मैलुङ खोला जलविद्युतले साउन १४ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आगामी साउन १४ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण सेयर निष्काशन गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिने छ । यससँगै, सर्वसाधारणले साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ भर्न सक्नेछन् । उनीहरुले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरको लागि आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

भोलि बुधबार सेयर बजार बन्द

काठमाडौं । भोलि (साउन ६ गते) बुधबार सेयर बजार बन्द हुने भएको छ । सरकारले देशभर सार्वजनिक बिदाको घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो । गृह मन्त्रालयले एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद-उल-अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । उक्त निर्णय साउन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन सेयर कारोबार पनि बन्द गराउँदै आएको छ । यससँगै, अबको सेयर कारोबार साउन ७ गते बिहीबार मात्रै नियमित खुल्ने छ । मंगलबारको बजारमा उतारचढाव देखिएको छ । सो दिन नेप्से परिसूचक ९ अंकले घटेर २९८५ बिन्दुमा झरेको छ । बजारमा परिसूचकसँगै सेयर कारोबार पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब बढीको सेयर किनबेच भएको बजारमा मंगलबार जम्मा ७ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेपाल एग्रो लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज(साउन ५ गते) मात्रै संस्थाको १४ प्रतिशत अर्थात ८० हजार १४२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, उक्त लाभांश सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।