एसियन स्मार्ट एग्रो कम्पनीको साधारण सभा सम्पन्न, पुँजी वृद्धि गर्ने
काठमाडौं । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको साधारण सभा अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा सिराहाको लहानस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । फाल्गुण २ गते आयोजित सभाको उद्घाटन अध्यक्ष लामाले गरेका थिए । सभामा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित सञ्चालक तथा सेयरधनीलाई स्वागत गरेका थिए । साधारण सभामा सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३५ करोड रुपैयाँ पुर्याउने निर्णय गरिएको छ । त्यसैगरी, सेयर पुँजीको आधारमा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा सभाको माइन्युटमा हस्ताक्षर गर्ने अधिकार अध्यक्ष र सेयरधनी रामपुजन रायलाई दिने प्रस्ताव पनि पारित गरिएको छ । सभाको अन्त्यमा अध्यक्ष लामाले उपस्थित सबै सेयरधनी तथा सञ्चालकप्रति धन्यवाद ज्ञापन गर्दै विशेष साधारण सभाको समापन गरेका थिए ।
गरिमा क्यापिटलद्वारा नयाँ खुलामुखी लगानी योजना सार्वजनिक
काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रूपमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ । यस योजनाको कोष प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेड र योजना व्यवस्थापक सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड रहेको छ । १ अर्ब रुपैयाँ बराबरको यस योजना विकास बैंक कोष प्रवर्द्धक रहने गरी निष्कासन हुने नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना हो । प्रारम्भिक चरणमा ५० करोड रुपैयाँ बराबरको प्रति इकाई १० दरले ५ करोड रुपैयाँ इकाई सार्वजनिक निष्कासन गरिनेछ । यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । बैंकका अनुसार यो योजनाले सर्वसाधारण लगानीकर्तालाई सुरक्षित र दीर्घकालीन लगानीको अवसर प्रदान गर्नेछ । यसअघि गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्द्धकत्व र गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ सञ्चालनमा रहेको छ । कम्पनीले ‘गरिमा सुवर्ण योजना’मार्फत पुँजी बजारमा नयाँ लगानीकर्ताको सहभागिता बढ्ने र सामूहिक लगानी कोषप्रति विश्वास अभिवृद्धि हुने अपेक्षा गरेको छ ।
१३९ कम्पनीको सेयर मूल्य बढ्यो, ११ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) ८ अंकले बढेर २६७१ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १३९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३७ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ४३ करोड, राधी पावरको ४१ करोड, आँखु खोला जलविद्युतको ३९ करोड र तेरथुम पावरको ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मध्य भोटेकोशीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।