नाइमा एक्स्पोमा यी पाँच ब्राण्डका कारमा झुम्मिए अवलोकनकर्ता
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोले सवारी प्रेमीहरूलाई मात्र नभई आम सर्वसाधारणलाई पनि लोभ्याइरहेको छ । ५५ भन्दा बढी ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनहरू एउटै छानोमुनि सजाइएका छन् । अटो व्यवसायीहरूका अनुसार यस पटकको एक्स्पोले बजारमा नयाँ उत्साह थपेको छ । मेला सुरु भएको पहिलो चार दिनमै करिब १६ सय युनिट सवारीसाधन बुकिङ भइसकेका छन् । दैनिक औसत ४०० देखि ५०० को हाराहारीमा बुकिङ भइरहेको आयाेजकले जनाएकाे छ । यस वर्षको मेलामा पनि विद्युतीय सवारी साधन (ईभी) प्रतिको क्रेज कायमै छ । तर, रोचक कुरा के छ भने अघिल्ला वर्षहरूका तुलनामा डिजेल/पेट्रोलबाट चल्ने (आइसीई) गाडीहरूले पनि राम्रो प्रतिक्रिया पाएका छन् । विशेषगरी हुन्डाईका पेट्रोल गाडीहरूमा अवलोकनकर्ताको बाक्लो उपस्थिति देखिएको छ । कुन ब्राण्डमा कति आकर्षण ? १. बीवाईडी मेलामा सबैभन्दा धेरै बुकिङ पाउने ब्राण्डमध्ये बीवाईडी अग्रस्थानमा छ । कम्पनीका अनुसार हालसम्म ५०० भन्दा बढी गाडी बुकिङ भइसकेका छन् । जसमा ६० प्रतिशत हिस्सा एटो २ मोडलले ओगटेको छ । बीवाईडीले ३० लाख ७५ हजारको अट्टो १ देखि ६२ लाख ९० हजारको अट्टो ३ फेसलिफ्टसम्मका विकल्पहरू उपलब्ध गराएको छ । २. चेरी नेपाली बजारमा पहिलोपटक डेब्यु गरेको चेरी ब्राण्डले सबैलाई अचम्मित पार्दै ३०० युनिट बुकिङ सुरक्षित गरेको छ । एसपीजी अटोमोबाइलले ल्याएको चेरीको ’क्यु-क्यु’ सिरिजले बजेट ईभी खोज्नेहरूलाई आकर्षित गरेको छ । यसको प्रिमियम भेरियन्ट ३२ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ । ३. टाटा सिप्रदी ट्रेडिङले ल्याएको टाटाका गाडीहरू सधैं झैं यसपालि पनि रोजाइमा परेका छन् । २८० भन्दा बढी बुकिङ पाएको टाटाले नयाँ फिचरसहितको टियागो ईभी फेसलिफ्ट र पन्च ईभीलाई मेलाको मुख्य आकर्षण बनाएको छ । पन्च ईभीको सुरुवाती मूल्य ३२ लाख ९९ हजार तोकिएको छ । ४. लिपमोटर नेपाल भित्रिएको नयाँ ब्राण्ड लिपमोटरको बी०३ एक्स १५० युनिट र बी १० ५० युनिट बुकिङ भएका छन् । लिपमोटरको आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्सले बी०३ को मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । विशेष पहिलो १०० जना ग्राहकका लागि यो गाडी ४४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । प्रोटोन त्यस्तै, जगदम्बा मोटर्सले ल्याएको प्रोटोनको ईमास फाइभ १०० युनिट र ईमास सेभन २५ युनिट भन्दा बढी बुकिङ भइसकेका छन् । प्रोटोनका यी मोडलहरू ३२ लाख ९९ हजारदेखि ५९ लाख ९९ हजार रुपैयाँसम्ममा उपलब्ध छन् । ५. हुन्डाई हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेटलको स्टलमा पनि भीड उस्तै छ । विशेषगरी हुन्डाईको पेट्रोल भेरियन्टका भेन्यु, क्रेटा र एक्सटर मोडलमा मानिसहरू झुम्मिएका छन् । भेन्यु मात्रै ११६ युनिटभन्दा बढी बुकिङ भइसकेको छ । बैंकको ब्याजदरमा आएको गिरावट र चाडपर्वको अवसरमा कम्पनीहरूले दिएका आकर्षक छुटका कारण पनि बुकिङ संख्या बढेको व्यवसायीहरूको विश्लेषण छ । आगामी दिनहरूमा यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
नेपालमा दैनिक ७ जनाले दुर्घटनामा ज्यान गुमाउँछन्, सुरक्षामा ध्यान दिनूस् : कार्की
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सडक दुर्घटनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताएका छन् । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सडक सुरक्षा र सवारी अनुशासनलाई प्राथमिकता दिन सबै सरोकारवालालाई आग्रह गरे । दुर्घटनाको डरलाग्दो चित्र महानिरीक्षक कार्कीले आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्क प्रस्तुत गर्दै भने, ‘एक वर्षमा नेपालभर २९ हजार ९८८ सवारी दुर्घटना भए, जुन अघिल्लो वर्षको तुलनामा ४.३२ प्रतिशतले बढी हो ।’ उनका अनुसार नेपालमा दैनिक औसत ८२ वटा सडक दुर्घटना हुन्छन्, जसमा दैनिक ७ जनाले ज्यान गुमाउँछन् र १३० जना घाइते हुन्छन् । गत आर्थिक वर्षमा मात्रै २ हजार ७०७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको र ४७ हजार ५५३ जना घाइते भएको विवरण उनले सार्वजनिक गरे । मोटरसाइकल सबैभन्दा बढी जोखिममा कुल दुर्घटनामा मोटरसाइकलको हिस्सा ५९ प्रतिशत र कार र जीपको हिस्सा १४ प्रतिशत रहेको जानकारी दिँदै उनले भने, ‘यी दुई क्षेत्र मात्रै ८० प्रतिशत दुर्घटनाका लागि जिम्मेवार छन् । त्यसैले मोटरसाइकल लगायतका सवारी साधनमा उच्च सुरक्षा मापदण्ड र सेफ्टी फिचर्स हुनु अनिवार्य छ ।’ उनले सवारी साधन आयात गर्दा एन्टी–लक ब्रेकिङ सिस्टम एयरब्याग र क्र्यास सेफ्टी फिचर्स जस्ता अत्याधुनिक प्रविधिमा सम्झौता नगर्न व्यवसायीहरूलाई सचेत गराएको समेत स्मरण गराए । सडक सुरक्षाका लागि इन्जिनियरिङ, शिक्षा, वातावरण र कार्यान्वयनको तालमेल हुनुपर्ने उनको धारणा थियो । ‘सवारी साधन र सडक दुवैको इन्जिनियरिङ चुस्त हुनुपर्छ । चालकको लापरवाही मात्र भनेर पुग्दैन, सडकको अवस्था र सवारीको गुणस्तरले पनि उत्तिकै भूमिका खेल्छ,’ कार्कीले भने । विद्युतीय सवारी र सेवाको गुणस्तर पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकोमा खुसी व्यक्त गर्दै महानिरीक्षक कार्कीले वातावरण संरक्षणमा यसले ठूलो टेवा पुर्याउने बताए । साथै उनले आफ्टर सेल्स सर्भिस र स्पेयर पाट्र्सको उपलब्धतामा ग्राहकको गुनासो नआउने गरी काम गर्न व्यवसायीहरूलाई सुझावसमेत दिए । महानिरीक्षक कार्कीले सुरक्षित सवारीसाधनको प्रवर्द्धन नै दुर्घटना न्यूनीकरणको सबैभन्दा प्रभावकारी लगानी भएको बताउँदै नेपाल प्रहरी सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि सधैं तत्पर रहेको प्रतिबद्धता पनि व्यक्त गरे ।
बारम्बार परिवर्तन हुने नीति र अस्पष्ट व्याख्याले व्यवसायमा अन्यौल सिर्जना गर्छ : वैद्य
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । नाइमाको उद्घाटन अध्यक्ष रितुसिंह वैद्य र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक, दिगो र व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएकी छन् । उनका अनुसार एक वर्षअघि २१ वटा सदस्य कम्पनीहरूबाट सुरु भएको नाइमामा हाल ३६ वटा सदस्य कम्पनीहरू आबद्ध भइसकेका छन् । अटोमोबाइल उद्योगलाई एउटै व्यावसायिक र जिम्मेवार प्लेटफर्ममा ल्याएर देशको गतिशीलता क्षेत्रको विकासमा योगदान पुर्याउनु संस्थाको मुख्य उद्देश्य रहेको उनले बताइन् । मन्तव्यका क्रममा अध्यक्ष वैद्यले अटोमोबाइल क्षेत्रमा भइरहेको ठूलो लगानी र रोजगारीको सुरक्षाका लागि सरकारले स्थिर र पूर्वानुमान योग्य नीति ल्याउनुपर्ने माग गरिन् । ‘बारम्बार परिवर्तन हुने नीति र अस्पष्ट व्याख्याले व्यवसायमा अन्यौल सिर्जना गर्छ,’ उनले भनिन्, ‘कुनै पनि नयाँ नीति वा नियम ल्याउनुअघि सरकारले यस क्षेत्रका सरोकारवालाहरूसँग पर्याप्त परामर्श गर्न आवश्यक छ ।’ नेपाल सरकारको स्वच्छ यातायात र दिगो विकासको लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्ने बताउँदै अध्यक्ष वैद्यले विद्युतीय सवारी साधन, हाइब्रिड र अन्य अत्याधुनिक प्रविधिहरूलाई प्रोत्साहन गरिने जानकारी दिइन । उनले नेपालको आफ्नै स्वच्छ ऊर्जाको प्रयोग बढाएर पेट्रोलियम पदार्थमाथिको निर्भरता कम गर्नुपर्नेमा जोड दिइन। अध्यक्ष वैद्यले गतिशीलतालाई केवल सवारी साधनको खरिद-बिक्रीका रूपमा मात्र नहेरी यसलाई शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँचसँग जोड्नुपर्ने धारणा राखिन् । उनले भनिन, ‘गतिशीलता विलासिता होइन, यो राष्ट्रिय विकासको आधारभूत आवश्यकता हो । सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम र भरपर्दो पूर्वाधार नै हाम्रो प्राथमिकता हुनुपर्छ ।’ नेपालमा हुने ठूला अन्तर्राष्ट्रिय प्रदर्शनीहरूका लागि सुविधासम्पन्न एग्जिबिसन एन्ड कन्भेन्सन सेन्टरको अभाव रहेको तर्फ संकेत गर्दै उनले सरकारलाई यस्तो पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरिन् । यसले अटोमोबाइल मात्र नभई पर्यटन र अन्य व्यापारिक क्षेत्रलाई पनि फाइदा पुग्ने उनको विश्वास छ । भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने यस एक्स्पोमा ५५ वटा ब्रान्डका सवारी साधन र पार्टपूर्जाहरू प्रदर्शनीमा राखिएका छन् । यसै अवसरमा ४० भन्दा बढी नयाँ सवारी साधनहरू सार्वजनिक लन्च गरिनेछ । एक्स्पोमा प्रदर्शनीका साथै मोबिलिटी संवादमार्फत विज्ञहरू र नीति निर्माताहरूबीच नेपालको यातायात क्षेत्रको भविष्यबारे छलफल हुनेछ । अध्यक्ष वैद्यले सबै आम नागरिक, विद्यार्थी र सरोकारवालाहरूलाई एक्स्पो अवलोकन गरी नयाँ प्रविधिबारे जानकारी लिन र यस क्षेत्रको विकासमा सहभागी हुन निम्तो समेत दिएकी छन्।