प्रोग्रेसिभ फाइनान्सले सञ्चालनमा ल्यायो ऋण अटोमेसन प्रणाली

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले एसबी सल्युसन प्रा.लि (भगिनी संस्था: डिजिहब प्रा.लि) सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । जसमा प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो प्रणाली सञ्चालनमा आएसँगै संस्थाको इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । प्रोग्रेसिभ फाइनान्स, राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । प्रोग्रेसिभ फाईन्सको लगभग १ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढि शाखाहरु रहेका छन् । एस्.बी. सोलुसन्स्ले डिजिहब सँगको सहकार्यमा बैंक तथा बित्तिय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट- एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ । साथै, पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ ।

सेन्ट्रल फाइनान्सको बोनस सेयर सूचीकृत

काठमाडौं । सेन्ट्रल फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आज (साउन ११ गते) मात्रै ७ प्रतिशत अर्थात ५ लाख ७६ हजार ३७८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ३ प्रतिशत नगद लाभांश पनि वितरण गरिसकेको छ । संस्थाको केन्द्रीय कार्यालयसहित १५ वटा शाखा सञ्चालनमा रहेको छ । र, संस्थाले झापाको बिर्तामोडमा पनि शाखा थप गर्न लागेको छ । संस्थाले ललितपुरको कुपण्डोलमा निर्माण गरेको आफ्नै नयाँ कर्पोरेट भवनबाट यही साउन महिनाबाट वित्तीय कारोबार सञ्चालन गर्न लागेको छ । बोनस सेयर वितरण पश्चात संस्थाको चुक्ता पुँजी ८८ करोड १० लाख रुपैयाँ रहेको छ । संस्थाको निक्षेप ५ अर्ब ५१ करोड रुपैयाँ र कर्जा लगानी ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

सेयर बजारमा रेकर्ड ब्रेक, बैंकिङ्ग समूहमा देखिन थाल्यो रौनक

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार नयाँ उचाईमा पुगेको छ । आज कारोबार खुलेदेखि उकालोको बाटो तय गरेको बजारले अन्ततः यसअघिको रेकर्डलाई पछि पार्दै नयाँ कीर्तिमान राख्न सफल भएको छ । बजारमा नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६४ बिन्दुमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा १.८१ प्रतिशतले बढी हो भने हालसम्मकै दैनिक क्लोजिङ्को ऐतिहासिक बिन्दु हो । तर, यो बिन्दु दैनिक क्लोजिङ्को ऐतिहासिक भएपनि नेपाली पुँजीबजारको ऐतिहासिक बिन्दु भने होइन । किनभने यसअघि गत असार १ गतेको बजारमा (इन्ट्राडे मै) नेप्से परिसूचक ३०६४.०७ बिन्दुको उचाईसम्म पुगेको थियो । तर, पछि कारोबार बन्द हुँदा भने परिसूचक ३०२२.११ बिन्दुमा फर्केकाे थियाे । एक महिना यताकै उच्च कारोबार आजको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन २२३ कम्पनीको १४ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत एक महिना यताकै उच्च कारोबार हो भने अघिल्लो कारोबारको तुलनामा ३ अर्ब १२ करोड रुपैयाँले बढी हो । गत एक महिना अघि अर्थात असार २ गतेको बजारमा १५ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयता हालसम्म सो मात्राको सेयर किनबेच भएको थिएन । बढी कारोबार गर्नेको टप टेनमा अधिकांश वाणिज्य बैंक पछिल्लो समय बजारमा बैंकिङ्ग समूहमा रौनक देखिन थालेसँगै कारोबार रकममा टेवा पुगेको छ । आइतबार बढी कारोबार गर्नेको टप टेनमा अधिकांश वाणिज्य बैंक रहेका छन् । उक्त सूचीमा वाणिज्य बैंक मात्रै ७ वटा रहेका छन् । जसमध्ये पनि तीन वाणिज्य बैंक बढी कारोबार गर्नेको शीर्ष स्थानमा रहेका छन् । नेपाल बैंकको ४९ करोड ७६ लाख, ग्लोबल आईएमई बैंकको ४९ करोड ४४ लाख र एनसीसी बैंकको ३४ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया, प्रभु, कुमारी र मेगा बैंक पनि बढी कारोबार गर्नेको टप टेनमा रहेका छन् । जसको २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, बजारमा ९ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।