काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिलाई अटेर गरेको छ । बीमा समितिले २०७५ असार मसान्तभित्र पुँजी बढाएर २ अर्ब रूपैयाँ पुर्याउन दिएको निर्देशन मेट लाइफले अवज्ञा गरेको हो ।

कम्पनीले समितिलाई पत्र लेखेर पुँजी बढाउन नसकिने जानकारी दिएको छ । यसअघि पनि मेट लाइफले बीमा समितिलाई पटक पटक अटेर गर्दै आएको थियो ।
‘हामीले पुँजी पुर्याउन दिएको प्रारम्भीक समय सकिएको छ, दुई पटक गरेर ६ महिनासम्म समय थप्ने सुबिधा छ, त्यो अवधीमा पुँजी पुर्याउँछन् होला’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले भने । उनले केहि समय अघि मात्रै पुँजी पुर्याउन नसक्ने कम्पनीहरुलाई पुस महिनापछि फोर्स मर्जरमा पठाउने बताएका थिए ।
मेटलाइफले समितिलाई लेखेको पत्रमा आफु विदेशी कम्पनी भएको र बिमितहरुको रकम सुरक्षित रहेकाले पुँजी पुर्याउनुपर्ने बाध्यताबाट मुक्त गराईदिन आग्रह गरेको हो । ‘विदेशी कम्पनीका रुपमा पुँजी पुर्याउनुपर्ने बाध्यताबाट छुटकारा दिन माग गर्दै मेट लाइफले पत्र पठाएको छ’, बीमा समिति श्रोतले भन्यो ।