काठमाडौं । बहुप्रतिक्षित धरहरा निर्माणका लागि ५ वटा कम्पनी प्रारम्भिक छनौटमा परेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आव्हान गरेको ग्लोबल टेण्डरमा दरखास्त दिएकामध्ये पाँच वटा कम्पनीको प्राबिधिक प्रस्ताव स्वीकृत भएको हो । अब यी पाँच वटा कम्पनीहरुको आर्थिक प्रस्ताव असार २६ गते खोलिनेछ र सबै भन्दा कम रकममा धरहरा निर्माणको प्रस्ताव गर्ने कम्पनीले ठेक्का हात पार्नेछ ।

धरहरा बनाउन चाहने पाँचव वटै कम्पनी चिनियाँ छन् । चिनियाँ कम्पनीहरुले नेपाली निर्माण व्यवसायीहरुसँग ज्वाइन्ट भेञ्चरमा प्रस्ताव पेश गरेका हुन् । नयाँ डिजाइन अनुसार धरहराको लागत ४ अर्ब २७ करोड(भ्याट र १० प्रतिशत मूल्य वृद्धि)सहित हुनेछ । जसमा धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाक सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड हुनेछ । बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्नेछ ।

४२ रोपनी जमिनमा निर्माण हुने धराहराको निर्माण ठेक्का लागेको मितिले २ बर्ष्भित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले जानकारी दिए । बाहिरबाट २२ तल्लाको देखिने धरहरा १४५ फिट अग्लो हुनेछ । धरहरामा २ वटा लिफ्ट राखिएका हुनेछन् । एउटा लिफ्टले ८ जनालाई धरहरा चढाउने छ भने अर्काेले ८ जनालाई ओराल्ने छ । त्यसका अलवा धरहरामा भर्याङ समेत निर्माण हुनेछ ।
धरहरा निर्माणका लागि नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत एक अर्ब रुपैंयाँ दिने प्रतिवद्धता जनाईसकेको छ भने मै बनाउँछु मेरो धरहरा अभियानमा २४ करोड रुपैंयाँ संकलन भएको छ ।