निजी लगानीमा कोल्डस्टोर निर्माण अन्तिम चरणमा, बैशाखदेखि सञ्चालमा आउने

<p>बाँके । बाँकेको खजुराखुर्दमा निमार्णाधीन शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनको अन्तिम तयारीमा रहेको छ । डेढ वर्षदेखि निर्माण शुरू गरिएको उक्त शीत भण्डारको क्षमता १० हजार टन रहेको छ । जानकी गाउँपालिकाको खजुराखुर्दमा २५ करोड रुपैयाँको लागतमा निजी क्षेत्रबाट निर्माण भइरहेको उक्त शीत भण्डारमा पहिलो चरणमा सात हजार टन मात्र वस्तु राखिने बताइएको छ । [&hellip;]</p>

बाँके । बाँकेको खजुराखुर्दमा निमार्णाधीन शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनको अन्तिम तयारीमा रहेको छ । डेढ वर्षदेखि निर्माण शुरू गरिएको उक्त शीत भण्डारको क्षमता १० हजार टन रहेको छ ।

जानकी गाउँपालिकाको खजुराखुर्दमा २५ करोड रुपैयाँको लागतमा निजी क्षेत्रबाट निर्माण भइरहेको उक्त शीत भण्डारमा पहिलो चरणमा सात हजार टन मात्र वस्तु राखिने बताइएको छ । आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको शीत भण्डारका सेयर सदस्यसमेत रहेका जडीबुटी व्यवसायी सङ्घका महासचिव टङ्क शर्माले जानकारी दिए ।

नेपालगञ्जबाट झण्डै पाँच किलोमिटर पश्चिम खजुराखुर्दमा दुई बिघा जग्गामा नेपालगञ्ज कोल्ड स्टोरेज एण्ड वेयर हाउस प्रालिको निर्माण अन्तिम चरणमा पुगेको उनले बताए। उनका अनुसार अब निर्माण भएको भवनको रङ्गरोगनलगायत करीब २० प्रतिशत मात्रै काम बाँकी रहेको छ ।

जग्गा खरिद भई निर्माण कार्यको औपचारिक सुरुवात २०७१ सालदेखि भएपनि गत वैशाखदेखि निर्माण कार्यलाई तीब्रता दिइएको थियो । उक्त भण्डारमा कर्णालीको स्याउ, तरकारी र आलु भण्डारण गर्ने लक्ष्य रहेको छ । साविकका मध्य र सुदूरपश्चिमका किसानको उत्पादनलाई भण्डारण गर्ने लक्ष्यसमेत राखिएको छ ।

शीत भण्डारको अभावमा यस क्षेत्रको जडीबुटी भण्डारणका लागि भारतको लखनउलगायतका शहरमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा राखिएको छ । सरकारले अहिलेसम्म उक्त भण्डार निर्माणका लागि ९९ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

नेपालगञ्जका विभिन्न ८ व्यवसायीको लगानीमा निर्माण भएको उक्त भण्डारमा आधुनिक एसी प्रविधिबाट वस्तुलाई चिस्यान दिइनेछ । उक्त भण्डारमा बाँके, बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट उत्पादन भई आउने तरकारी, फलफूलका साथै जडीबुटीलाई समेत राखिने जनाइएको छ । रासस

Share News