अमेरिका-चीनबीच ट्यारिफ नलाग्ने सहमति ९० दिनका लागि थपियो

काठमाडौं । अमेरिका र चीनले एक-अर्कामाथि ट्यारिफ नलगाउने सहमति ९० दिनका लागि थप गरेका छन् । यो निर्णय त्यतिबेला गरिएको हो जब विद्यमान सहमतिको अवधि सकिँदै थियो । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उक्त आदेशमा मे महिनामा भएको सहमतिको प्रावधानलाई यथावत राखिएको छ । त्यतिबेला दुवै देशले अस्थायी रूपमा एक(अर्काका सामानमा लगाइएका ट्यारिफलाई निलम्बन गरेका थिए । अमेरिकाले चेतावनी दिएको थियो यदि सहमतिको अवधि बढाइएन भने मंगलबारदेखि उच्च ट्यारिफ लागू हुनेछ। गत महिनाको वार्तामा चीनले दुवै पक्षले सहमति कायम राख्ने प्रयास गर्ने जनाएको थियो । अमेरिकी अधिकारीहरूले त्यसबेला भनेका थिए कि उनीहरू ट्रम्पको अन्तिम स्वीकृतिको प्रतीक्षामा छन् । अप्रिलमा व्यापारसम्बन्धी तनाव चरममा पुगेको थियो। ट्रम्पले विश्वका धेरै मुलुकका सामानमा टैरिफ लगाउने घोषणा गरेका थिए । चीनमाथि पनि उच्च ट्यारिफ लगाइयो र चीनले त्यसको जवाफी कदमस्वरूप अमेरिकी सामानमा ट्यारिफ बढायो । मे महिनामा भएको सम्झौताअनुसार अमेरिका भित्रिने चिनियाँ सामानमा वर्षको सुरुवातको तुलनामा ३० प्रतिशत अतिरिक्त ट्यारिफ लगाइयो । त्यस्तै चीनमा अमेरिकी सामानमा १० प्रतिशत नयाँ ट्यारिफ लागू गरियो ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको भ्रष्टाचारको मुद्दामाथि सुनुवाई

काठमाडौं । बङ्गलादेशको एक अदालतले पूर्व राष्ट्रपति शेख हसिना र संयुक्त राष्ट्रसङ्घको उच्च अधिकारीका रूपमा काम गरिसकेकी उनकी छोरीसहितको परिवारविरुद्ध भ्रष्टाचार विरोधी संस्थाले दायर गरेको मुद्दामाथि सोमबार सुनुवाइ गरेको छ । सुनुवाईका क्रममा भ्रष्टाचार निरोधी आयोग (एसीसी) का तीन जना अधिकारीहरूले राजधानी ढाकाको एक उपनगरमा आकर्षक प्लटहरूको कथित भूमि हडप्ने तीन अलग–अलग मुद्दाहरूमा आरोपहरू पढेर सुनाएका थिए । हप्तौंको विद्यार्थी आन्दोलनको बलमा हसिनामाथि राजनीतिक दवाव परेपछि सन् २०२४ अगष्ट ५ मा हेलिकप्टरबाट बङ्गलादेशबाट भागेकी ७७ वर्षीया हसिनामाथि दर्जनौँ मुद्दामा संलग्न रहेको आरोप लागेको छ ।  उनले विद्रोहमा भएको घातक दमनलाई लिएर मानवताविरुद्धको अपराधको अभियोगमा आफ्नो छुट्टै र चलिरहेको सुनुवाईमा उपस्थित हुनेसहित भारतबाट फर्कने आदेशको अवहेलना गरेकी छन् ।  हसिनासहित उनका छोरा सजिब वाजेद जोय र नयाँ दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्व एसिया प्रमुखका रूपमा कार्यरत छोरी साइमा वाजेदलाई भ्रष्टाचारको छ वटा अभियोगमा मुद्दा चलाइएको छ । 'यदि शेख हसिना, उहाँका छोरा सजीब र छोरी साइमा यस मुद्दामा दोषी ठहरिएमा १४ वर्षको जेल सजाय हुन सक्छ,' एसीसीका वकिल खान मोहम्मद मैनुल हुसेनले एएफपीसँग भने ।  वाजेद डब्ल्यूएचओको जिम्मेवारीबाट बिदामा रहेका छ र एक नयाँ अधिकारीले ‘अफिसर–इन–चार्ज’ को रूपमा पद ग्रहण गरेका छन् ।  हसिनासँग सम्बन्धित भ्रष्टाचारका छ वटा मुद्दा दर्ता भएका छन् । अन्य मुद्दाहरुमा हसीनाकी बहिनी शेख रेहाना र बेलायती सांसद टुलिप सिद्दिकसहित उनका छोराछोरीको पनि नाम जोडिएको छ ।  गत जनवरीमा बेलायत सरकारका भ्रष्टाचारविरोधी मन्त्री सिद्दिकले राजीनामा दिएका छन् । सिद्दिकका वकिलले बेलायती सांसद्माथि लगाइएको आरोप झुटो भएको बताएका छन् । रासस  

जापानमा भारी वर्षाले बाढी र हिलो पहिरो, धेरै व्यक्ति बेपत्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाले बाढी र हिलो पहिरो निम्त्याएको छ, जसले धेरै व्यक्तिलाई घाइते बनाएको छ र बौद्ध छुट्टीको हप्तामा यातायातमा असर पारेको छ । धेरै जना बेपत्ता भएको बताइएको छ । गत हप्ताको अन्त्यतिर सुरु भएको भारी वर्षाले कागोसिमाको दक्षिणी प्रान्तमा एक जना बेपत्ता र अन्य चार जना घाइते भएका छन् । यस क्षेत्रमा अड्किएको न्यून चापीय प्रणालीले क्युशुको उत्तरी भागहरूमा थप वर्षा ल्याएको छ । जापान मौसम विज्ञान एजेन्सीले सोमबार बिहान कुमामोटोमा उच्च–स्तरको चेतावनी जारी गरेको छ अग्नि र विपद् व्यवस्थापन एजेन्सीले कुमामोटो र यस क्षेत्रका अन्य छ प्रान्तमा दशौँ हजार मानिसलाई निकासी सल्लाह जारी गरेको छ । यस क्षेत्रका उद्धारकर्मीहरूले धेरै मानिसको खोजी गरिरहेका छन् कुमामोटोमा, तिनीहरूले तीन व्यक्तिलाई खोजी गरिरहेका थिए । निकासी केन्द्रतर्फ गाडी चलाउने क्रममा तीन जनाको परिवार भूस्खलनको चपेटामा परेको थियो । दुई जनालाई जिउँदै निकालियो तर तेस्रो व्यक्ति अझै बेपत्ता छन् । प्रान्तमा अन्य दुई जना बेपत्ता भएका छन् । कुमामोटो र नजिकैको फुकुओका प्रान्तमा बढेको नदीमा खसेर अन्य धेरै मानिस बेपत्ता भएको पनि रिपोर्ट गरिएको छ । टेलिभिजन फुटेजले हिलो पानी बगिरहेको, भाँचिएका रुख र हाँगाहरू बगाएको र बासिन्दाहरू घुँडासम्म बाढीको पानीमा हिँडिरहेको देखाएको छ । प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सरकारले बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यमा सहयोग गरिरहेको र प्रभावित क्षेत्रका अन्य व्यक्तिहरूलाई सहायता गरिरहेको बताए । उनले बासिन्दाहरूलाई ‘आफ्नो जीवन बचाउनका लागि कार्यहरूलाई प्राथमिकता दिन’ प्रोत्साहित गर्दै ‘अधिकतम सावधानी अपनाउन’ आग्रह गरे । भारी वर्षाले जापानको बौद्ध ‘बोन’ छुट्टी हप्तामा यात्रा गर्ने मानिसहरूलाई पनि असर पारेको छ । उत्तरी क्युशुमा काकोशिमा र हाकाटा जोड्ने बुलेट रेलहरू र स्थानीय रेल सेवाहरू सोमबार बिहान स्थगित गरिएको छ । वर्षा कम भएका क्षेत्रहरूमा सेवाहरू आंशिक रूपमा पुनः सुरु गरिएको थियो । क्युशु इलेक्ट्रिक पावर कम्पनीका अनुसार कुमामोटोमा करिब छ हजार घरपरिवार विद्युत्विहीन भएका छन् । रासस