काठमाडौं। आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा झण्डै रु सात अर्ब ३४ करोड राजश्व सङ्कलन गरेको छ । लक्ष्यको ११८ प्रतिशत राजश्व सङ्कलन भएको हो ।
कार्यालयले चालू आवकोे तीन महीनामा आयकर रु ३१ करोड ४३ लाख ४१ हजार, ब्याजकर रु तीन करोड ९६ लाख, मूल्य अभिवृद्धि कर रु ३९ करोड २६ लाख ४६ हजार र अन्तःशुल्क रु ६ अर्ब ५५ करोड ७९ लाख ६६ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको यही अवधिमा रु पाँच अर्ब दुई करोड १८ लाख ४८ हजार राजश्व सङ्कलन भएको थियो ।
कार्यालयका अनुसार साउनयता दुई हजार ५७९ नयाँ करदाता थपिएका छन् । असोज ७ गतेदेखि नवलपुर जिल्लामा पनि सेवा कार्यालय स्थापना भएको छ । नवलपुरको कावासोतीस्थित सेवा कार्यालयबाट राजश्व सङ्कलन गर्न सकिने भएकाले राजश्व कार्यालय भरतपुरमा सेवाग्राहीको चाप कम भएको छ । कार्यालयका प्रमुख शुभ रिजालका अनुसार कर परीक्षण र अनुसन्धानका काम भने भरतपुरबाटै हुनेछन् । त्यस्तै नवलपुरका करदाताले अन्तःशुल्क कर पनि आन्तरिक राजश्व कार्यालय भरतपुरमा नै बुझाउनुपर्ने उनले बताए।
आन्तरिक राजश्व विभागले यस कार्यालयका लागि रु २७ अर्ब ६१ करोड ३६ लाख ५३ हजार वार्षिक लक्ष्य निर्धारण गरेको छ । गत आवमा कार्यालयले रु २१ अर्ब ८१ करोड ३१ लाख २१ हजार राजश्व सङ्कलन गरेको थियो । यस क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले अधिकांश राजश्वको हिस्सा अन्तःशुल्कबाट सङ्कलन हुने गर्दछ ।
कार्यालयअन्तर्गत प्यान लिएका ३२ हजार ६९५ र व्यक्तिगत प्यान लिएका ४८ हजार ३७१ करदाता छन् । मूल्य अभिवृद्धि कर (भ्याट) मा सात हजार ७३५ करदाता दर्ता भई अन्तःशुल्कतर्फ तीन हजार ४४३ करदाताले इजाजत नवीकरण गरेको कार्यालयले जनाएको छ । रासस