घाटामा चल्दै डिजिटल वालेट, ५ वटा मात्रै अस्तित्वमा रहने
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको पाइएको छ । वार्षिक झण्डै ३ खर्ब रुपैयाँ बराबर कारोबार गर्दै अर्थतन्त्रलाई डिजिटलाइज गर्दै आएका अधिकांश डिजिटल वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको एक डिजिटल वालेट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले विकासन्युजसँग बताए । उनले हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरुमध्ये ईसेवा बाहेक अन्य सबै वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको बताए । उनका अनुसार वालेट कम्पनीहरुले आफ्नो लागतबाहेक अन्य कुनै पनि फाइदा लिन सकेका छैनन् । नि:शुल्क सेवा दिनु पर्ने भएकाले नाफा कमाउन नसकिएको उनको भनाइ छ । साथै, नाफा गरेको भन्दा धेरै खर्च हुने गरेको उनले बताए । ‘सरकारी सेवामा हामीले शुल्क लिने गरेका छैनौं, विद्यालय शुल्क पनि नि:शुल्क भुक्तानी हुन्छ, नेपाल विद्युत प्राधिकरणको ५ सय रुपैयाँभन्दा कमको बिलमा शुल्क लिन मिल्दैन,’ उनले भने- ‘महिनाको ४ अर्बको कारोबार गरेर ४ करोड नाफा गर्न धेरै गाह्रो छ, झन् त्यसमा क्यास ब्याक पनि दिनुपर्छ ।’ उनका अनुसार वालेट कम्पनीहरुमा नाफा कमाउने इसेवा वालेट एक्लो हो । इसेवा पनि गत वर्षदेखि नाफा कमाउन थालेको हो । इसेवा बाहेक खल्ती लगायतका सबै कम्पनीहरु घाटामा रहेको उनले बताए । इसेवा पनि १३औं वर्षमा आएपछि मात्रै नाफा कमाउन थालेको उनले बताए । स्रोतका अनुसार खल्तीले आगामी वर्षदेखि नाफा कमाउन सक्ने अवस्थामा पुग्नेछ । ‘कुनै वालेटले ६० करोड रुपैयाँ रेभिन्यू संकलन गर्याे भनेपनि ८० करोड रुपैयाँको खर्च हुन्छ, वालेट कम्पनी सबै घाटामा छन्,’ उनले भने, ‘डिजिटल कारोबारको भविष्य छ भन्ने हिसावले कसै न कसैले लगानी गर्नुपर्छ, सबैले व्यापार गरेर मात्रै भएन, भविष्यमा डिजि बैंक बन्न सक्ने भएकाले लगानी गरिरहेका छन् ।’ कुनको कारोबार कति ? चालू आर्थिक वर्षको १० महिनाको अवधिमा डिजिटल वालेट कम्पनीहरुले झण्डै साढे ३ खर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन् । राष्ट्र बैंकको बैशाखसम्मको तथ्याङ्क अनुसार कूल १ खर्ब ७९ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार वालेट कम्पनीले गरेका हुन् । तथ्याङ्कलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षको १० महिनाको तथ्याङ्कका आधारमा मासिक औषत १७ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार डिजिटल वालेट कम्पनीहरुले गरेको देखिन्छ । हाल सञ्चालनमा रहेका वालेट कम्पनीहरुमध्ये इसेवाको बजार हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको स्रोतको भनाइ छ । उनका अनुसार इसेवाले मासिक १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेको छ । यस्तै, दोस्रोमा खल्ती डिजिटल वालेटको रहेको छ । खल्तीले मासिक ४ देखि ५ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने गरेको उनले बताए । मासिक १८ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको भएपनि इसेवाको बजार हिस्सा ६०/६५ प्रतिशत रहेको छ । गत वर्ष ३ खर्ब रुपैयाँ बराबरको वालेटबाट कारोबार भएको थियो । जसमध्ये ईसेवाले १५० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको थियो भने खल्तीले ५० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको स्रोतको दाबी छ । ‘वालेटबाट मासिक १८/१९ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ, खल्तीले साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार गर्छ, खल्तीले डिजिटल कारोबारको २२/२५ प्रतिशत बजार हिस्सा ओगटेको छ तर, ६० प्रतिशत बजार हिस्सा इसेवाको छ,’ उनले भने- ‘१०/११ प्रतिशत आइएमई पेले ओगटेको छ भने बाँकी अन्य वालेट कम्पनीको कारोबार हिस्सा ५/५ प्रतिशत रहेको छ ।’ ५ वटा वालेटको अस्तित्व यसअघि टप फाइभ कम्पनीमा प्रभु पे थियो । तर, पछिल्ला सयम अन्य कम्पनीले प्रभुलाई उछिनेर तल झरेको उनले बताए । उनका अनुसार अबको केही वर्षपछि ५ वटा वालेट कम्पनी मात्रै अस्तित्वमा रहने उनको भनाइ छ । मर्जरभन्दा पनि खर्च धान्न नसकेर आफैं बन्द हुने अवस्थामा रहेको उनले बताए । ‘वालेट बिजनेशको २२/२५ प्रतिशत कारोबार कभर गर्ने कम्पनीले नाफा कमाउन सकेका छैनन्, जबकी ती कम्पनीहरुले लागतलाई कम गर्दै अप्टिमाइज भइरहेका छन्, ती कम्पनीले क्यासब्याक पनि कम दिएका छन्, क्यासब्याक घटाउँदै लगेका छन्,’ उनले भने- ‘५/७ प्रतिशत मार्केट सेयर भएका कम्पनीले कमाएर कति दिने ? अन्य वालेट कम्पनीले ३ रुपैयाँ कमाएर ५ रुपैयाँ फालिरहेका छन्, यो भनेको आधारभूत सिद्धान्तबाट बाहिर जानु हो, सस्तोमा किनेर महँगोमा बेच्नु बिजनेश हो, महँगोमा किनेर सस्तोमा बेच्नु होइन ।’ राष्ट्र बैंकको भुक्तानी विभाग प्रमुख समेत रहेका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पनि डिजिटल भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको स्वीकार गरे । हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरुमध्ये अधिकांश वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको उनको भनाइ छ । उनका अनुसार २७ वटा वालेट कम्पनीमध्ये अधिकांश घाटामा सञ्चालन भइरहेका छन् । इसेवा, खल्ती, आइएमई पे ठिकै अवस्थामा रहेको उनले बताए । अन्य कम्पनीहरु भने घाटामै चलिरहेको उनको भनाइ छ । ‘इसेवा, खल्ती, आइएमई पे, प्रभु पे, माइ पे, नमस्ते पे टप फाइभ कम्पनी हुन्, माइ पेले आक्रामक रुपमा आफ्नो विजनेश ग्रोथ गरिरहेको छ, नमस्ते रणनीतिक हिसावमा अघि बढ्दै छ, चुक्ता पूँजी नै ४० करोड रुपैयाँभन्दा बढी छ,’ उनले भने ।
त्रिवेणी ग्रुपका इलेक्ट्रिक सामग्री एसवाई बजारमा पाइने
काठमाडौं । इकमर्स प्लेटफर्म एसवाई बजार र त्रिवेणी ग्रुपबीच सम्झौता भएको छ । त्रिवेणी ग्रुपका विभिन्न इलेक्ट्रिक ब्राण्डका सामाग्री एसवाई बजारमा उपलब्ध गर्ने/गरिने दुई पक्षबीच सम्झौता भएको हो । त्रिवेणी समूहसँग सम्झौता भएसँगै अब अनलाइन सपिङ सेन्टर एसवाई बजारमा सामसुङका सबै प्रकारका इलेक्ट्रिक ब्राण्ड, प्यानासोनिक, स्यामसुई, सानसुई र यसुधाका इलेक्ट्रिक सामाग्री पाइने छन् । उक्त इलेक्ट्रिक सामाग्री सर्वसाधारणका लागि सर्वसुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ त्रिवेणी ग्रुपसँग सम्झौता भएको एसवाई बजारका प्रवन्ध निर्देशक बिमलराज गोसाईंले बताए । सो सामग्री अन्य ठाउँको भन्दा कम मूल्यमा उपलब्ध हुने उनकाे भनाइ छ । एसवाई बजारको यस लिङ्कमा गएर सामान अर्डर गर्न सकिनेछ ।
अन्तरिक्षमा सौर्य उर्जा उत्पादन, सन् २०५० सम्म पृथ्वीलाई चाहिने उर्जा ल्याउन सकिने
काठमाडौं । अन्तरिक्षमा सोलार पावर स्टेशन बनाउने भन्ने अवधारणा निकै पुरानो हो । सन् १९४० को दशकमा साइन्स फिक्सन राइटर आइज्याक असिमोवले आफ्नो छोटो कथा ‘रिजन’ यसको विषयमा दाबी गरेका थिए । अब वैज्ञानिकहरुले यो विषयलाई कार्यान्वयनको लागि पहल गर्न शुरु गरेका छन् । पृथ्वीमा २४ सै घण्टा सौर्य उर्जा प्राप्त गर्नको लागि वैज्ञानिकहरुले सो पहल गर्न लागेका हुन् । वैज्ञानिकहरुलाई यो विषयमा सफलता पनि प्राप्त भइरहेको छ । पहिलो पटक अन्तरिक्षबाट पठाइएको सौर्य उर्जा पृथ्वीमा प्राप्त भएको छ । वैज्ञानिकले सन् २०२३ को जनवरीमा ‘माप्ले’ (एमएपिएलइ) नामको अन्तरिक्षयान पृथ्वीको कक्षमा छोडेका थिए । जसमा वैज्ञानिकहरुले स्पेसमा प्राप्त हुने तापक्रम सोलार रेडिएसन क्षमता भएको भएको सोलार प्यानलको जडान गरेका थिए । वैज्ञानिकहरुका अनुसार अन्तरिक्षमा लगाइएको सो सोलार प्यानले पृथ्वीको तुलनामा आठ गुणा बढी उर्जा प्रदान गर्न सक्छ, अर्थात् सामान्यतया अन्तरिक्षमा पृथ्वीको तुलनामा आठ गुणा बढी सोलार बिजुली पैदा हुन सक्छ । पृथ्वीमा १८औं शताब्दिमा नै सोलार प्यानलको सहायताले सौर्य उर्जालाई प्रयोगमा ल्याउन शुरु गरिएको थियो । सोलार प्यानल सोलार सेल्सबाट बन्ने गर्छ, जो यस्तो उपकरण हो की यसले सौर्य उर्जालाई बिजुलीमा परिणत गर्नसक्छ । आजको दिनमा विश्वमा प्रयोग भइरहेको कुल उर्जाको चार प्रतिशत उर्जा सोलार प्यानलबाट प्राप्त हुने गरेको छ । वैज्ञानिकहरुले इन्धनबाट मानिसहरुले प्रयोग गरिरहको उर्जा सौर्य उर्जाबाट प्रयोग गरुन भन्ने चाहन्छन् । तर, पृथ्वीमा हरेक समय घाम लाग्दैन । कतिपय देशमा अधिक समय बादल लाग्ने गर्छ । सोही विषयलाई लिएर वैज्ञानिकहरुले अन्तरिक्षबाट पृथ्वीमा सौर्य उर्जा पठाउने विषयमा तयारी गरेका हुन् । अन्तरिक्षमा कुनैपनि समय बादल लाग्दैन । त्यो मात्रै नभएर त्यहाँ दिन र रात हुँदैन । जसले गर्दा अन्तरिक्षमा कुनै पनि वस्तुको अवरोध बिना सौर्य उर्जा संकलन गर्न सकिन्छ । वैज्ञानिकहरुले सौर्य उर्जाको लागि अन्तरिक्षमा जडान गरेको म्यापलमा माइक्रोवेव पावर ट्रान्समिटर जडान गरिएको छ । जसमा सिलिकन बाट बनाइएको इलेक्ट्रिक चिपले काम गर्ने गर्छ । यो ट्रान्समिटले सोलार इनर्जीलाई माइक्रोवेवमा बदल्ने काम गर्छ । जसले गर्दा नै सो उर्जा पृथ्वीसम्म सजिलै आइपुग्छ । सो ट्रान्समिटरले आफूले चाहेको क्षेत्रमा सौर्य उर्जालाई पठाउन सक्छ । पृथ्वीमा निर्माण गरिने सौर्य उर्जा प्राप्त गर्ने स्टेशनले अन्तरिक्षबाट पठाएको उर्जालाई प्राप्त गरेर नेशनल ग्रिडमा जोड्ने काम गर्छ । वैज्ञानिकहरुका अनुसार माप्लेबाट पठाइएको उर्जा क्यालिफोर्नियाको पासाडेनामा रहेको क्याल्टेकको क्याम्पसमा प्राप्त गरिएको थियो र सो उर्जा अपेक्षित समय र आवृत्तिमा नै प्राप्त भएको थियो । वैज्ञानिकले बताएका छन की यो अन्तरिक्षमा पहिलोपटक जडान देखिएको ट्रान्सफर हो । बिबिसीको रिपोर्टअनुसार अब वैज्ञानिकहरुले पृथ्वीको कक्षमा ठूला एवं शक्तिशाली स्याटेलाईट पठाउनेछन् र त्यसबाट उत्पादन हुने उर्जालाई पृथ्वीमा पठाउने काम गरिन्छ । ब्रिटेनको स्पेस इनर्जी इनिसियटिभका चेयरमेन मार्सियन सोल्ताउले यो प्रोजेक्टको क्षमता असिमित भएको बताएका छन् । सैद्धान्तिक रुपमा भनिएअनुसार सन् २०५० सम्ममा पृथ्वीलाई चाहिने सम्पूर्ण उर्जा अन्तरिक्षबाट आउन सक्नेछ । अहिले विश्वमा पानीबाट निकालिने बिजुली, आणविक भट्टीबाट निकालिने बिजुली, सोलार प्यानलबाट उत्पादन हुने बिजुली र अन्य इन्धनबाट उत्पादन हुने बिजुली उत्पादन गरेर प्रयोग गर्ने गरिएको छ । अन्तरिक्षमा सोलारमार्फत उत्पादन गरिने बिजुलीको दिगोपना र उत्पादन लागतको विषयमा भने वैज्ञानिकहरुले केही भनिसकेका छैनन् । अन्तरिक्षबाट उत्पादन हुने बिजुली सस्तो हुन गएमा नेपाल जस्ता पानीबाट बिजुली उत्पादन गरेर बेच्ने सपना बोकेका मुलुकलाई ठूलो धक्का पुग्न सक्ने देखिन्छ । एजेन्सीहरुको सहयोगमा ।