श्रीलङ्काका पूर्वराष्ट्रपति रानिल विक्रमसिंघे पक्राउ
काठमाडौं । श्रीलङ्काका पूर्वराष्ट्रपति रानिल विक्रमसिंघेलाई सरकारी रकम दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ । यो जानकारी त्यहाँको प्रहरीले दिएको हो । उनीमाथि लागेको आरोप राष्ट्रपति पदमा रहँदा भएको विदेश यात्रासँग सम्बन्धित छ । आरोपअनुसार सन् २०२३ मा न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको आमसभाबाट फर्कँदा उनले आफ्ना निजी कामका लागि श्रीमतीसहित लन्डनमा रोकिँदा सरकारी खर्च प्रयोग गरेका थिए । उनलाई शुक्रबार राजधानी कोलम्बोको जिल्ला अदालतमा पेश गरिनेछ । यसअघि उनले अपराध अनुसन्धान विभाग (सीआईडी) मा बयान दिएका छन् । रानिल विक्रमसिंघेले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै लन्डनमा उनले विभिन्न बैठकहरूमा सहभागी भएको बताएका छन् । विक्रमसिंघे २०२२ देखि २०२४ सम्म श्रीलङ्काका राष्ट्रपति रहेका थिए । उनी आर्थिक संकटका कारण देशभर प्रदर्शन चर्किँदा पदभार सम्हालेका थिए, जब उनका पूर्ववर्ती गोटाबाया राजपक्षे देश छोडी भागेका थिए ।
कोलम्बियामा कारबम हमला : १८ जनाको मृत्यु, ४० भन्दा धेरै घाइते
काठमाडौं । कोलम्बियाको क्याली सहरमा भएको कार बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन् । पुलिसका अनुसार यो हमला मार्को फिडेल सुआरेज मिलिट्री एभियसन स्कूललाई लक्षित गरेर गरिएको थियो । विस्फोटका कारण वरिपरिका धेरै भवनहरूमा पनि क्षति पुगेको छ । क्यालीका मेयर एलेजान्ड्रो एडरले हमलाको निन्दा गर्दै जिम्मेवार व्यक्तिहरूको बारेमा जानकारी दिनेलाई ४० करोड डलरको पुरस्कार घोषणा गरेका छन् । सुरक्षालाई ध्यानमा राख्दै उनले धेरै भवन र विद्यालय खाली गराउन आदेश दिएका छन् र शहरमा ठूला ट्रकहरूको प्रवेशमा प्रतिबन्ध लगाएका छन् । यसअघि बिहीबार उत्तर(पश्चिमी शहर म्याडेलिन नजिकै ग्रामीण क्षेत्रमा प्रहरीले हेलिकोप्टरमा भएको हमलामा कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।
चीनको कडाइपछि एनभीडीयाको एच २० चिप उत्पादन संकटमा, ४.५ अर्ब डलर बराबरको स्टक घाटा
काठमाडौं । एनभीडीयाले आफ्नो चीनका लागि बनाइएको एच २० जनरल प्रोसेसिङ युनिटसँग सम्बन्धित उत्पादन तत्काल रोक्नका लागि आफ्ना केही कम्पोनेन्ट आपूर्तिकर्तालाई निर्देशन दिएको छ । द इन्फर्मेशनले शुक्रबार रिपोर्ट गरेकोअनुसार अमेरिकी चिप निर्माता कम्पनीमाथि बेइजिङले दबाब दिँदै कारबाही थालेपछि यस्तो कदम चालिएको हो । रिपोर्टका अनुसार केही साताअघि चीन सरकारले आफ्ना स्थानीय प्रविधि कम्पनीहरूलाई सुरक्षा चिन्ताको कारण देखाउँदै यी चिपहरू खरिद नगर्न भनेको थियो । एनभीडीयाले अमेरिकी एरिजोनामा रहेको एमकोर टेक्नोलोजी (जसले एच २० चिपहरूको एडभान्स प्याकेजिङ गर्छ) र दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्स (जसले मेमोरी आपूर्ति गर्छ) लाई उत्पादन रोक्न आग्रह गरेको बताइएको छ । तर सामसङ र एमकोरले यसबारे तत्काल प्रतिक्रिया दिएका छैनन् । रोयटर्सले उद्धृत गरेको अर्को रिपोर्टअनुसार एनभीडीयाले फक्सकनलाई समेत एच २० चिपसम्बन्धी काम रोक्न निर्देशन दिएको छ । सीएनबीसीलाई दिएको प्रतिक्रियामा एनभीडीयाका प्रवक्ताले भने, ‘हामी निरन्तर बजार अवस्थाअनुसार आपूर्ति श्रृंखलाको व्यवस्थापन गर्छौं ।’ यसले एच २० चिप पुनः चीनको बजारमा फर्कने सम्भावनामा अझ शंका पैदा गरेको छ, किनकि अमेरिकाले यसअघि नै निर्यात अनुमतिपत्र दिने घोषणा गरे पनि अप्रिलदेखि चीनतर्फ आपूर्ति रोकिएको थियो । गत महिनामै चीनको साइबर एडमिनिस्ट्रेसनले एच २० चिपसम्बन्धी राष्ट्रिय सुरक्षा चिन्तामा एनभीडीयालाई जवाफ दिन बोलाएको थियो । यी चिपहरूमा ट्र्याकिङ प्रविधि वा ‘ब्याकडोर’ जस्ता सुविधा हुन सक्ने बेइजिङको आशंका थियो । यता अमेरिकन सांसदहरूले एआई चिपमा लोकेशन–ट्र्याकिङ सिस्टम अनिवार्य गर्ने प्रस्ताव गरेका छन्, जसले अवैध तस्करी रोक्न मद्दत गर्नेछ । शुक्रबार ताइवानमा पत्रकारसँग कुरा गर्दै एनभीडीयाका सीईओ जेनसन हुआङले भने, ‘चीनले सुरक्षा ’ब्याकडोर’बारे प्रश्न उठाएको थियो, तर हामीले त्यस्तो कुनै सुविधा नरहेको प्रस्ट्याएका छौं ।’ उनी भन्छन्, ‘हामीले दिएको जवाफ पर्याप्त हुने आशा छ र हाल चीन सरकारसँग निरन्तर छलफल भइरहेको छ ।’ एनभीडीयाले शुक्रबारको विज्ञप्तिमा भनेको छ, ‘एच २० चिप बजारमा निश्चित भएर प्रयोग गर्न सकिन्छ । यो सैन्य प्रयोजन वा सरकारी पूर्वाधारका लागि होइन, व्यावसायिक प्रयोजनका लागि मात्र हो । जसरी अमेरिकी सरकार चीनको चिपमा भर पर्दैन, त्यस्तै चीनले पनि अमेरिकी चिपमा सरकारी कामका लागि निर्भर हुँदैन । तर व्यावसायिक क्षेत्रका लागि अमेरिकी चिपको प्रयोग सबैका लागि फाइदाजनक हुन्छ ।’ बेइजिङले गत महिनादेखि नै बाइटडान्स, अलिबाबा, टेनसेन्टलगायत प्रमुख प्रविधि कम्पनीलाई एच २० चिप खरिद नगर्न आग्रह गरेको थियो, जुन पछि पूर्ण प्रतिबन्धमा परिणत भएको बताइन्छ । एनभीडीयाका लागि ठूलो सफलता जस्तै देखिएको थियो जब सीईओ हुआङले गत महिनामै अमेरिकाले चीनमा एच २० चिप बेच्न अनुमति दिने घोषणा गरेका थिए । तर, चीनको बढ्दो चासोले फेरि चुनौती खडा गरेको छ । हुआङले शुक्रबार पत्रकारलाई भने, यो नयाँ औद्योगिक क्रान्तिको सुरुवात हो । यस समयमा अमेरिकी एआइ टेक्नोलोजी स्ट्याकलाई समर्थन गर्ने मोडल, डिभेलपर र एप्लिकेशनहरू निकै महत्त्वपूर्ण छन् ।’ ‘एआई त विश्वव्यापी रूपमा अघि बढ्नेछ, अमेरिकासँग होस् वा बिना, त्यसैले यस उद्योगलाई अघि बढाउन अमेरिकाले आफ्नो एआई निर्यात प्रविधि प्रयोग गर्नु जरुरी छ,’उनले थपे । एनभीडीयाले गत मे महिनामा मात्र एच २० चिपको बिक्री प्रतिबन्धका कारण ४.५ अर्ब डलर बराबरको स्टक घाटा बेहोरेको थियो । यदि प्रतिबन्ध नरहेको भए गत त्रैमासिक बिक्री २.५ अर्ब डलरले बढ्ने अनुमान कम्पनीले गरेको छ । विश्लेषकहरूले भनेका छन्, ‘चीनको हालको कदमले आफ्नै चिप आत्मनिर्भरता योजनाप्रति प्रतिबद्धता देखाउँछ र ट्रम्प प्रशासनको चीनमा अमेरिकी एआई हार्डवेयर वर्चस्व कायम राख्ने योजनाको प्रतिरोध गर्ने संकेत दिन्छ ।‘’