सिटिजन्स बैंक बन्यो एनसीएचएलको ईएफटी स्विचअन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी स्विच (Electronic Fund Transfer Switch) अन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बनेको छ । सिटिजन्स बैंक र एनसीएचएलबीच एनपीएस–नेसनल कार्ड स्विच अन्तर्गत डोमेस्टिक कार्ड स्किम सञ्चालनका लागि मंगलबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सिटिजन्स बैंक एनसीएचएलको ईएफटी स्विच (EFT Switch) अन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बनेको हो । यससँगै अब सिटिजन्स बैंकका एटीएम तथा पीओएस टर्मिनलहरूमा नेपालपे कार्डसहित भिसा, मास्टरकार्ड, युनियनपे लगायतका अन्तर्राष्ट्रिय कार्डहरू पनि स्वीकार गरिनेछन् । बैंकका ग्राहकहरूले छिट्टै एनसीएचएलद्वारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम ‘नेपालपे कार्ड’ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसले डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

एनसीएचएलका सीईओ प्रधान ‘म्यानेजर अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानलाई नेपाल व्यवस्थापन संघ (एनएमए) द्वारा आयोजित ४५औँ नेसनल म्यानेजमेन्ट कनभेन्सन २०२६ का अवसरमा ‘म्यानेजर अफ द इयर २०२५’ अवार्डबाट सम्मानित गरिएको छ । प्रधानलाई नेपालको डिजिटल भुक्तानी प्रणालीको विकासमा पुर्‍याएको उल्लेखनीय योगदान तथा उनको नेतृत्वमा एनसीएचएलले स्थापना तथा सञ्चालन गर्दै आएको विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरूको प्रभावलाई कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । उनको नेतृत्वमा एनसीएचएलले एनसीएचएल ईसीसी, एनपीएस, रिटेल पे, कनेक्ट आईपीएस, क्यूआर कोड, क्रस–बोर्डर पे, कार्ड, इफ्ट स्विच, आरटीजीएस लगायत १० भन्दा बढी राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ, जसले डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । सन् २०११ मा एनसीएचएलको कार्यभार सम्हालेका प्रधानले चेक क्लियरिङ प्रणालीबाट सुरुआत गरी संस्थालाई हाल नेपालको भुक्तानी पूर्वाधारको मेरुदण्डका रूपमा स्थापित गर्न सफल भएका छन् । नेपाल व्यवस्थापन संघले हरेक वर्ष व्यवस्थापन क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई ‘म्यानेजर अफ द इयर’ अवार्ड प्रदान गर्दै आएको छ । सोही कार्यक्रममा नेपालमा उल्लेखनीय योगदान पुर्‍याएका डा. युवराज खतिवडालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो ।

अप्पर रिचेत हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

काठमाडौं । अप्पर रिचेत हाइड्रोपावर प्रालिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी सम्झौता माघ २६ गते अप्पर रिचेत हाइड्रोपावर र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्पन्न भएको हो । सम्झौतामा अप्पर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । कम्पनीले हाल कायम ४० करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ। आईपीओ प्रक्रियाका लागि कम्पनीले आफूलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्ने तथा क्रेडिट रेटिङको कार्यसमेत अघि बढाइसकेको जनाएको छ । कम्पनीका अनुसार आगामी श्रावण–भाद्र महिनामा आईपीओ निष्कासन गर्ने लक्ष्य लिइएको छ । अप्पर रिचेत हाइड्रोपावरले २०८१ भदौदेखि विद्युत उत्पादन सुरु गरिसकेको छ । कम्पनीको आयोजना गोरखा जिल्लाको धार्चे गाउँपालिकामा अवस्थित रहेको छ । कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै सर्वसाधारणको जानकारीका लागि उक्त सूचना सार्वजनिक गरेको जनाएको छ ।