चिलिमे हाइड्रोपावरले १२ प्रतिशत लाभांश दिने
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशतका दरले लाभांश दिने निर्णय गरेको हो । घोषित लाभांशमध्ये ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) रहेको कम्पनीले जनाएको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
एनएमबि बैंकले पायो डिजिटल सर्भिसेज् आइसीटी अवार्ड
काठमाडौं । एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ । यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन् । बैंकले नयाँ डिजिटल माध्यम मार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो । यस उपलब्धिले एनएमबि बैंकको डिजिटल प्रवर्धन र ग्राहककेन्द्रित सेवालाई प्रतिबिम्बित गर्दछ । एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
अप्पर हेवाखोला हाइड्रोपावरले १५.७८ प्रतिशत लाभांश दिने
काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीहरूलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सो दरमा लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लाभांश वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।