५ कम्पनीको धितोपत्र आवेदन खुला, थप १६ अर्ब रुपैयाँको आउँदै
काठमाडौं । पछिल्लो समय नेपाली पुँजी बजारमा विभिन्न प्रकारका धितोपत्र आउने क्रम जारी रहेको छ । बजारमा वाणिज्य बैंकदेखि म्युचुअल फण्डसम्मले धमाधम आईपीओ, लिलामी सेयर, म्युचुअल फण्ड, ऋणपत्र जस्ता विभिन्न किसिमका धितोपत्र जारी गरिरहेका छन् । हालै मात्र विभिन्न ५ कम्पनीले धितोपत्रको निष्काशन तथा बिक्री खुला गरिरहेका छन् । त्यस्तै, केही कम्पनीहरु भने धितोपत्र जारी गर्ने सबै प्रकृया सम्पन्न गरिसकेका छन् । र, उनीहरु मिति तय गरेर धितोपत्र निष्काशन गर्न तम्तयार भएर बसेका छन् । हाल धितोपत्र निष्काशन खुला गरेका कम्पनीमा दुई इन्स्योरेन्स, एक विकास बैंक, एक लघुवित्त र एक म्युचुअल फण्ड रहेका छन् । जसमध्ये युनियन लाइफ इन्स्योरेन्सले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरिरहेको छ । त्यस्तै, स्वावलम्बन लघुवित्त र प्रिमियर इन्स्योरेन्सले लिलामीमा सेयर बिक्री गरिरहेका छन् । त्यसैगरी, ज्योति विकास बैंकले ऋणपत्र र आरविवि मर्चेन्ट बैंकिङ्गले म्युचुअल फण्ड जारी गरिरहेको छ । यससँगै लिलामीमा सेयर बिक्री गर्ने बाहेक हाल कूल २ अर्ब २४ करोड ५० लाख रुपैयाँ बराबरको धितोपत्र बिक्री खुला भईरहेको छ । यूनियन लाइफ इन्स्योरेन्स यूनियन लाइफ इन्स्योरेन्सले आज (असार २४ गते) बाट ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले छिटोमा असार २८ गतेसम्ममा आवेदन दिइसक्नु पर्ने छ । स्वावलम्बन लघुवित्त स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले असार १८ गतेदेखि सेयर लिलामीमा राखेको छ । नबिल बैंकको स्वामित्वमा रहेको संस्थाले संस्थापक समूहको कूल १ लाख ८९ हजार ६५३ कित्ता सेयर लिलामीमा राखेको हो । उक्त सेयर न्यूनतम मूल्य ७ सय रुपैयाँका दरले बोलकबोल माध्यमबाट बिक्री खुला गरिएको हो । यससँगै इच्छुकले असार २९ गतेसम्ममा न्यूनतम ७ सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा खरिद गर्न सक्नेछन् । प्रिमियर इन्स्योरेन्स प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले पनि संस्थापक समूहको ५ लाख ४८ हजार २५ कित्ता सेयर लिलामी राखेको छ । इन्स्योरेन्सले उक्त सेयर असार १६ गतेदेखि प्रतिकित्ता न्यूनतम ६ सय रुपैयाँमा बिक्रीमा राखेको हो । यससँगै खरिद गर्न चाहनले असार २५ गतेभित्र बोलपत्र आवेदन पेश गर्नु पर्ने हुन्छ । आरविवि म्युचुअल फण्ड १ राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्गले आरविवि म्युचुअल फण्ड अन्तर्गत आरविवि म्युचुअल फण्ड १ सञ्चालमा ल्याएको छ । मर्चेन्टले असार २३ गतेदेखि प्रति इकाई १० रुपैयाँ रहेको १० करोड इकाई निष्काशन गरिरहेको छ । यससँगै इच्छुकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सक्नेछन् । मर्चेन्टले छिटोमा असार २७ गतेसम्म र ढिलोमा साउन ६ गतेसम्म बिक्री गर्ने जानकारी गराएको छ । ज्योति विकास बैंकको ऋणपत्र ज्योति विकास बैंकले असार २० गतेदेखि एक अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरिरहेको छ । बैंकले असार २० गतेदेखि १० वर्ष अवधिको उक्त ऋणपत्र निष्काशन तथा बिक्रीमा राखेको हो । जसको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको छ । यससँगै इच्छुकले साउन ३ गतेसम्म न्यूनतम २६ कित्तादेखि अधिकतम ३० लाख कित्तासम्मको लागि उक्त ऋणपत्रमा आवेदन दिन सक्नेछन् । ४ कम्पनीले धितोपत्र जारी गर्दै त्यस्तै, बजारमा विभिन्न ४ वटा कम्पनीको धितोपत्र आउँदै छन् । उनीहरुले कूल ११ करोड ६१ लाख ३५ हजार ५५८ कित्ता धितोपत्र जारी गर्दै छन् । जसमध्ये दुई कम्पनीले ऋणपत्र, एकले हकप्रद र एकले लिलामीमा सेयर जारी गर्दै छन् । ऋणपत्र जारी गर्नेमा दुबै वाणिज्य बैंक रहेका छन् । हकप्रद जारी गर्नेमा हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) रहेको छ । जसले हालसम्मकै उच्च रकमको हकप्रद जारी गर्न लागेको हो । त्यस्तै, समृद्धि फाइनान्सले भने लिलामीमा सेयर बिक्री गर्न लागेको हो । एचआईडीसीएल हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले आगामी साउन ५ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि एक सय अंकित दरका ११ करोड कित्ता अर्थात ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । यससँगै योग्य लगानीकर्ताले साउन ५ गतेदेखि साउन २५ गतेभित्रमा कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । गत जेठ २७ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् । लक्ष्मी बैंक लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रको बिक्री खुला गर्दैछ । बैंकले आगामी असार २८ गतेदेखि उक्त ऋणपत्र खुला गर्न लागेको हो । जसमा इच्छुकले छिटोमा असार ३१ गते र ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । १० वर्षे अवधिको यस ऋणपत्रमा ८.५ प्रतिशत ब्याजदर पाइने छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले आगामी असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सो दिन ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामको एक हजार रुपैयाँ दरको ३० लाख थान ऋणपत्रको निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । जसमा वार्षिक ८.५ प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ बैंकले जनाएको छ । ऋणपत्र किन्न चाहने इच्छुकले असार ३१ गतेदेखि छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन १७ गतेसम्म खरिद गर्न सक्नेछन् । सर्वसाधारणहरुले न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्ने छन् । समृद्धि फाइनान्स समृद्धि फाइनान्स कम्पनीले आगामी असार २९ गते मंगलबारदेखि ११ लाख ३५ हजार ५५८ कित्ता सेयर लिलामीमा राख्दै छ । कम्पनीले बिक्री नभएको सो मात्राको सेयर आगामी साउन ५ गतेसम्म बिक्री खुला गर्ने भएको छ । कम्पनीले गत असार ३ गतेदेखि असार १० गतेसम्म हकप्रद सेयर बिक्रीमा राखेको थियो । जसको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यससँगै इच्छुकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ ।
बोटलर्स नेपाल (तराई) भन्छ: ५ वर्षसम्म पनि लाभांश लिन आएनन् लगानीकर्ता
काठमाडौं । बोटलर्स नेपाल (तराई)का सेयरधनीले ५ वर्ष पुग्दा पनि लाभांश नबुझेका छैनन् । केही सेयरधनीले हालसम्म पनि आर्थिक वर्ष २०७१/७२ सालको लाभांश लिन नगएका कम्पनीले बताएको हो । कम्पनीका अनुसार गत २०७२ साल पुस २८ गते सम्पन्न कम्पनीको आर्थिक वर्ष २०७१/७२ को पारित लाभांश सेयरधनीले लिएका छैनन् । उक्त लाभांश सम्बन्धित सेयरधनीले वा निजको हकवालाले ५ वर्ष पुगिसक्दा पनि हालसम्म लिन नआएको तथा दावी समेत नपरेको कम्पनीको भनाई छ । यससँगै उक्त लाभांश भुक्तानी गर्न कम्पनीले सेयरधनीलाई आग्रह गरेको छ । जसको लागि लगानीकर्ताले कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा सम्पर्क गर्न सक्नेछन् । उनीहरुले आफ्नो सेयर प्रमाणपत्रका साथ परिचय पत्र लिई आजको मितिबाट एक महिनाभित्रमा सम्पर्क गर्नुपर्ने हुन्छ । यदि सो अवधिभित्र लाभांश लिन नगएमा उक्त लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गराएको छ । सो कोष कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापित भएको हो ।
एनआइबिएल सहभागिता फण्ड तेश्रो वर्षमा, लगानीकर्ताले आजै दुई गुणासम्म लगानी बढाउन पाउने
काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजना एनआइबिएल सहभागिता फण्डले संचालनको दोस्रो वर्ष पार गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा खुलामुखी योजनाको परिचय दिन सफल भएको हो । खुलामुखी योजानाले सञ्चालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै इकाईधनीहरुको लागि ८.२५ प्रतिशत नगद लाभांश समेत प्रदान गर्न सफल भएको थियो । असार २२ गतेको तथ्याङ्क अनुसार रहेको यो योजानाको प्रति इकाई खुद मूल्य १७ रुपैयाँ २१ पैसा पुगेको छ भने योजानाको आकार ३१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । योजनाको अंकित मूल्य १० रुपैयाँ रहेको छ । योजना व्यवस्थापक, एनआईबिएल एस क्याप्टिलले एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा लगानीकर्तालाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजाना गत आइतबार असार २० गतेदेखि आज बिहीबार असार २४ गतेसम्मको लागि ल्याएको छ । यससँगै यो योजनामा हालसम्म सहभागी नभएका लगानीकर्ता आज अन्तिम दिन दिउँसो ३ बजेसम्ममा सहभागी हुन सक्नेछन् । योजनाको नतिजा आगामी साउन १५ गते गोलाप्रथाद्वारा फेसबुकल लाइभ मार्फत गरिनेछ । र, योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिने र पूर्व निर्धारित नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिने क्यापिटलले जनाएको छ ।