काठमाडौं । उपत्यकामा बन्ने ४ नयाँ शहरहरुको काम धमाधम भैरहेको छ । विभिन्न कम्पनीहरुले शहरकाे विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिरहेका छन् । ४ ठूला शहरहरु काठमाडौं आग्नेय, काठमाडौं नैऋत्य, इभान काठमाडौंको डीपीआर निर्माणको काम धमाधम भैरहेको हो ।
सरकारले अव्यवस्थित वसोबासलाई व्यवस्थित बनाउन ठूला शहरहरुको काम सुरु गरेको हो । ४ वटा आयोजनाको नै काम भैरहेको र यो वर्षभित्र डीपीआर बनिसक्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले बताए । उनका अनुसार हाल कम्पनीहरुले विद्यालय, पार्क, पोखरी, चौरारी, बगैंचा, अस्पताल लगायतका पूर्वाधार कुन कुन स्थानमा राख्ने भन्ने विषयमा काम भैरहेको छ । कम्पनीहरुले प्रारम्भिक फिजिबिलिटीको प्रतिवेदन पनि प्राधिकरणलाई बुझाइसकेको छ ।
‘यो आर्थिक वर्षभित्र कम्पनीहरुले आयोजनाको प्रतिवेदन हामीलाई बुझाउने छन् , यसपछि हामीले अध्ययन गरी शहरी विकास मन्त्रालयमा पठाउँछौं’ तिवारीले विकासन्युजसँग-‘मन्त्रिपरिषदबाट पास भएसी शहरको अरु काम अघि बढ्नेछ ।’
यस्ता छन् नयाँ बन्ने शहरहरु
काठमाडौं आग्नेय
भक्तपुरमा मात्रै निर्माण हुने यो शहर १० हजार रोपनीमा फैलिएको हुनेछ । यसको पुर्वमा अरनिको राजमार्गको सुर्यविनायक चोकबाट सुर्यविनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ । यो शहरको डिपीआर इआरएमसी एनइएसटी एडीए जेभीले निर्माण गरिरहेको छ ।
काठमाडौं नैऋत्य
१० हजार रोपनी क्षेत्रफल ओगट्ने यो शहरले ललितपुरको विभिन्न भू-भागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदी छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनार नै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ । यो शहरको डीपीआरको काम इआरएमसी एनइएसटी एडीए जेभी कम्पनीले गरिरहेको छ ।
जेभी कम्पनीले १ वर्षभित्र डीपीआर सक्ने गरी सम्झौता गरेको छ । ‘डिपीआर निर्माणका लागि प्रधिकरणले २ करोड रुपैंयाँ छुट्याएको छ । नयाँ शहरमा भवन निर्माण आचार संहिता अनुसारका भूकम्प प्रतिरोधी भवन, सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ ।
इशान काठमाडौं
यो शहर काठमाडौंको पुर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पुर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । यो नयाँ शहर एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । सबैभन्दा ठूलो शहरको रुपमा हेरिएको यो शहरको डिजाइन फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले निर्माण गरिरहेको छ ।
काठमाडौं उत्तर
यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसमा पुर्व्तिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ । यो शहरको वृस्तिृत योजना प्रतिवेदन डीपीआर फुल ब्राइट कम्पनीले बनाइरहेको छ ।
कम्पनीले १ वर्षमा आयोजनाको प्रतिवेदन तयार पारी बुझाउने प्राधिकरणका प्रवक्ता भाइकाजी तिवारीले बताए । उनका अनुसार कम्पनीसँग प्राधिकरणले १ करोड ४२ लाखमा डीपीआर निर्माण गर्ने सम्झौता भएको छ ।