
काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल र पुल्चोक ईन्जिनियरिङ क्याम्पसबीच सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको प्राविधिक क्षमता विकासको गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपालको तर्फबाट अध्यक्ष नारायण ज्ञवाली र पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसको तर्फबाट प्रा.डा. गोकर्ण बहादुर मोत्राले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात कलेजले स्नातक अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघसंग समन्वय गराउँने भएको छ । साथै, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघले विद्यार्थीहरुलाई सामुदायिक विद्युत उपभोक्ता संस्थाको क्षमता विकासमा लगाउने विषयमा सम्झौता भएको छ । यसले सामुदायिक विद्युतीकरण कार्यक्रमवाट विद्युतीकरण भएको क्षेत्रमा प्राविधिक क्षमता विकास भई ग्रामीण क्षेत्रका जनतामा दिगो, गुणस्तरीय तथा सुरक्षित विद्युत पुग्ने कम्पनीको विश्वास छ ।
त्यस्तै, सामुदायिक ग्रामीण विद्युतीकरणका सवालमा महासंघ र क्याम्पसको सहकार्यमा अनुसन्धान कार्य गर्ने एवं कतिपय प्राविधिक सवालमा क्याम्पसले महासंघलाई सहयोग र सहजीकरण समेत गर्नेछ । साथै, अध्ययनको नाममा भईरहेको वौद्धिक पलायनलाई केही हदसम्म रोक्न समेत यसले मदत पुर्याउँने कम्पनीको अपेक्षा रहेको छ ।
हाल देशभरका ५२ जिल्लामा २८२ सामुदायिक संस्थामार्फत ५ लाख घर परिवारमा विद्युतको विस्तार भएको छ । नेपाल सरकारले जनसहभागितामा सामुदायिक विद्युतीकरण कार्यक्रम शुरु गरेपछि विभिन्न जिल्लामा विद्युतको विस्तार भएको हो ।
नेपाल सरकारको आगामी तीन वर्षभित्र आधारभुत रुपमा सवै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउने र पाँच वर्षभित्रमा चाहेजति विद्युत उपलव्ध गराउने भन्ने नीति एंव कार्यक्रम रहेको छ । यसरी सरकारको घोषित कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको संयुक्त प्रयासवाटमात्र सवै नेपालीको घरमाविद्युतको पहुँच पुर्याउँन संभव हुन्छ ।
देशमा क्रियाशील सामुदायिक संस्थाहरुको छाता संस्थाको रुपमा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल स्थापित भई क्रियाशील रहेको छ । सामुदायिक विद्युतीकरण शुरु भएको १४ वर्षको अवधिमा सहभागिता वापत नगद १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम विद्युत प्राधिकरणमा जम्मा भईसकेको संस्थाले जनाएको छ ।