ग्रीनलाइफ हाइड्रोले आईपीओ जारी गर्ने, पायो बोर्डको स्वीकृति
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले १९.४२ प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार मात्रै यस संस्थालाई अंकित मूल्य १०० को ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।
चन्द्रागिरी हिल्सकाे आईपीओ शुक्रबार बाँडफाँड हुँदै, कहाँ र कति बजे ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ) माघ ९ गते शुक्रबार(भाेलि) बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले उक्त सेयरको बाँडफाँड शुक्रबार बिहान १० बजे काठमाडाैंकाे नक्सालस्थित रहेकाे आफ्नै केन्द्रिय कार्यालयमा गर्न लागेकाे हाे । क्यापिटलले आईपीओको प्रिअलोटमेन्ट भने हिजाे बुधबार नै गरिसकेको छ । जसअनुसार कूल १२ लाख ११ हजार ११५ जना आवेदकले २ करोड २८ लाख २० हजार २१० कित्ता सेयरको लागि दिएकाे आवेदन रितपूर्वक रहेका छन् भने बाँकी ४० हजार बढी आवेदन रद्द भएका छन् । पुस २८ गतेसम्म निष्काशन भएकाे कम्पनीकाे आईपीओमा कुल १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता सेयर माग गरेका थिए । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा साढे १७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले गत पुस २४ गतेदेखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको थियो । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरेको हो । याे पनि पढ्नुहाेस् चन्द्रागिरीको आईपीओ भर्नेलाई चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट, कहिलेसम्म पाइन्छ ?
राष्ट्रिय सहकारी बैंकको प्रतिस्पर्धी आउँदै, पब्लिकमा पनि जाने अवधारणामा प्रस्तावित नेपाल सहकारी बैंक
काठमाडौं । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकको प्रतिस्पर्धी आउन लागेको छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकले आवश्यकता अनुसारको गतिविधि संचालन गर्न नसकेको भन्दै नेपाल सहकारी बैंक स्थापनाको प्रस्ताव गरिएको छ । राष्ट्रिय सहकारी बैंकले आवश्यकता पूरा गर्न नसकेकोले सहकारी क्षेत्रलाई अझ व्यापक र परिणामुखी बनाउन नयाँ सहकारी बैंक स्थापनाको पहल गरिएको नेपाल सहकारी बैंक स्थापनाको लागि गठन गरिएको विज्ञ समुहका संयोजक डा. ज्ञानेन्द्र प्रसाद पौडेलले जानकारी दिए । ‘अहिले ३० हजार भन्दा बढी सहकारी संस्थाहरु संचालनमा छन्, नेपालको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण तीन खम्बामध्ये एक प्रमुख खम्बा मानेको छ, अहिले संचालनमा रहेको एकमात्र बैंकले राष्ट्रिय आवश्यकता पूरा गर्न नसकेको र सबैलाई मेट्न नसकेकोले नयाँ सहकारी बैंक स्थापनाको आवश्यकता बोध भएको हो,’ संयोजक डा. पौडेलले भने । अहिले नेपालभर ३० हजारभन्दा बढी सहकारी संघ÷संस्थाहरु संचालनमा छन् । यी संघ/संस्थाहरुले १० खर्ब रुपैयाँभन्दा बढीको पूँजी परिचालन गरी ३ लाखभन्दा बढी नागरिकहरुलाई रोजगारी उपलब्ध गराएका छन् । सहकारी संघ/संस्थाहरुबाट ७३ लाखभन्दा बढी नागरिकहरुले प्रत्यक्ष सेवा तथा सुविधाहरु प्राप्त गरेका छन् । सहकारी संघ÷संस्थाहरुमा ९७ अर्ब रुपैयाँभन्दा बढीको सेयर पुँजी छ । यस्तै, ४ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी बचत परिचालन भएको छ भने २ खर्ब २७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकमा २ अर्ब २२ करोड रुपैयाँ पुँजी रहेको छ भने करिब १२ हजार सहकारी संघ÷संस्था सहभागी भएका छन् । राष्ट्रिय सहकारी बैंकले करिब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३० अर्ब रुपैयाँको हाराहारीमा कर्जा लगानी गरेको छ । राष्ट्रिय सहकारी बैंकले सबै सहकारीलाई समेट्न नसकेको र समयको माग अनुसार परिमार्जित रुपमा सहकारी क्षेत्रलाई अघि बढाउनु पर्ने आवश्यकता पनि भएकोले नयाँ सहकारी बैंक स्थापना गर्न लागिएको डा. पौडेलले बताए । प्रस्तावित नेपाल सहकारी बैंक स्थापनाको लागि २ वटा कार्यदल बनाइएको छ । विज्ञ समुहको संयोजकमा डा. पौडेल छन् भने बैंक स्थापनार्थ गठित कार्यदलको संयोजक सुरेन्द्र भण्डारी छन् । भण्डारी लालिगुराँस बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । नेपाल सहकारी बैंक स्थापनाको लागि माघ १७ गते भेला आयोजना गरिएको छ । सो भेलाबाट बैंक स्थापनाको लागि सरोकारवाला निकायमा जाने निर्णय गर्नेछ । सहकारी ऐन अनुसार सहकारी बैंक स्थापनाको लागि सहकारी विभागमा निवेदन दिनुपर्नेछ । यही महिनाभित्रमा विभागमा निवेदन दिइसक्ने गरी तयारी भइरहेको डा. पौडेलले बताए । प्रस्तावित नेपाल सहकारी बैंकको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ, जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब रुपैयाँ बनाउन लागिएको छ । सहकारी बैंक स्थापना गर्नको लागि सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तिमा ५ सय १ वटा सहकारी संस्था संलग्न हुनुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म नयाँ सहकारी बैंक स्थापनाको लागि ५ सय ५० भन्दा बढी सहकारी संघ/संस्थाहरु आवद्ध भइसकेको र माघ १६ गतेसम्ममा करिब ७ सय संघ संस्था पुग्ने अनुमान गरिएको डा. पौडेलले जानकारी दिए । पब्लिकमा जाने अवधारणा सहकारी संघ/संस्थाहरुले सर्वसाधारणमा सेयर जारी गर्न पाउने कानुनी व्यवस्था छैन । तर, सहकारी संस्थाहरुले स्थापना गरेका कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने अन्तराष्ट्रिय अभ्यास भएकोले आफू त्यतातिर जाने तयारीमा रहेको डा. पौडेलले बताए ।