काठमाडौं । लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) आगामी चार महीनाभित्र पूरा हुने भएको छ ।
विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि ठेक्का प्रक्रिया अगाडि बढाएने ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको भनाई रहेको छ । आयोजनाबाट प्रदेश नं २ को एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।
हिमाल, पहाड र तराईलाई समेत जोड्ने भएकाले राष्ट्रिय एकतासमेत निर्माण गर्छ । त्यसकारण पनि सो आयोजना रणनीतिक महत्वको रहेको मन्त्री पुनले बताएका छन् ।
उक्त परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने भएको छ । चालू आवभित्रै निर्माणको काम अगाडि बढाउने गरी तयारी गरिएको छ ।
मन्त्री पुन, मन्त्रालयका उच्च अधिकारी र सिन्धुलीका जनप्रतिनिधिले सोमबार आयोजनास्थलको समेत अध्ययन गरेको थियो । भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा टनेल बोरिङ मेशिन (टिबिएम)को प्रयोगका कारण सहज भएकाले सो आयोजनामा समेत त्यस्तै प्रविधिको प्रयोग गर्ने सोचमा सरकार लागेको छ ।
टिबिएमको प्रयोगपछि सुरुङ खन्न थालिएको एक वर्षमै ७५ प्रतिशत बढी निर्माण सम्पन्न भएको छ । कूल १२ दशमलब दुई किलोमिटर लामो सुरुङमध्ये हालसम्म करीब १० किमी सुरुङ निर्माण भइसकेको छ ।
सुनकोशी मरिन डाइभर्सन आयोजना तयारी अवस्थामा रहेकाले यो परियोजना सरकार, प्रधानमन्त्री र मन्त्रालयको प्राथमिकतामा रहेको छ । आयोजनाको निर्माण अवधि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ । रासस