नेप्सेमा ७ कम्पनीको सेयर कारोबार फकुवा, बिहीबारदेखि किनबेच गर्न पाइने (कुन कुनको)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबार रोक्का भएका विभिन्न ७ वटा कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । गत आर्थिक वर्षको विवरण नबुझाएर कारोबार रोक्का भएका कम्पनी मध्ये ७ कम्पनीले बुझाएसँगै नेप्सेले सो कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले गत माघ २६ गते मात्रै विभिन्न ११ वटा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएकाे थियो । जसमध्ये ७ कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेकोले उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको नेप्सेले जनाएको छ । जसमध्ये १ विकास बैंक, १ इन्स्योरेन्स, १ लघुवित्त र ४ हाइड्रो रहेका छन् । नेप्सेका अनुसार कर्णाली डेभलमपेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर कम्पनी, पाँचथरपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, र राधि विद्युत कम्पनीको दोश्रो बजार कारोबार फुकुवा भएको छ । यससँगै, यी कम्पनीको भोलि (माघ २९ गते) बिहीबारदेखि दोश्रो बजारमा कारोबार हुने छ र लगानीकर्ताले सेयर किनबेच गर्न पाउने भएका छन् ।

भुक्तानी सेवा दिने पेवेल नेपालको उद्घाटन, बिभिन्न कारोबारहरु डिजिटल माध्यममै गर्न सकिने

काठमाडौं । भुक्तानी सेवा प्रदाक कम्पनी पेवेल नेपाल प्रा.लि.ले सेवा शुभारम्भ गरेकाे छ । सोमबार नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणि शिवाकोटीले पेवेल सेवाको शुभारम्भ गरेका हुन् । वित्तीय, शैक्षिक, धितोपत्र, सहकारी, स्वास्थ्य, होटल, पर्यटन जस्ता व्यवसायीक क्षेत्रमा लामो समय अनुभव भएका व्यक्तिहरुको अग्रसरतामा पेवेल नेपाल सञ्चालनमा आएको हो । यसले डिजिटल भुक्तानी सम्बन्धि सेवा प्रदान गर्नेछ । पैसा पठाउन, पाउन र तिर्न पेवेल नेपाल भन्ने नाराका साथ सञ्चालनमा आएको पेवेलले खासगरी विद्युत, खानेपानी, हस्पिटल, होटल, रेस्टुराको विल, टेलिफोन, इन्टरनेट, स्कुल, कजेजको फि तिर्न, हवाइ टिकट खरिद गर्न लगायत अन्य युटिलिटिज सर्भिसेजहरुको भुक्तानी गर्ने सेवा प्रदान गर्नेछ । साथै यस कम्पनीले सहज, सस्तो, भरपर्दो र सुरक्षित तवरले रकम पाउन, पठाउन, डिपोजिट गर्न र झिक्न, सेयर खरिद विक्रीको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका सेवाहरुको डिजिटल माध्यमबाट भुक्तानी गर्ने सेवा प्रदान गर्ने जनाएको छ । यस कम्पनीको एप्लिकेशन पेवेल नेपाल (Paywell Nepal) एण्ड्रोइड मोबाइलको प्ले स्टोर र आइओएसको एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । माघ २७ र २८ गते एप डाउनलोड गर्नेहरुलाई एकाउन्टमा अटोमेटिक रुपमा एक सय रुपैयाँ जम्मा हुनेछ । पेवेलले भरपर्दो इन्टनेट सेवा नपुगेका स्थानमा अफलाइन प्रविधिमार्फत भुक्तानी सेवा प्रदान गर्ने तयारी गरिरहेको छ । पेवेलले आफ्नो वालेट प्रणाली अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक तथा नविनतम प्रविधिको प्रयोग गरेर निमार्ण गरेको दावी गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको साइवर सुरक्षा मापदण्ड सम्बन्धि सम्पूर्ण मापदण्ड पूरा गरेर कम्पनीको एप्लिकेशन डिजाइन तथा विकास गरेको कम्पनीले बताएको छ ।

सेयर बजार साढे ३ बजेसम्म खुल्ने

काठमाडौं । आज (मंगलबार) को सेयर बजार दिउँसो साढे ३ बजेसम्म खुल्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्जले एक सूचना जारी गर्दै मंगलबारको बजार दिउँसो ३ बजेर ३५ मिनेटसम्म खुला हुने बताएको हो । नियमित ३ बजेसम्म खुल्ला हुने बजार आज भने थप ३५  मिनेट बढी खुला हुने भएकाे हाे । कारोबार अवधिको समयमा सबै ब्रोकरको ट्रेडिङ्ग सिष्टममा ३५ मिनेट समस्या देखिएकोले कारोबारको समय थप गरिएको नेप्सले जनाएको छ ।