काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले कतारका उद्यमी व्यवसयीलाई नेपालको समृद्धिको भावी योजना सुनाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अलथानीको निमन्त्रणामा कतार भ्रमणका गएकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा शर्माले कतारका उद्यमी व्यवसायीलाई नेपालको समृद्धिको सम्भावित रोडम्याप सुनाएका हुन् ।
नयाँ संविधान प्राप्त गरेको, स्थिर सरकार रहेको कारण आर्थिक वृद्धिको प्रचुर सम्भावना रहेको औँल्याउँदै यसबाट सबै क्षेत्रमा आम्दानीमा वृद्धि भई शिक्षाको स्तर वृद्धि हुने, विप्रेषणको रकममा उल्लेख्य वृद्धि हुने, समष्टीगत आर्थिक स्थायित्व उच्च रही बढी नाफाको सम्भावना रहेको उनको निष्कर्ष थियो ।
नेपालको पूँजीबजारमा सूचीकरण गरिएको केही उद्योगहरुको उदाहरण प्रस्तुत गर्दै स्टाडर्ड चाटर्ड बैँकको बजार पूँजीकरण २ अर्ब १६ करोड डलर बराबर भइ ५५ प्रतिशत लाभांस वितरण गरेको, नेपाल लिभरको बजार पूँजीकरण २ अर्ब ८० करोड भई ७०० प्रतिशत लाभांस वितरण गरेको उदाहरण प्रस्तुत गर्दै विदेशी कम्पनीहरुलाई नेपालमा नाफाको सुनिश्चितता रहेको पनि बताए ।
उनले नेपालमा कृषिजन्य उद्योगमा वैदेशिक लगानीको लागि खाद्य प्रशोधन, औद्योगिक वस्तुहरुमा गृह सामग्री, औषधी र वायोटेक प्रमुख रहेको बताउँदै पूर्वाधारमा पनि ठूलो सम्भावना रहेको जानकारी गराएका थिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, हेटौँडा–काठमाडौं सुरुङमार्ग, रेलमार्गमा लगानी गर्न कतारका उद्यमी व्यवसायीलाई आग्रह गरे ।