फाइभजी चल्ने मोबाइल कम भएपछि रोकियो ट्रायल
काठमाडौं । नेपाल टेलिकमले फाइभजी चल्ने मोबाइल फोनको संख्या न्यून रहेको भन्दै ‘फाइभ जी परीक्षण’ स्थगित गरेको छ । टेलिकमले जनवरी १ तारिखबाट बबरमहल र सुन्धारा क्षेत्रमा फाइभजी को परीक्षण गर्ने तयारी गरेको थियो । तर फाइभ जी चलाउने प्रणाली अनुसार फाइभजी चल्ने मोबाइल फोनको संख्या न्यून रहेको पाइएपछि परीक्षण स्थगित गरिएको कम्पनीले जनाएकोे छ । फाइभजी परीक्षणको सम्पूर्ण आन्तरिक सम्पूर्ण तयारी भएपनि केही प्राविधिक कारण अन्तिममा परीक्षण रोकिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । तोकिएको समयमा परीक्षण नभएपछि थप तयारी गरेर परीक्षण गर्ने कम्पनीले जनाएको छ । परीक्षणका लागि टेलिकमले उपकरण, प्रविधि जडानसहित जनशक्तिलाई तालिमसहितका तयारीहरु सकाइसकेको छ । फाइभजी परीक्षणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको थियो ।
अमेरिकी प्रतिबन्धको मारमा परेको हुवावे पूर्ववत अवस्थामा फर्कियो
एजेन्सी । चिनियाँ विशाल प्रबिधि कम्पनी (हुवावे)ले अमेरिकी प्रतिबन्धका बावजुद पनि सन् २०२२ का लागि वार्षिक आम्दानी स्थिर रहने अनुमान गर्दै ‘व्यवसायमा पूर्ववत अवस्थामा’ फर्किएको शुक्रबार जनाएको छ । दूरसञ्चार उपकरण, स्मार्टफोन र अन्य उन्नत उपकरणहरूको अग्रणी आपूर्तिकर्ता, हुवावेलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले साइबर सुरक्षा र जासूसी चिन्ताको कारण कारबाहीस्वरूप प्रतिबन्ध लगाएको थियो । ट्रम्पका उत्तराधिकारी जो बाइडेनले विश्वव्यापी आपूर्ति श्रृंखलामा हुवावेको पहुँचलाई खतरामा पार्ने पूर्ववत् अमेरिकी सरकारको नियमहरूसँगै कम्पनीमाथिको प्रतिबन्धलाई थप मजबुत पारेका थिए । हुवावेका अध्यक्ष एरिक जुले नयाँ वर्षको शुभकामना सन्देशमा कम्पनीको अवस्था सकारात्मक रहेको टिप्पणी गरेका छन् । ‘सन् २०२२ मा हामीले सफलतापूर्वक आफूलाई सङ्कटको मोडबाट बाहिर निकालेका छौं । अमेरिकी प्रतिबन्धहरू अब हाम्रो लागि सामान्य हो’, उनले पत्रमा भनेका छन् । ‘हामी सामान्य रूपमा व्यवसायमा फर्केका छौं’, उनले थपे । कम्पनीले सन् २०२२ का लागि वार्षिक आम्दानी ६३६.९ अर्ब युआन (झण्डै ९२ अर्ब अमेरिकी डलर) हुने अनुमान गरेको छ, जुन सन् २०२१ को ६३६.८ अर्ब युआनभन्दा केही बढी हो । अमेरिकी नेतृत्वको प्रतिबन्धले हुवावेको दूरसञ्चार उपकरण र स्मार्टफोन व्यवसायको ठूलो हिस्सा ओगट्न थालेपछि हुवावेले राजस्व प्रवाहमा विविधता ल्याएको बताएको थियो ।
एमडीएमएस सिष्टम तत्काल लागू नहुने, पछि हट्यो सरकार
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागु नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले तत्काललाई एमडीएमएस लागू नगर्न निर्देशन दिएपछि रोकिएको हो । नेपाल दूूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि एमडीएमएस लागु गर्दै दर्ता बीनाका फोन सञ्चालनमा रोक लगाएको थियो । प्रधानमन्त्रीले नै तत्काल एमडीएमएस प्रणाली लागु नगरौ भनेपछि तत्कालका लागि रोकिएको प्राधिकारणका अध्यक्ष पुरुषोतम खनालले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशन पछि एमडीएमएस अनिश्चीत बनेको हो । मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थाले विदेशबाट फर्कने नागरिकले थप सास्ती पाउने भन्दै यसको चर्को आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि प्रधानमन्त्रीले निर्देशन दिएका हुन । ‘हामीलाई प्रधानमन्त्री ज्यूले नै तत्काल लागु नगँरौ भन्नुभयो, उहाँले भन्नेपछि हामीले आजदेखि स्थगित गर्र्याे, उहाँलाई हामीले डेटा उपलब्ध गराउँछौँ, उहाँको निर्देशन अनुसार थप निर्णय हुन्छ’, उनले भने । भन्सार विभागले विदेशबाट स्वदेश फर्कने नेपालीले मोबाइल फोन तथा ल्यापटक ल्याउँदा थप १८ प्रतिशत भन्सार शुल्क भुक्तानी गर्नुपर्ने शर्त राखेको थियो । आजदेखि विदेशबाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन नभएको भन्सार विभागले जनाएको छ । सरकारले एमडीएमएस लागु गरेपछि विदेशबाट आउने मोबाइल दर्ता गर्नका लागि भन्सारमा प्रज्ञापनपत्र दिने व्यवस्था गरेको थियो । तर तत्काल एमडीएमएस लागु नभएपछि भन्सारमा पुरानै नियम लागु हुने भन्सार विभागले जनाएको छ । पुरानै व्यवस्था लागु भएपछि अब विदेशबाट ल्याईएका २ भन्दा बढी मोबाइल मात्रै भन्सारले जफत गर्नेछ ।