
काठमाडौं । सिटिएक्स प्रेस मनी ट्रान्सफर पनि एनसीएचएल आईपीएसमा आवद्ध भएको छ । बिहीबार(आज) दुई कम्पनी बीच इन्डाईरेक्ट मेम्बरका रुपमा कारोबार शुरु गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सिटिएक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउसले उपलब्ध गराएको एनसीएचएल आईपीएस प्रणाली मार्फत सिटि एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिटान्स कारोबारहरु हितग्राहीको बैंक खातामा सिधै जम्मा हुने छ । यस अघि सिटि एक्सप्रेस लगायतका प्रमुख रेमिट्यान्स कम्पनीहरुले आफ्नो बैंक मार्फत त्यस्ता कारोबारहरु गर्दै आएका थिए भने इन्डाईरेक्ट मेम्बरको रुपमा रेमिट्यान्स कम्पनीले अब आफै कारोबार गर्न सक्नेछन् । साथै, प्रणालीमा उपलब्ध गराइएका थप इन्टरफेसहरु प्रयोग गरि कारोबारलाई पूर्ण रुपमा अटोमेटेड गर्न सक्नेछन् ।
एनसीएचएल आईपीएसमा हाल ७८ बैंक वित्तीय संस्थाका ४,१०० बढिशाखाहरु आवद्ध छन् । हालै नेपाल सरकारले रेमिट्यान्स कारोबारलाई बैंकिङ् च्यानलबाट गराई हुन्डी कारोबार समेतलाई निरुत्साहित गर्ने निति कार्यावयनमा समेत यस एनसीएचएल आईपीएस प्रणालीको प्रयोगले थप सहयोग गर्ने दुबै कम्पनीले विश्वास लिएका छन् ।