षणसँगै पानी वितरण गर्ने सरकारको योजना छ ।

पहिलो चरणको वितरण सञ्जाल निर्माण अन्तिम अवस्थामा पुगेका बेला गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीले खानेपानी नपाए वाग्मतीमा हाल्ने घोषणा गरेका छन् ।

वाग्मती स्रोतको एउटा ठूलो पाइपबाट ल्याइएको पानी गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरण हुने भएको छ ।

दुवै स्थानबाट वितरण हुने पानी गोकर्णेश्वर नगर क्षेत्रमा वितरण हुने भए पनि धारामा पानी नझर्ने बताएका छन् । वर्षौंदेखि धारामा पानी नआएपछि नगरपालिकामा पटकपटक गुनासो गरेको स्थानीय खड्गबहादुर गुरुङको भनाई रहेको छ । मेलम्चीको पानी आउँदासम्म पनि खानेपानीको व्यवस्था नगरे प्रशोधन केन्द्रको पानी वाग्मती नदीमा बगाउन खानेपानी पीडित समूह सङ्गठित हुन थालेको छन् ।

पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड २८ लाख लिटर पानी राजधानी आउँछ । मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट नै ठूला पाइपबाट आरुबारी लगायत पानी पोखरीमा लगिने भएको छ । १७ करोड लिटर पानी प्रशोधन गर्न निर्माण भइरहेको दुईवटा प्रशोधन केन्द्र बनाउँदा वातावरणीय रुपमा प्रभाव परेको जनाउँदै मेलम्ची प्रशोधन केन्द्र र सुरुङसम्म जाने सडक कालोपत्र गर्न पटकपटक अनुरोध गर्दा पनि आयोजनाले काम नगरेको स्थानीयवासीको गुनासो रहेको छ ।

उपत्यकावासीलाई पानी वितरण गर्न आवश्यक संरचना निर्माण गर्दा नगरवासीले विभिन्न असहजता भोगेकाले पानी पाउने सुनिश्चितता नभए मेलम्चीको पानी वाग्मतीमा बगाइदिने चेतावनी सरोकार भएका निकायलाई दिइएको गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको भनाई रहेको छ ।

वर्षौंदेखि धारामा पानी नआएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखामा प्रतिनिधि मण्डल सहित गएर समस्या राख्दा नगरपालिकामा जान भनिएको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलका जमान लामाले जानकारी दिएका छन् । लिमिटेडले नगरपालिकालाई सबै अधिकार दिएकाले उतै कुरा गर्न भनेपछि स्थानीयवासीले नगरपालिकाका प्रमुख र उपप्रमुखलाई भेटी समस्या अवगत गराएका छन् ।

नगरपालिकाका उपप्रमुख शान्ति नेपाल खानेपानीको काम लिमिटेडले गर्ने भएकाले सहजीकरणसम्म गर्न सकिने बताउँदै, नगरकै स्रोतको पानी उपत्यकामा वितरण हुने भएकाले सबै नगरभर पानी आउने व्यवस्था मिलाउन लिमिटेडलाई अनुरोध गरिएको छ । पानीको समस्या राख्न नगरपालिका पुगेका रामप्रसाद गुरागाइँ जुन कार्यालयमा गए पनि अर्कोलाई देखाएर पन्छाउने गरिएको गुनासो गरेका छन् ।

मेलम्ची पानी प्रशोधन केन्द्रपारिको कागेश्वरी मनोहरा नगरपालिकाको अवस्था पनि उस्तै छ । यही नगरपालिकाको सडक खनेर भक्तपुरको टिग्नी पानीपोखरीमा पानी लैजाने थोक वितरण प्रणालीको निर्माण भएको छ । गोकर्णेश्वरको आरुबारीबाट मूलपानीको क्रिकेट मैदान हुँदै भक्तपुरसम्म ठूलो पाइप बिच्छ्याउँदा खनिएको सडक अझै कालोपत्र भएको छैन ।

दुई जिल्ला जोड्ने मूलपानी क्रिकेट मैदान–मनोहरा–भक्तपुर सडक दायाँबायाँ घर भएका स्थानीय धूलोका कारण क्रुद्ध छन् । पानी परीक्षण नभएकाले सडक कालोपत्र गर्न नसकिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रवक्ता दिवाकर ढकाल पाइप बिच्छ्याउनु अघि सडक जुन अवस्थामा थियो, त्यस्तै बनाइने बताएका छन् । रासस

Share News