सहकारीको व्याजदर नबढ्ने, तरलता सहज हुने निष्कर्ष

काठमाडौं । सहकारीको सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिले सन्दर्भ व्याजदर नबढाउने संकेत दिएकाे छ । समितिले यसअघि सहकारीहरुको सन्दर्भ व्याजदर बढाउने तयारी गरिरहेको भएपनि पछिल्लो केही दिन यता बैंकहरुमा तरलताकाे समस्या हल हुँदै गएकाे निष्कर्षसहित व्याजदर बढाउने जनाए दिएकाे हाे । यसअघि सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिमा सदस्य समेत रहेका सहकारी अभियानकर्मीहरु व्याजदर बढाउनका लागि दवाव दिँदै आएका थिए । तर, अब व्याजदर उनीहरू नै व्याजदर बढाउन नपर्ने निष्कर्षमा पुगेका छन् । सहकारी विभागका रजिष्ट्रार झलक राम अधिकारीले तत्कालका लागि व्याजदर नबढ्ने बताए । उनका अनुसार पछिल्लो केही दिन तरलताको सहज अवस्था देखिने संकेत देखिएकोले व्याजदर बढाउने गरी बैठक पनि स्थगित गरिएकाे हाे । ‘हामीले पुस १५ गते समितिको बैठक बोलाएका थियौं, त्यो दिन धेरैको राय बाझिएकोले बैठक स्थगित भयो, बुधबारका लागि बोलाएका थियौं, हिजो आज तरलता सहज हुने समाचारहरु आएपछि हामीले पनि बैठक स्थगित गर्यौं,’ उनले विकासन्युजसँग भने । यसअघि व्याजदर पुनरावलोकन गर्ने भन्दै बुधबारका लागि समितिको बैठक बोलाइएको थियो । तर, सो बैठक स्थगित भइसकेकाे छ । यसअघि पनि ब्याजदर बढाउनकै लागि भनेर पुस १५ गते बैठक बोलाइएको थियो । सो बैठक पनि बिना निश्कर्ष सकिएको थियो । सो बैठकमा समितिका केही सदस्यहरुले तत्कालका लागि व्याजदर बढाउनु पर्ने आधार नभएको भन्दै पछिका लागि बस्ने भन्दै बैठक टुङ्गिएको थियो । अभियानकर्मीहरुले हालको १४.७५ प्रतिशत सन्दर्भ व्याजदरलाई बढाएर १६.७५ प्रतिशतसम्म पुर्याउनु पर्ने माग गर्दै आएका थिए । सहकारी ऐन–२०७४ को दफा ५१ मा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था छ । सहकारी विभागका रजिष्टार संयोजक रहेको समितिमा सहकारी मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रि सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रि सहकारी बैंक र सहकारी विभागकै उप–रजिस्टार सदस्य रहने व्यवस्था छ ।

वित्तीय परामर्श दिन नयाँ विकल्पसहित मुद्रा कन्सल्ट सञ्चालनमा

काठमाडौं । वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने तथा सूचनामा आधारित भएर सेवाग्राहीले निर्णय लिन सकुन् भन्ने उद्धेश्यसहित अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा राजधानीको कमलपोखरीमा कार्यालय खोलेर ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । सञ्चालक माधवप्रसाद चम्लागाईले यस कम्पनीले आफ्नो व्यवसाय वृद्धिको लागि वित्तीय संस्थाबाट सेवा लिनको लागि आवश्यक कागजात तयारी गरिदिने, सुलभ, सरल र सहज रुपले विभिन्न विकल्पसहित परामर्श उपलब्ध गराउने बताए । मुद्राले आफ्नो व्यवसाय विस्तारको लागि झन्झटिलो बैङ्किङ प्रकृयाको कारण कागजात नपुगेर भौंतारिइरहेका सेवाग्राहीलाई परामर्श दिने तथा कागजात तयार गर्न सहजीकरण गर्नेछ । उनले भने, ‘वित्त क्षेत्रमा सेवाग्राहीले स–साना कामका लागि धेरै दुःख खेप्नुपर्ने अवस्थालाई सरल र सहज ढङ्गले सम्पूर्ण सेवा प्रदान गर्नका लागि मुद्रा कन्सल्ट खोलिएको हो । विस्तृत बजार अनुसन्धान, अनुभवी सेवा सल्लाहकार र सेवाग्राहीको आवश्यकतालाई बुझेर मुद्रा कन्सल्टले सेवा प्रदान गर्छ । प्रविधिमैत्री नयाँ पुस्ताले घरमा नै बसीबसी सेवा लिन सक्ने वातावरण बनाउने हाम्रो प्रयास हुनेछ ।’ सेवाग्राहीको आवश्यकताका आधारमा अडिटिङ गर्ने, काजगात तयार गर्ने, वित्तीय परामर्श उपलब्ध गराउने तथा बैंक एवं वित्तीय संस्थाहरुसँग सहकार्य गरी सेवाग्राहीको आवश्यकता अनुसारको सेवा सुविधा सर्वसुलभ ढंगले प्राप्त गर्ने सुनिश्चित्तता प्रदान गरिने चम्लागाईले बताए । उनका अनुसार व्यापार प्रक्षेपण अथवा अनुमान र सम्भाव्यता विश्लेषण तयारीको कामसमेत मुद्रा कन्सल्टले गर्छ । चम्लागाई भन्छन्, ‘हामीसँग एक पटक जोडिएपछि सेवाग्राहीले लामो समयसम्म सेवा पाउनु हुनेछ । प्रविधिमैत्री ढंगले विज्ञहरुमार्फत सबै काम गर्ने भएकाले हामीसँग जोडिएका सेवाग्राहीले घरमै बसीबसी सेवा पाउने वातावरण बनाउन खोजिरहेका छौं ।’ उनले निजीदेखि सरकारी बैंकमासमेत सामान्य कागजात नपुग्दा तथा सामान्य त्रुटीका कारण पनि आफ्नो काम गर्नबाट बन्चित हुने समस्याबाट मुक्तिको लागि वित्तीय क्षेत्रका अनुभवी विज्ञ टिमबाट सेवा दिन ‘मुद्रा कन्सल्ट’ संचालनमा ल्याएको बताए । मुद्राले आगामी दिनमा वित्तीय साक्षरता सम्बन्धी काम गर्दै वित्तीय साक्षरता बढाउने योजना बनाइरहेकोसमेत उनले बताए । उनले भने, ‘प्रविधिमैत्री सेवा सुविधा उपलब्ध गराउने योजना अनुरुप निकट भविष्यमा नै मुद्राले नियमित सेवाग्राहीलाई महत्वपूर्ण कागजात राख्ने गरी आर्काइभ सुविधासमेत दिनेछ । केही सेवाहरु मुद्रा कन्सल्ट डट कममार्फत शुरु भइसकेको छ । अन्य सेवाहरुको लागि थप काम भइरहेको छ ।’

संचयकोषले जग्गा किन्न ५० लाखसम्म सापटी दिने, व्याजदर ७.९ प्रतिशत

फाइल फाेटाे काठमाडौं । कर्मचारी संचयकोषले संचयकर्तालाई जग्गा खरिद गर्न पनि सापटी दिने भएको छ । यसअघि नयाँ घर किन्न तथा बनाउनेका लागि मात्रै सापटी दिने गरेको कोषले अबदेखि भने जग्गा किन्न पनि सापटी दिने भएको हो । कोषको केही दिन अघि बसेको संचालक समिति बैठकले संचयकर्ता सापटी कार्यविधि संशोधन गर्दै जग्गा खरिद गर्नको लागि पनि सापटी दिने बाटो खुल्ला गरेको हो । कोषले दिने सापटी कोषका संचयकर्ताको लागि मात्रै हो । एक बर्ष नियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ बर्ष सेवा बाँकी रहेका संचयकर्तालाई जग्गा खरिद गर्न सापटी दिन लागिएको कोष स्रोतले जानकारी दियो । जग्गा खरिद गर्नको लागि सापटी दिन योग्य संचयकर्तालाई १० वर्ष अवधिको तलब वा ५० लाख रुपैयाँसम्मको सापटी दिइने कोषले जानकारी दियो । यसरी किनिएको जग्गा भने संचय कोषमा धितोको रुपमा राखिनेछ । ‘खरिद गर्न खोजिएको जग्गा पास गर्नेुअघि नै संचयकर्ताले हामीलाई आवश्यक कागजपत्रसहित जानकारी गराउनु पर्नेछ, कोषले सापटी दिनको लागि आवश्यक प्रक्रिया पूरा गरेपछि जग्गा विक्री गर्ने व्यक्ति वा कम्पनीलाई हामीले दिने सापटी बराबरको रकम दिने भनेर पत्र दिन्छौं, त्यही पत्रका आधारमा जग्गा पास गर्न मिल्छ, संचयकर्ताको नाममा जग्गा आइसकेपछि जग्गा विक्री गर्ने व्यक्तिलाई हामीले भुक्तानी गरिदिन्छौं,’ कोष स्रोतले भन्यो । कोषले संचयकर्तालाई घर खरिद गर्नको लागि दिने सापटीमा पनि यही विधि अपनाउँदै आएको छ । कोषबाट लिइएको सापटी रकम भुक्तानी अवधि भने १० वर्षको हुनेछ । सापटी भुक्तानीको लागि वार्षिक वा तीन तीन महिनामा किस्ता बुझाउन सकिनेछ । यस्तो सापटीको व्याजदर अहिले वार्षिक ७.९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको व्याजदर दोहोरो अंकमा पुगेको अहिलेको अवस्थामा कोषले दिने सापटी रकमको व्याजदर निकै कम हो ।