
काठमाडौ । विश्वकला परिषद् एशिया प्रशान्त क्षेत्रको ३७ औँ सम्मेलन आगामी भदौ १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने भएको छ । प्रत्येक चार वर्षमा हुन लागेको सो सम्मेलन नेपालले पहिलोपटक आयोजना गर्न लागेको हो । तीन दिनसम्म चल्ने सम्मेलनमा स्वदेशी तथा विदेशी हस्तकला प्रर्वद्धनबारे बैठक, छलफल, गोष्ठी र स्वदेशी तथा विदेशी हस्तकलाको प्रदर्शनी हुने छन् ।
नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला बजार प्रबद्र्धन, कलाकार तथा कालिगढहरुको दक्षता अभिवृद्धी र शिप प्रविधि तथा आपसी अनुभव आदान प्रदानको लागि एसिया प्रसान्त क्षेत्रका विभिन्न देशका सहभागी गराउन लागिएको बताए । सम्मेलनमा ४५ वटा देशका १०० जना प्रतिनिधिहरु सहभागि रहने उनले जानकारी दिए ।
सम्मेलनमा कला प्रदर्शनीको स्टल व्यवस्था गरिएको छ । देशका कलाकारहरुको कला र विदेशी हस्तकला प्रदर्शनी हुने छ । हालसम्म भारत, चीन, कुवेत, काजकस्तान र ओमान लागाएतका देशहरुबाट १२ स्टल बुक भैसकेको छ । जीवन्त कला प्रदर्शन, नयाँ कला, शिल्प तथा प्रविधिको हुने छ । कला विषयक गोष्ठी, सांस्कृति सम्पदाहरुको अवलोकन भ्रमण र ललितपुर महानगरलाई साँस्कृतिक नगरी घोषणा कार्यक्रम छ ।
सन् १९९० अगाडि सरकारी स्तरबाटै सदस्य राष्ट्रका रुपमा सहभागिता जनाउँदै आए ता पनि १९९० पछि भने निजी क्षेत्रका रुपमा रहेको महासंघले विश्व कला परिषद्मा सहभागिता जनाउँदै आएको छ ।