काठमाडौं । सुर्खेतको लेकबेँसी नगरपालिका–६ बाघखोरका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट भएका छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा नै रहेको बताउँदै आएका छन् ।
विसं २०५३ मा नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक शर्मा पछि त्यो पेशालाई छाडेर तरकारीखेती गर्न लागे २२ वर्ष भएकाे बताएका छन् । शुरुमा काँक्रा फलाएर स्थानीय बजारमा लिएर पाँचदेखि १० मा बिक्री गर्न थालेपछि साथीसङ्गी अचम्मित भएको उनको भनाई रहेको छ । शिक्षक जागिर छाडेर कृषि गर्न लागेका शर्मालाई त्यतिबेला गाउँलेसमेतले पागल बनाए ।
काँक्रो फलाएर तरकारीखेती शुरु गरेका शर्मा भने यतिबेला सबैका प्रेरणाका स्रोतका रुपमा परिचित रहेका छन्। हिजो पागल बनाउने गाउँले आजभोलि उनकै बारीमा आएर ताजा तरकारी किन्छन् र भन्छन्,अहिले तपाईंको तरकारीखेती र श्रम देखेर हामी पागल भएको बताउँदै आएका छन् ।
आफ्नो खर्च कटाएर मासिक ४० देखि ५० हजार आम्दानी गर्दै आएका शर्माले नेपालमा सबैभन्दा स्वाभिमान पेशा नै कृषि भएको जिकिर गरेका छन् । जहाँ किसान स्वयंले उत्पादित वस्तुको मूल्य निर्धारण गरेर अरुलाई बेच्छ । आफँैले चाहेको ताजा तरकारी खान्छ र सधैँ श्रमशील जीवनसँगै कृषि पाठशालामा रमाएर स्वच्छ खाना, हावापानीको प्रयोग गर्दछ ।
लेकबँेसी नगरपालिकाका अगुवा कृषकका रुपमा मानिने शर्माले दुई रोपनी जमीनमा तरकारी खेती गरेका छन् । त्यही व्यवसायको सहयोगले परिवारका छ सदस्यमा एक छोरा नेपाल प्रहरी र अर्को नेपाली सेनामा जागिर भए भने दुवै बुहारी स्नातक तहमा अध्ययनरत छन् । बाह्रै महीना सडक सञ्चालन नहुँदा लेकबेँसीका कृषकको उत्पादित वस्तुको बजारीकरणमा समस्या भएको उनको गुनासो रहेको छ ।
दाम, नाम र माम दिलाउने कृषि पेशा नेपालमा कमजोर दृष्टिले हेरिनु दुर्भाग्य भएको बताउँदै खाडी मुलुकमा हाम्रा युवा ५०/५५ डिग्री सेन्टिग्रेडको ताप र चापमा काम गर्दा ठूलो ठान्छन् तर आफ्नै देशमा पसिना चुहाएर कृषि व्यवसाय गर्न लाज मान्ने कुरालाई पनि जोड दिएका छन् । आफ्नो देश, श्रम र पेशालाई सम्मान गर्न नसकेकै कारण नेपाल र नेपाली पछि परेको जनाएका छन् ।
समृद्धि कृषि सहकारी संस्था लिमिटेड सुर्खेतको संस्थापक उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका शर्माले आजभोलि गाउँका किसानलाई तरकारीखेती गर्ने विधि, बीउबिजनको गुणस्तर छनोट, रोग किरा नियन्त्रण, जैविक विषादी निर्माण तथा उत्पादनका विषयमा पनि किसानलाई सिकाउँदै आएका छन् । लेकँबेसी नगरपालिकालाई तरकारी पकेट क्षेत्रका रूपमा घोषणा गर्न उनले प्रदेश सरकारलाई अनुरोध समेत गरेका छन् । रासस