
काठमाडौं । वरिष्ठ न्युरोसर्जन प्रा.डा उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटको राजधानीको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्समा साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।
अस्पतालले विज्ञप्ति जारी गरी देवकोटाको निधन भएको जानकारी गराएको छ । पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराउदा पनि ठिक नभएपछि देवकोटा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको उक्त अस्पतालमा उपचाररत थिए ।
देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।