
एजेन्सी । एसियाका अर्बपति मुकेश अम्बानीको रिलायन्स इण्डष्ट्रिज लिमिटेडको बजार मूल्य १ खर्ब डलर नाघेको छ । सेयरको मूल्य बढेर शुक्रबार एसियाका सबैभन्दा धनी भएका मुकेशले सञ्चालन गरेको रिलायन्सको बजार मूल्य बढेर १ खर्ब २ अर्ब डलर पुगेको भारतको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।
रिलायन्सको शुक्रबार सेयर मूल्य १.६ प्रतिशत बढेपछि रिलायन्सको बजार पुँजीकरण बढेको हो । रिलायन्सको सेयर मूल्य ५२ औं साताको सबैभन्दा बढी भएको छ । रिलायन्सको सेयर मूल्य बढेर १ हजार १०७ भारु पुगेको छ ।
“मेरा बुबाले १ हजार भारुमा १ जना कर्मचारीबाट स्थापना भएको थियो” उनले फाइनान्सियल टाइम्सलाइ भनेका छन् “आज रिलायन्स विश्वको ठुलो कम्पनी मध्ये एक भएको छ ।” धिरुभाइ अम्बानीले सन् १९६६ मा रिलायन्सको स्थापना गरेका हुन् ।
रिलायन्सले सन् १९७७ मा साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । प्रत्येक २ वर्षमा सेयर सदस्यको लगानी दोब्बर बढ्दै आएको छ । मुकेशको सम्पत्ति बढेर ४४ अर्ब ३० करोड डलर पुगेको छ ।