कर्णालीमा ५ दिनदेखि हवाई सेवा ठप्प, पहिरोले सबै राजमार्ग अवरुद्ध
काँक्रेविहार । मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाई सेवा ठप्प छ । यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको छैन । यस्तै कर्णाली करिडोर र भेरी करिडोर पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध छ । सल्यान हुँदै रुकुमपश्चिम आउने यातायात सेवासमेत ठप्प छ । निरन्तर पानी परेपछि मुगुका लागि बाँकेको नेपालगञ्जबाट उडान हुनसकेको छैन । वर्षाका कारण नेपालगञ्जबाट हवाई उडान हुन नसकेको रारा हवाई नागरिक उड्डयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालले बताए । उनले भने, ‘उडान बन्द भएपछि मुगुबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु तथा नेपालगञ्ज र सुर्खेतबाट मुगु आउने यात्रु विमानस्थलमै रोकिएका छन् ।’ मौसममा सुधार नआएसम्म हवाई उडान हुन नसक्ने प्रमुख रिमालले बताए । हवाई सेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीका अनुसार त्यहाँ पाँच दिनदेखि हवाई सेवा अवरुद्ध छ । हुम्लामा पनि वर्षाले हवाई सेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाईसेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । हवाई सेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् । हुम्ला र मुगुमा नेपालगञ्जबाट तारा, समिट र सीता एयरलाइन्सले उडान भर्दै आएका छन् । यसैगरी पहिरो खसेपछि कर्णाली राजमार्गको कालिकोट सडकखण्ड बन्द भएको छ । कालिकोटको हुल्म बजार, गगनेखोला, झाम्लाखोलालगायत ठाउँमा पहिराले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । यस्तै, अमेलिया–तुलसीपुर–शीतलपाटी–थारमारे–मुसिकोट सल्यानमा अवरुद्ध छ । ग्रामीण क्षेत्रमा सञ्चार सेवासमेत अवरुद्ध भएको छ । रुकुमपूर्व र पश्चिमलाई मुख्य राजमार्ग र सहरसँग जोड्ने राप्ती लोकमार्ग र मध्यपहाडी राजमार्गको यात्रा बर्खायाममा जोखिपूर्ण हुने गरेको छ । तुलनात्मक रूपमा राप्ती लोकमार्गभन्दा मध्यपहाडी राजमार्ग यतिबेला जोखियुक्त छ । निर्माणको अन्तिम चरणका रहेको यो मार्गअन्तर्गत रुकुम पूर्वपश्चिम खण्डका दर्जनौँ ठाउँमा पहिरो खस्ने, सडक भासिने र खहरे बढेर आवागमन अवरुद्ध हुने गरेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरेलले जानकारी दिए । पूर्वको बागलुङ सिमाना आसपास, धौलापहिरा, रानीकोट र खोपिराचार आसपास तथा पश्चिमको किटेनी भिर, खरखरे, सिम्ली आसपास, चाइनागर आसपास र कालेखोलालगायत ठाउँमा पहिरोले जोखिम बढेको इन्जिनियर खरेलले बताए । त्यस्तै रुकुमपूर्व जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी राजमार्गमा अत्यावश्यकबाहेक यात्रा नगर्न सूचना जारी गरेको छ । प्रजिअ माधवप्रसाद शर्माले मध्यपहाडी राजमार्गको यस खण्डमा यात्रा गर्दा सुरक्षालाई ध्यान दिन र अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरिएको बताए । रासस
चार दिनदेखि रारा विमानस्थलकाे हवाई सेवा अवरुद्ध
मुगु । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका छन् । तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाडौं जानुपरेको बताए । ‘मौसममा सुधार आउने अवस्था नदेखेपछि बसको टिकट काट्न बाध्य भए,’ उनले भने । निरन्तरको वर्षाले चार दिनदेखि नेपालगञ्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए । उनका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगञ्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगञ्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएका छन । आज पनि मौसमका कारण उडान हुने सम्भावना न्यून छ । हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् । हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन । यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन÷चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ ।
पुनःनिर्माण सम्पन्न भए पनि अवलोकनका लागि अझै खुलेन काष्ठमण्डप
काठमाडौं । पुनःनिर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरूपमा क्षति भएको काष्ठमण्डप पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिले गत वर्ष असोज १५ गते नै काठमाडौं महानगरपालिकालाई कार्यसम्पन्न प्रतिवेदन बुझाइसकेको छ । महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार पुनःनिर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ । प्रतिवेदन अध्ययनको काम पूरा भएसँगै काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्नेबारे यकिन हुने प्रमुख राईले बताए । निर्माण समितिले बुझाएको प्रतिवेदनलाई प्राविधिक, आर्थिक र कानुनी पक्षबाट अध्ययन गर्ने काम भइरहेको छ । विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनःनिर्माण समिति गठन भएको थियो । काष्ठमण्डप पुनःनिर्माण गर्न २०७५ जेठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने र खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने निर्णय भएको थियो । यसका लागि २०७५ जेठ २९ गते कामपा र समितिबीच पुनःनिर्माणका लागि सम्झौता भएको थियो । सम्झौतापछि काम सुरु गर्न कामपाले समितिलाई रु ५० लाख उपलब्ध गराएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते पाँच करोड, २०७६ माघ ९ गते पाँच करोड र २०७८ असार १६ गते एक करोड उपलब्ध गराएको प्रमुख राईले बताए । पुनःनिर्माणका लागि महानगरले उपलब्ध गराएको ११ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन तथा संरक्षण गर्न समितिले कामपालाई आग्रह गरेको छ । काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरुपमा पुनःनिर्माण गरिएको हो ।