सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.६ प्रतिशत पुग्ने ओईसीडीको प्रक्षेपण
एजेन्सी । अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले मुद्रास्फीति कम हुँदै गएको बताएको छ । चीन कोभिड प्रतिबन्धबाट बाहिर निस्केपछि शुक्रबार आफ्नो विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान बढाएको हो । तर उक्त सङ्गठनले अमेरिकी बैंक क्षेत्रको उथलपुथलमा देखिएको कमजोरीबारे चेतावनी जारी गरेको छ । ओईसीडी ले यस वर्ष विश्व अर्थतन्त्रको वृद्धिदर २.६ प्रतिशतले बढ्ने अनुमान गरेको छ । गत नोभेम्बरमा गरिएको प्रक्षेपणमा यो दर २.२ प्रतिशत हुने अनुमान गरिएको थियो । सन् २०२२ मा देखिएको ३.२ प्रतिशतको विस्तारको तुलनामा यो अझै न्यून रहेको पेरिसस्थित ओईसीडीले ‘ए फ्रेजाइल रिकभरी’ शीर्षकको आफ्नो अद्यावधिक आर्थिक मूल्याङ्कनमा उल्लेख गरेको छ । ओईसीडीले आफ्नो अन्तरिम आर्थिक मुल्याङ्कन रिपोर्टमा भनेको छ, ‘व्यापार र उपभोक्ताको भावनामा सुधार आउन थालेको, खाद्यान्न र ऊर्जाको मूल्य मा गिरावट आएको र चीनको बजार पूर्णरूपमा खुल्न थालेपछि थप सकारात्मक सङ्केतहरु देखिन थालेका छन् ।’ उक्त प्रतिवेदन अनुसार सुधारको अवस्था अझै कमजोर रहेको र जोखिमहरू केही हदसम्म सन्तुलित भएका तर नकारात्मक पक्षमा झुकेका छन् । यसलाई पुष्टि गर्न युक्रेनमा युद्धको क्रममा अनिश्चितता, ऊर्जा बजारमा नयाँ दबाबको जोखिम र बढ्दो ब्याज दरको प्रभावलाई उद्धृत गरिएको छ । दशकौंदेखिको उच्च मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका छन्, तर बढ्दो ऋण लागतले अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने डर विश्व बजारमा व्याप्त छ । ‘कडा मौद्रिक नीतिको प्रभावका सङ्केतहरू संयुक्त राज्य अमेरिकाका क्षेत्रीय बैंकहरूसहित बैंकिङ क्षेत्रका केही भागहरूमा देखिन थालेका छन्’, विज्ञप्तिमा भनिएको छ । उच्च ब्याज दरले अन्तर्निहित वित्तीय कमजोरीहरू उजागर गर्दछ भने आर्थिक वृद्धिमा अपेक्षा गरेभन्दा बढी प्रभाव पार्न सक्छ । गत साता सिलिकन भ्याली बैंकले उच्च दरका कारण मूल्य घटाएको ऋणपत्रमा १.८ अर्ब अमेरिकी डलरको नोक्सानीको सन्दर्भ सार्वजनिक भएपछि मौद्रिक कडाइलाई जोडेर अध्ययन गरिएको हो ।
क्रिप्टो करेन्सीका कारण नै तीन अमेरिकी बैंकहरु बन्द भए
एजेन्सी । यो हप्ता वित्तीय बजारको लागि जंगली समय बन्यो, यसपटक क्रिप्टो बैंकहरुको लागि चिसो ठण्डी बनेर प्रकट भए । सिल्भरगेट क्यापिटल बन्द हुनुपूर्व उसले क्वाइनवेस गिमिनी जस्ता क्रिप्टो कम्पनीका ग्राहकहरुको गणना गरेको थियो । क्यालिफोर्नियामा आधारित ऋणदाताले पछिल्लो समयका कुख्यात क्रिप्टो एक्सचेन्ज एफटिएक्स पनि सेवा दिएका थिए, जसले यसको गिरावटमा भूमिका खेलेको थियो । त्यस्तै प्रविधि र स्टार्टअपमा आधारित सिलिकन बैंक एकहप्ता अगाडि मात्रै पतन भयो । जब स्थिर क्वाइन जारी गर्ने सर्कलले तिनीहरुले ३.३ बिलियन डलर बराबरको स्थायी क्वाइन ती धरासायी उन्मुख बैंकहरुमा राखेको थाहा पाए, त्यतिबेला लगानीकर्ताहरु खुसी थिएनन् । पछिल्लो आइतबार राति नियामक निकायले सिग्नेचर बैंकलाई बन्द गर्यो । बैंकको व्यवस्थापनले विश्वास गुमाएपछि नियामकले सो बैंकलाई बन्द गरेको थियो । यो बैंकले सिल्भरगेटले जस्तै हाइ प्रोफाइलका क्रिप्टो कारोबारीलाई ब्लक चेन र रियल टाइममा आधारित चौबिसै घण्टा व्यापार तथा भक्तानी सुविधा प्रदान गर्ने प्रणाली बनाएको थियो । अमेरिकी वित्त क्षेत्रमा भएको पछिल्लो समयको यो ठूलो घट्नासँगै अब क्रिप्टो उद्योग कसरी अगाडि बढ्ला भन्ने बहसको प्रारम्भ भएको छ । रोयटर्स पोडकास्ट ।
सानाभन्दा ठूला बैंक जोखिममा, क्रिप्टोमा लगानी गर्ने झनै असुरक्षित
मार्च १० गते क्यालिफोर्नियाको वित्तीय सुरक्षा तथा खोज विभागले सिलिकन भ्याली बैंकलाई बन्द गर्यो । मार्च १२ मा न्युयोर्कको वित्तीय सेवा विभागले सिग्नेचर बैंकलाई बन्द गर्ने काम गर्यो । यी दुबै बैंक बन्द गर्दा संघीय डिपोजिट इन्स्योरेन्स कर्पोरेसन ( एफडीआइसी) लाई रिसिभरको रुपमा तोकिएको छ । दुबै बैंकमा समस्याको प्रमुख कारण द्रुत रुपमा बचत निस्काशन गर्नु नै थियो, विशेषगरी एफडीआइसी ग्यारेन्टी नगरिएको दुई लाख ५० हजार डलर माथिका बचतकर्ताहरुले यसरी पैसा निकालेका थिए । यी दुबै बैंकहरु बन्द भएपछि अमेरिकी वित्तीय प्रणालीमा प्रत्यक्ष र अप्रत्यक्ष सम्भावित जोखिमहरु सीमित गर्ने उद्देश्यले केही कार्यमुलक घोषणाहरु गरिएको छ । फेडरल रिजर्ब बोर्डले बैंक टर्म फन्डिङ मार्फत कानूनी डिपोजिटरी संस्थाहरुलाई थप फन्ड उपलब्ध गराउने घोषणा गरेको छ । यस्तो कार्यक्रमले ती संस्थाहरुलाई एक वर्ष सम्मको ऋण प्रदान गर्नेछ जो युएस सेक्युरिटिज, एजेन्सी ऋण र मोर्टगेज–ब्याक्ड सेक्युरिटिज र अन्य मान्यताप्राप्त धितोको रुपमा राख्नुपर्नेछ । ऋण दिने सुविधाले बैंकहरुमा तरलता व्यवस्थापन गर्न सहयोग पुर्याउने र उनीहरुको धितोपत्र तुरुन्त बेच्ने समस्यालाई केही हल गर्नेछ । एफडिआइसीले आफ्नो बचत रकमको बीमा नगरिएका बचतकर्ताहरुलाई सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकमा रहेको रकम सुरक्षित रहने जनाएको छ । एफडिआइसी, फेडरल रिजर्भ बोर्ड र अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले निक्षेपकर्ताहरुको बचत सुरक्षाको लागि कार्य प्रारम्भ गरेका छन् । अमेरिकी बैंकिङ प्रणालीमा बलियो पुँजी छ । बोर्डले निरन्तर रुपमा वित्तीय बजार र बैंकिङ प्रणालीमा भएका घट्नाक्रमहरुलाई अनुगमन गर्ने काम गर्छ । बैंकिङ प्रणालीको नविनताको विषयमा कुरा गर्दा खुद्रा निक्षेप लिने र ऋण प्रवाह गरिने परम्परागत विषयमा मात्रै ध्यान केन्द्रीत हुनु हुँदैन । यसो गरियो भने यसले नविनताको संकेत गर्दैन । नविनताले सँधै नै सबै आकारका बैंक तथा व्यवसायका प्रकार र साना सामुदायिक बैंकदेखि ठूला विश्वव्यापी प्रणालीमा सञ्चालनमा भएका बैंकहरुलाई कारणसहित प्राथमिकतामा राख्छ । अमेरिकी बैंकहरुसँग नयाँ प्रविधिको विकास र कार्यान्वयनको लामो इतिहास रहेको छ । नयाँ खोजहरुले बैंकिङ प्रणालीलाई द्रुत र प्रभावकारी बनाउँदै सेवाग्राहीलाई सुरक्षित सेवा प्रदान गर्ने विषयको विकास गर्छ । नियामकहरुले पनि निरन्तर रुपमा बैंकिङ प्रणालीमा नयाँ प्रविधिलाई समायोजन गर्न कसरी महत्वपूर्ण रुपमा भूमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा सिकिरहेका छन् । नवपर्वतनले नियमन भइरहेका बैंकिङ प्रणालीमा चुनौति खडा गर्ने काम गर्छ, जुन सामुदायिक स्तरका बैंकहरुमा विस्तार हुन सक्छ । नवप्रवर्तनले नयाँ अवसरहरु प्रस्तुत गर्नुको साथै नयाँ जोखिम र कमजोरी पनि सिर्जना गर्ने गर्छ । बैंक तथा कुनै व्यवसायले आजको दिनमा नयाँ प्रविधि अपनाउँदा आइपर्ने जोखिमको व्यवस्थापन र साइबर सुरक्षाको लागि तयार हुनुपर्छ । नियामक निकायहरुले सुरक्षित बैंकिङ अभ्यासको लागि विद्यमान कानूनहरुलाई उपभोक्ता संरक्षित हिसाबले लागु गर्नुपर्छ । यो काम सजिलो होइन, तर नियामकले नवप्रवर्तन प्रकृयामा संलग्न भइरहेको परिवर्तनको प्रतिक्रिया बैंकमार्फत गराउन सक्नुपर्छ । नवप्रवर्तनले नियामक र बैंकहरुको परम्परागत बैंकिङ व्यवसायमा विशेषगरी ऋण, तरलता, कन्सन्ट्रेसन र ब्याजदरलाई समस्या सिर्जना गर्नुहुँदैन । यी तीन प्रकारका जोखिमहरु प्रायः सबै बैंकिङ क्षेत्रमा लागू हुन्छ, जुन नयाँ गतिविधिमा संलग्न भएका हुन्छन् वा क्रिप्टो करेन्सी सहितको नयाँ बजारमा पनि हुन सक्छन् । जे भएपनि परम्परागत जोखिमहरुलाई उपयुक्त जोखिम व्यवस्थापन, तरलता योजना, अभ्यास, प्रभावकारी सुपरिवेक्षण र बैंकहरुको आविस्कार गर्ने क्षमतालाई बाधा नपुर्याइ कम गर्न सकिन्छ । बैंकको नियमन र सुपरिवेक्षण जसले नवप्रवर्तनलाई समर्थन गर्छ, सामुदायिक र साना बैंकहरुका चुनौतिहरु जसले नवप्रवर्तनलाई पछ्याइरहेका छन् र संघीय नियामकले हालसम्म लिएका नीतिहरु र भविष्यमा नियामक र सुपरिवेक्षणले नवप्रवर्तनलाई कसरी सहयोग गर्न सक्छ भन्ने बारेमा भन्दैछु । मैले स्वतन्त्रता, जनताप्रतिको उत्तरदायित्व र संघीय बैंक सुपरभाइजरको भूमिका बुझेको छु । बैंक सञ्चालन प्रकृयामा उसको संलग्नता र सम्भाव्यताको बारेमा पनि स्पष्ट नीति हुनुपर्छ भन्ने दबाब देखिएको छ । प्रभावकारिता र पारदर्शिता बैंक नियामक प्रणालीको लागि आवश्यक छ, यी सिद्धान्तहरुले नियामकले कसरी नवप्रवर्तनलाई सम्बोधन गर्नुपर्छ भन्ने विषय पाठ बन्न सक्छन् । उपभोक्ताहरुको वित्तीय सेवाको पहुँचमा पुग्न उनीहरुको आवश्यकता र प्राथमिकता दुबै बद्लिएका छन्, त्यसैले बैंकिङ क्षेत्रको पनि पनि परिवर्तन आवश्यक छ । सबै आकारका बैंकहरुले आफ्ना ग्राहकहरुको लागि नयाँ अवसरको विकास, द्रुत भुक्तानी र प्रभावकारी सेवा प्रदान गर्न खोजिरहेका छन् । यदि हाम्रो लक्ष्य बैंकिङ प्रणालीमार्फत नवप्रवर्तनलाई फाइदा पुर्याउने हो भने नियामक निकायले कसरी नियमन तथा सुपरिवेक्षण गर्ने भन्ने विषयलाई छनोट गर्न आवश्यक छ । हामी हाम्रो नियामक ढाँचाले दिएको अनपेक्षित परिणामबारे सचेत हुन आवश्यक छ । द फेडरल रिजर्भ र अन्य बैंकिङ एजेन्सीहरुले नवपर्वतनको विषयमा महत्वपूर्ण सहयोग गर्न सक्छन् । नियामकले साना बैंकहरुमा अनावश्यक बोझ राख्ने काम गर्नुहुँदैन । अधिकांश बैंकहरुले नियामकको अपेक्षा पुरा गर्न चाहन्छन् । पारदर्शी गाइड र विकसित सामग्रीको माध्यमबाट नियामकहरुले पारदर्शितामा सुधार गर्न र अनुपालना गराउन सक्छन् । पारदर्शिता यस्तो उपकरण हो जसले नविनताको सन्दर्भमा पनि नियामकको बैंकिङ सुरक्षा, निष्पक्षता र बैंकिङ पारदर्शिताको लक्ष्य पुरा गर्न सहयोग पुर्याउँछ । नियामक तथा सुपरिवेक्षणले अख्तियारको प्रयोग गर्दा अमेरिकी बैंकिङ प्रणालीमा हुने जोखिमहरु मात्रै नभई अमेरिकी उपभोक्ता र व्यवसायीहरुमा हुनसक्ने हानीबारे पनि सचेत हुन जरुरी छ, जबसम्म वित्तीय प्रणालीमा पर्याप्त पारदर्शिता हासिल गर्न सकिँदैन । पछिल्ला वर्षहरुमा गैरबैंकिङ ल्यान्डिङ बैंकिङ ल्यान्डिनको तुलनामा समानुपातिक रुपले बढेको छ । पारदर्शिताको अभाव र नवप्रर्वतन सम्बन्धी बैंकिङ सीमाका कारण उपभोक्ता, व्यवसाय र समुदायमा प्रतिकुल प्रभाव पर्छ । त्यसैले, नियामकले सुरक्षित र राम्रो तरिकाले सञ्चालन भएका कानूनलाई पालना गरी उपभोक्ताको संरक्षण सहित सञ्चालन भएका नवप्रवर्तनलाई सहयोग गर्नुपर्छ । नवप्रवर्तन सामुदायिक बैंकहरुलाई चुनौति हुनसक्छ । अमेरिकी वित्तीय प्रणालीमा उनीहरुको महत्वपूर्ण भूमिका रहेको छ । साना बैंकहरुले व्यवसाय र व्यक्तिगत सेवामार्फत ऋण तथा वित्तीय सेवा प्रवाह गरिरहेका छन् । साना बैंकहरुको उतार चढाव सहितको आर्थिक चक्रमा आफ्ना समुदायप्रति प्रतिवद्धता छ र उनीहरुले आफ्ना ग्राहकहरुलाई बुझेका छन् । अहिले साना बैंकहरुले स्वस्थतापूर्वक आर्थिक वृद्धिलाई सहयोग पुर्याइरहेका छन् । पुँजी, तरलता आम्दानी, ऋणको गुणस्तर र ऋणको वृद्धिलाई हेर्दा साना बैंकहरु स्वस्थ अवस्थामा रहेका छन् । तरपनि साना बैंकहरुले विशेष प्रकारका चुनौतिहरुको सामना गरिरहेका छन्, जो नवप्रवर्तनसँग सम्बन्धित छन् । साना बैंकहरुसँग स्रोतको सीमितता, सीमित प्रविधिमैत्री कामदार र विकसित सेवाको कमि रहेको छ । साना बैंकहरुद्वारा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न तेस्रो पक्षको महत्वपूर्ण भूमिका हुन्छ । तेस्रो पक्षले बैंकको अपरेसनल रिस्क र डाटा सुरक्षाको जोखिमलाई बढाउन सक्छन् । नियामकले साना बैंकहरुले अपनाएका नवप्रवर्तनको बारेमा सोच्न सक्छ । नवप्रर्वतनले बैंकहरुलाई अझ प्रभावकारी बन्न र ग्राहकको मागलाई प्रभावकारी रुपमा पुरा गर्न सहयोग पुर्याउँछ, त्यसैले नियामकले नवप्रवर्तनलाई बाधा पुर्याउन चाहँदैन । बैंकिङ क्षेत्रले उपुक्त प्रविधि अपनाउने शुनिश्चितता गर्ने दायित्व पनि हाम्रो हो । पछिल्ला धेरै वर्षहरुमा बैंकिङ ग्राहकरुले क्रिप्टो सम्पत्तिको बारेमा चासो राख्ने गरेका छन् र बैंकहरुले पनि ग्राहकहरुको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर अन्वेषण गरिररहेका छन् । नवप्रर्वतनको रुपमा आएका डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजी र क्रिप्टो पुँजी नियामकको लागि विशेष चुनौतिको रुपमा देखिएको छ । यी गतिविधिहरुले नियामकको सुरक्षा, जोखिम व्यवस्थापन र कानुनी अनुमतिको विषयमा प्रश्न खडा गरेका छन् । नियामकको तर्फबाट समयमा नै मार्गदर्शनको अभावले सो क्षेत्रमा इच्छा राख्ने बैंकहरुलाई चुनौति सिर्जना गर्छ । क्रिप्टो पुँजी सम्बन्धी गतिविधिमा फेडरल रिजर्भ र अन्य नियामकहरुको ध्यान आकर्षण भएको छ । केही बैंकहरुले क्रिप्टोसँग सम्बन्धित पुँजी र सेवा प्रदान गर्ने विषयमा अन्वेषण गरिरहेका छन्, यस्तो प्रकारको पुँजीमा देखिएको चरम अस्थिरताले बैंकहरुमा चुनौति सिर्जना गर्छ । जबसम्म नियामक निकायहरुले यस्ता प्रकारका सम्पत्तिहरुको स्पष्ट बैधानिक र नियामक मापदण्ड बनाउँदैनन् तबसम्म क्रिप्टो गतिविधिहरुमा कसरी संलग्न हुन सकिन्छ भन्ने विषय पनि अनिश्चित हुन्छ । बोर्डले गाइडलाइन्स प्रकाशित गरेर क्रिप्टो पुँजीमा जोडिएका सुपरिवेक्षण विन्दुको विषयमा स्पष्ट पारिसकेको छ । हालसालै बैंक नियामकले क्रिप्टो सम्बन्धी मुख्य जोखिमहरुको बारेमा थप गाइडलाइन्स पनि प्रकाशित गरेको छ । पछिल्लो समय बैंकहरुको प्राथमिकतामाm नवप्रवर्तन व्यवसाय परेको छ । बैंकहरुले अझै पनि यसलाई प्रमुख व्यवसाय विस्तारको क्षेत्र बनाउने छन् भन्नेमा म आशावादी छु । हुन त नवप्रवर्तनले नयाँ अवसरहरू ल्याउँदा यसले थप जोखिमहरू पनि ल्याउँछ, यस विषयमा पनि हामी जानकार हुन आवश्यक छ । तर यो क्षेत्रले सबै आकारका बैंकहरूलाई आफ्ना ग्राहकहरू र फराकिलो अर्थतन्त्रको फाइदाको लागि नयाँ प्रविधिहरू अँगाल्न मद्दत गर्न सक्छ । बैंकहरुले पनि नियामकबाट जारी हुने सर्कुलरहरुलाई पूर्ण रुपमा पालना गर्न पछि हट्नु हुन्न । यो परिस्थितिमा सबैले सहकार्य गरेर अगाडि बढे मात्रै हाम्रो बैंकिङ प्रणाली थप मजबुद बन्नेछ । (मिशेल बोमन फेडरल रिजर्वकी गभर्नर हुन् । फेडरल रिजर्वले आफ्नो वेवसाइटमा राखेको उनको धारणालाई भावानुवाद गरिएको हो । )