
काठमाडौ। लिबर्टी इनर्जी कम्पनी लिमिटेडले लमजुङको ढोडेनी फलेनीमा निर्माण गरिरहेको २५ मेगावाटको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको सुरुङ छेडिएको छ । कुल २ हजार ६२३ मिटर सुरुङ बिहीबार छेडिएको हो।
कम्पनीका अध्यक्ष कुशकुमार जोशी र प्रबन्धक संचालक आत्माराम घिमिरेले स्चीच अन गरी अन्तिम ब्रेक थ्रु को ब्लास्ट गरेका थिए। सो कार्यक्रममा गण्डकी प्रदेश लम्जुङका संसद धनन्जय दवाडी, नेकपा जिल्ला संयोजक कृष्ण अधिकारी, नेपाली काँग्रेस जिल्ला सदस्य हरि बराल, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा, श्री जंग गणका गणपति शिखर जबराको उपस्थिति थियो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष जोशीले लक्षित समयभित्रै विद्युत उत्पादन गर्ने प्रतिबद्धता जनाए। उत्पादित विद्युत खेर नजाने कुरा कम्पनी विश्वस्त रहेको पनि बताए। यस्तै, साँसद दवाडीले लमजुङ लगानीमैत्री जिल्ला भएको भन्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले निर्माण क्रममा देखिने समस्या समाधान गर्न राजनीतिक दल र स्थानीयको पूर्ण सहयोग हुने पनि बताए । राजनीतिक दल, स्थानीय, सरकारी निकाय तथा सरोकार समिति र कम्पनीका सम्पूर्ण कर्मचारीको सहयोगले समयमै सुरुङको काम पूरा भएको प्रबन्ध निर्देशक घिमिरेले बताए ।
आयोजनाको हेडवक्र्सदेखि २ हजार ६२३ मिटर सुरुङ्ग र २ हजार ८५४ मिटर पेनस्टक पाईप निर्माण रहनेछ । हालसम्म आयोजनाको करिब ८० प्रतिशत निर्माण पूरा भएको छ । आगामी फागुनसम्म आयोजनाका सम्पूर्ण संरचना निर्माण तथा उपकरण जडान गर्ने लक्ष्य राखिएको छ ।
आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंकले ऋण लगानी गरेका छन् । ३ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा अहिलेसम्म २ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ ।