
एजेन्सी । अमेरिकी संघीय सरकारले सन् २०१० मा मन्दीको चरम अवस्थामा जारी गरिएको ऋणपछि सबैभन्दा बढी ऋण जारी गर्ने भएको छ । अमेरिकी ट्रेजरी विभागले सोमबार दिएको जानकारी अनुसार संघीय सरकारले १.३ ट्रिलियन अमेरिकी डलर बराबरको ऋण जारी गर्न लागेको हो । सन् २०१० मा यो रकम १.५९ ट्रिलियन डलर पुगेको थियो ।
यो ऋण रकम अघिल्लो वर्षको तुलनामा १४६ प्रतिशत बढी हो । सन् २०१७ मा सरकारले ५४६ ट्रिलियन डलर मात्र ऋण जारी गरेको थियो ।
यो ऋणसँगै अमेरिकी संघीय सरकारको बजेट घाटा ७७९ विलियन डलर पुग्ने अनुमान गरिएको छ जुन सन् २०१२ पछिकै सबैभन्दा बढी हुनेछ । सन् २०१९ मा बजेट घाटा बढेर १ ट्रिलियन डलर पुग्नसक्ने र सो मात्रा आगामी ४ बर्षसम्म त्यही वरपर हुनसक्ने पनि विभागले अनुमान गरेको छ ।
ट्रेजरी विभागले जीओपी कर कानून र द्धिदलीय राजनीतिक सम्झौतालाई उक्त ऋण जारी गर्ने मुख्य कारण मानेको छ । बजेट पारित नहुँदा संघीय सरकार बन्द हुने अवस्था आएपछि ट्रम्प प्रशासनले उक्त ऋण जारी गर्ने राजनीतिक सहमति गरेको र सोहीअनुरुपको बजेट अमेरिकी संसदले पारित गरेकाले उक्त ऋण जारी गर्नुपरेको विभागको दाबी छ ।
ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन भन्दै स्वास्थ्य बीमा र सामाजिक सुरक्षामा गरिँदै आएको खर्च कटौती गर्न लागेको थियो । तर सिनेटले उक्त व्यवस्थासहितको बजेट पारित नगरिदिएपछि ट्रम्प प्रशासन सहमतिमा आउन बाध्य भएको थियो ।