ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने भएको छ । यसका लागि बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, बैंकले पुष्प व्यवसायी वा कृषकहरु लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको हो । साथै, फ्लोरिकल्चर एसोसिएशन नेपालले आफ्नो सदस्यहरुलाई बैंकको कृषि कर्जा योजनाको बारेमा जानकारी प्रदान गर्नेछ । यसबाट व्यवसायी तथा कृषकहरुको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिहरुको प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्नेछ । साथै यस सहकार्यले जलवायु अनुकुलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसाथ गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । बैंक र एसोसिएशन बीचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरुलाई लक्षित गरी वित्तीय पहुँच विस्तारको साथै फुल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ । ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
कलश स्टक मार्केट (ब्रोकर नं ७४) को सेयर शिक्षा कार्यक्रम सम्पन्न
काठमाडौं । कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले सेयर बजारमा आवद्ध लगानीकर्ताहरुको लागि २०८२ पौष ५ गते निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत व्यक्ति सेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई सेयर बजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पारे । काठमाडौंको बुद्धनगरमा रहेको क्वालिटि ब्याङ्केटमा सञ्चालन भएको उक्त तालिममा उल्लेख लगानिकर्ताहरुको सहभागिता रहेको थियो । यस कम्पनीले समय–समयमा देशको विभिन्न स्थानहरुमा र अनलाईनबाट संसारभर रहेका लगानिकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र निकट भविष्यमा समेत गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताए ।
नबिल बैंक ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ बाट सम्मानित
काठमाडौं । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका लागि उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । बैंकले प्रविधिको अधिकतम उपयोग गर्दै सेवाहरूलाई सरल, सुरक्षित र छरितो बनाउँदै आएको र यसले ग्राहकका दैनिकी व्यवसाय सञ्चालनलाई सहज बनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको सर्वाेत्कृष्ट ट्रान्ज्याक्सन बैंकका रूपमा नबिल बैंक सम्मानित हुनु गर्वको विषय भएको बताए । 'यो सम्मान हाम्रो निरन्तर मेहनत, नवप्रवर्तनप्रतिको प्रतिबद्धता र ग्राहकहरूको विश्वासको परिणाम हो । हामी हाम्रा सबै ग्राहक तथा कर्मचारीलाई लागि हार्दिक आभार व्यक्त गर्दछौँ', सीइओ ज्ञवालीले भने । विश्वभर बैंकिङ तथा वित्तीय क्षेत्रको मूल्यांकन गर्ने युरोमनी अवार्डलाई विश्वसनीय र सम्मानित अवार्डका रूपमा लिइन्छ । यस अवार्डमार्फत सेवा उत्कृष्टता, नवप्रवर्तन, रणनीतिक स्पष्टता र ग्राहक अनुभवमा अग्रणी संस्थाहरूलाई सम्मान गरिन्छ । सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो । जसले, बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्दछ । यो अवार्ड विश्वका १०० वटा देशमा सञ्चालन हुँदै आएको छ ।