तयारी पोशाक व्यवसायीलाई सहुलियत कर्जा दिन त्रिपक्षीय सम्झौता
काठमाडाैं । तयारी पोशाक व्यवसायीलाई सहुलियत पूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएकाे छ । उक्त सम्झाैतामा मेगा बैंक नेपालका तर्फबाट प्रमुख, साना तथा मझौला कर्जा जनक भट्टराई, मेगा क्यापिटल मार्केट्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघको तर्फबाट अध्यक्ष किशोर नेपालले हस्ताक्षर गरेका हुन् । जसमा मेगा क्यापिटल मार्केट्सले तयारी पोशाक उत्पादन गर्ने उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ । यसले स्थानीय स्तरमा तयारी पोशाक उत्पादकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्धि तथा विस्तारमा सहयोग पुग्नु र यसबाट राष्ट्रको आत्मनिर्भरता अभियानमा टेवा पुग्नुका साथै साना तथा मझौला उद्ममी र उनीहरुसँग आवद्ध मजदुरको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।
नयाँ सहकारी बैंक स्थापनाले गति लियो, आज दर्ता हुने
काठमाडौं । सहकारी क्षेत्रको लागि अर्काे बैंक स्थापनाको प्रक्रियाले गति लिएको छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकले आवश्यकता पूरा गर्न नसकेको भन्दै नयाँ बैंक स्थापना गर्न लागिएको हो । आउन लागेको नयाँ बैंकको नाम नेपाल सहकारी बैंक प्रस्ताव गरिएको छ । बैंकको अध्यक्षमा लालिगुरास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र भण्डारी छन् । बैंक दर्ताको लागि आज साढे १२ बजे सहकारी विभागमा जाने कार्यक्रम रहेको प्रस्तावित बैंकका संचालनहरुले जानकारी दिए । राष्ट्रिय सहकारी बैंकले आवश्यकता पूरा गर्न नसकेकोले सहकारी क्षेत्रलाई अझ व्यापक र परिणामुखी बनाउन नयाँ सहकारी बैंक स्थापनाको पहल गरिएको नेपाल सहकारी बैंक स्थापनाको लागि गठन गरिएको विज्ञ समुहका संयोजक डा. ज्ञानेन्द्र प्रसाद पौडेलले जानकारी दिए । अहिले नेपालभर ३० हजारभन्दा बढी सहकारी संघ/संस्थाहरु संचालनमा छन् । यी संघरसंस्थाहरुले १० खर्ब रुपैयाँभन्दा बढीको पूँजी परिचालन गरी ३ लाखभन्दा बढी नागरिकहरुलाई रोजगारी उपलब्ध गराएका छन् । सहकारी संघ/संस्थाहरुबाट ७३ लाखभन्दा बढी नागरिकहरुले प्रत्यक्ष सेवा तथा सुविधाहरु प्राप्त गरेका छन् । सहकारी संघ/संस्थाहरुमा ९७ अर्ब रुपैयाँभन्दा बढीको सेयर पुँजी छ । यस्तै, ४ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी बचत परिचालन भएको छ भने २ खर्ब २७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकमा २ अर्ब २२ करोड रुपैयाँ पुँजी रहेको छ भने करिब १२ हजार सहकारी संघ/संस्था सहभागी भएका छन् । राष्ट्रिय सहकारी बैंकले करिब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३० अर्ब रुपैयाँको हाराहारीमा कर्जा लगानी गरेको छ । राष्ट्रिय सहकारी बैंकले सबै सहकारीलाई समेट्न नसकेको र समयको माग अनुसार परिमार्जित रुपमा सहकारी क्षेत्रलाई अघि बढाउनु पर्ने आवश्यकता पनि भएकोले नयाँ सहकारी बैंक स्थापना गर्न लागिएको डा. पौडेलले बताए । प्रस्तावित नेपाल सहकारी बैंकको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ, जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब रुपैयाँ बनाउन लागिएको छ । सहकारी बैंक स्थापना गर्नको लागि सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तिमा ५ सय १ वटा सहकारी संस्था संलग्न हुनुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म नयाँ सहकारी बैंक स्थापनाको लागि ५ सय ५० भन्दा बढी सहकारी संघरसंस्थाहरु आवद्ध भइसकेको र माघ १६ गतेसम्ममा करिब ७ सय संघ संस्था पुग्ने अनुमान गरिएको डा. पौडेलले जानकारी दिए । पब्लिकमा जाने अवधारणा सहकारी संघरसंस्थाहरुले सर्वसाधारणमा सेयर जारी गर्न पाउने कानुनी व्यवस्था छैन । तर, सहकारी संस्थाहरुले स्थापना गरेका कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने अन्तराष्ट्रिय अभ्यास भएकोले आफू त्यतातिर जाने तयारीमा रहेको डा. पौडेलले बताए । सम्बन्धित समाचार नेपाल सहकारी बैंकलाई काँग्रेसको पूर्ण सहयोग, उपसभापति भन्छन्- दर्ता प्रकृयामा जानुस्, कसैले रोक्न सक्दैन राष्ट्रिय सहकारी बैंकको प्रतिस्पर्धी आउँदै, पब्लिकमा पनि जाने अवधारणामा प्रस्तावित नेपाल सहकारी बैंक
प्रभु क्यापिटलले सञ्चालनमा ल्यायो ‘८ टु ८’ सेवा, के-के पाइन्छ ?
काठमाडौं । प्रभु क्यापिटलले ‘८ टु ८’ सेवा सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन लागू हुने गरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म विभिन्न सेवाहरु प्रदान गर्न लागेको हो । क्यापिटलले डिम्याट खाता सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले आफ्ना ग्राहकलाई नियमित कार्यालय समय बाहेक बिहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खाता सम्बन्धी सेवा प्रदान गर्ने भएको हो । क्यापिटलले बिहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजेसम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म ‘८ टु ८’ अन्तर्गत निम्नलिखित सेवाहरु प्रदान गर्ने छ । ‘८ टु ८’ अन्तर्गत पाइने सेवाहरु १. डिम्याट खाता खोल्ने, २. मेरो सेयर खाता खोल्ने, ३. डिम्याट र मेरो शेयर खाता नविकरण गर्ने, ४. मेरो सेयरको पासवर्ड रिसेट गर्ने, ५. भौतिक सेयरलाई अभौतिकीकरण कार्य गर्ने, ६. बैंक खाता लगायत डिम्याटका विवरणहरु अद्यावधिक गर्ने, ७. राफसाफको लागि डीआईएस लिने, ८. सेयर रोक्का राख्ने कार्य, आदि ।