इसेवाले सार्वजनिक गर्यो आवाजबाटै कारोबारको विवरण बताउने इस्पिकर यन्त्र, कसरी मगाउने ?

काठमाडौं । इसेवाले आवाजबाटै कारोबारको विवरण बताउने इस्पिकर यन्त्र सार्वजनिक गरेको छ । डिजिटल माध्यमबाट जनजीवनलाई थप सहज बनाउन नवीन कार्यहरू गर्दै आएको इसेवाले पुनः डिजिटल कारोबारलाई सजिलो बनाउनका लागि उक्त इस्पिकर यन्त्र सार्वजनिक गरेको हो । सिम कार्ड तथा वाई-फाई मार्फत इन्टरनेटमा जोडिएर इस्पिकर यन्त्रले डिजिटल कारोबार यकिन गरी बताउने भएकाले यसले तुरुन्त जानकारी दिन सक्ने इसेवाले जनाएको छ । यार्सा टेकसँगको सहकार्यमा बनाइएको इस्पिकर यन्त्र पूर्णतः नेपालमै बनेको यन्त्र हो । इस्पिकर एक अडियो अलर्ट यन्त्र हो जसले डिजिटल कारोबार गरेर भुक्तानी आएको सूचना आवाजको माध्यमबाट तुरुन्त दिनेछ । यसले इसेवाका क्यूआर मर्चेन्टहरूलाई भुक्तानी आएको पुष्टि गर्ने भरपर्दो तथा सजिलो माध्यम प्रदान गर्नेछ । यस अगाडि, ग्राहक तथा व्यवसायीहरूले क्यूआरमार्फत आएको भुक्तानी पूरा भएरनभएको तुरुन्तै पुष्टि गर्नलाई केही असहज थियो । कहिलेकाहीँ कारोबार पूरा भई खातामा पैसा आएको पुष्टि गर्नलाई मेसेज आउनमा ढिलासुस्ती हुँदा ग्राहक तथा व्यवसायी दुवैले नै समस्या खेप्नुपर्ने अवस्था थियो । त्यस्तै, व्यवसायीलाई ग्राहकले कारोबार गरी स्क्रिनसट देखाएर विश्वास दिलाउनु पर्ने स्थिति थियो । उक्त स्क्रिनसट साँचो भए/नभएको पुष्टि गर्नका लागि व्यवसायीसँग पनि कुनै भरपर्दो तरिका थिएन । कुनै व्यवसायीहरूले आफ्नो कर्मचारी मार्फत व्यापार-व्यवसाय सञ्चालन गर्दा कारोबार पूरा भए/नभएको यकिन गर्न समेत झन्झट हुन्थ्यो । एफ वान् सफ्ट ग्रुप टावरमा कार्तिक १ मा भएको इस्पिकर यन्त्रको लोकार्पण समारोह इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा बोल्दै एफ वान् सफ्टका डाइरेक्टर, सुवास शर्माले नेपालमै बनेको यस उच्च गुणस्तरको यन्त्रले साना व्यवसायी तथा ग्राहकलाई सहयोग पुग्नेमा विश्वस्त रहेको बताए । १५ वर्ष देखि डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा नेपालको डिजिटल अर्थव्यवस्थालाई सुदृध पार्न इसेवाको मुख्य भूमिका रहेकोमा पनि उनले जोड दिए । त्यस्तै, उक्त कार्यक्रममा बोल्दै यार्सा टेकका सीईओ रहेका एन्. जे. सुवेदीले मात्र २ वर्ष अघि खुलेको यार्सा टेकले केही समय देखि यही यन्त्रको लागि रिसर्च र विकास गर्नमा लागेको बताएका थिए । इसेवासँग मिलेर विभिन्न प्रयोजनका लागि यसै यन्त्रको अझै विस्तारित भर्जनहरू पनि बनाउने बताए । त्यस्तै, एफ वान् सफ्टका प्रेसिडेन्ट विश्वास ढकालले इसेवा र यार्सा टेकको यस सहकार्यले देशमै प्रविधि सम्बन्धी धेरै कार्य गर्न सकिने तथा यसले उद्यमीलाई प्रोत्साहन गरेर अर्थतन्त्रलाई सकारात्मक सुझाव पार्ने बताएका छन् । उक्त कार्यक्रममा विश्वास ढकालले नै रु २५०० पठाई यन्त्रले कसरी काम गर्छ भनेर उपस्थित सबैलाई नमुना देखाएका थिए । त्यस्तै, फोनपेका सीईओ दिवस सापकोटाले पूर्णतः नेपालमै बनेको यस प्रविधिले सुपथ मूल्यमै गुणस्तरीय सेवा दिएकाले यार्सा टेकलाई धन्यवाद ज्ञापन गरे। उनले नेपाल जसरी टेक्नोलोजी र सफ्टवेयरमा अघि बढेको छ, त्यसरी नै हार्डवेयरको मामला पनि अघि बढेको बताए । त्यस्तै इसेवाका सीईओ जगदीश खड्काले यस यन्त्रले अंक चिन्ने तथा अंग्रेजी पढ्न गाह्रो हुने साना तथा मझौला उद्यमीहरूलाई यस प्रभावकारी टेक्नोलोजीले सहयोग पुग्नेमा विश्वस्त रहेको बताएका थिए । कार्यक्रमका संचालक आशिष गौतमले यस यन्त्रले अहिले नेपाली तथा अंग्रेजीमा सेवा दिए पनि निकट भविष्यमा नेपालको स्थानीय भाषा मैथिली तथा नेवारी (नेपाल) भाषामा पनि सेवा दिने जानकारी दिएका थिए । इस्पिकर यन्त्र बजारमा आएसँगै यसले ग्राहक तथा व्यवसायी दुवैको अनुभवलाई सजिलो र सुलभ बनाउन ठूलो सहयोग पुर्याउने विश्वास गरिएको छ । यसले कारोबार पूरा भएको पुष्टि गर्नका लागि व्यवसायीले घरीघरी फोन हेर्नुपर्ने वाध्यताबाट मुक्त गरिदिएको छ । इस्पिकर यन्त्रको साथले स्क्रिनसटको साटफेर, नोटीफिकेसनको पर्खाइ, खातावालाको उपस्थिति, फोन अन हुनु पर्ने वाध्यता लगाएतको झन्झटबाट व्यवसायी तथा ग्राहकलाई पनि मुक्त गरेको छ । कारोबारको जानकारी तुरुन्तै आवाजमार्फत पाइने हुनाले यसले सबैलाई सहज बनाउने विश्वास छ । इसेवाको सामाजिक सञ्जालमा देखिएअनुसार थुप्रै व्यवसायीहरू यस यन्त्रको पर्खाईमा रहेका छन् । इस्पिकर कसरी मगाउने ? इसेवाको वेब वा एपको प्रयोग गरी सजिलै इस्पिकर यन्त्र मगाउन सकिनेछ । यो यन्त्र अर्डर गर्नका लागि इसेवाको ‘न्यूसर्भिसेस्’ मा गई ‘ईस्पिकर रिक्वेष्ट’ छान्नुहोस् । तपाईंले उक्त फारम भरेर बुझाएपश्चात स्वीकृत भएपछि, नेपालभरी जहाँसुकै तपाईंले अनुरोध गरेको स्थानमा इसेवाले नै पुर्याउनेछ । इस्पिकर यन्त्र दुई वटा तरिकाले मगाउन सकिनेछ । व्यवसायीहरूले एकमुस्ट रकम तिरेर वा मासिक महशुल तिरेर इस्पिकर यन्त्र मगाउन सक्नेछन् । अहिलेका लागि व्यवसायीहरूले एकमुस्ट रकम तिरेर नै इस्पिकर मगाउन सक्नेछन् भने मासिक महशुल तिरेर इस्पिकर मगाउने तरिका पनि छिट्टै ल्याउने इसेवाले जनाएको छ । एकमुस्ट रकम तिर्नेले वास्तविक मूल्य रु ४००० तिर्नु पर्नेमा अहिलेको चाडपर्वको अवसरमा व्यवसायीले रु ३६०० मै इस्पिकर पाउन सक्नेछन् । साथै उक्त यन्त्रमा १२ महिनाको वारेन्टी पनि रहेको इसेवाले जानकारी गराएको छ । कार्तिक १ देखि इस्पिकर यन्त्रको अर्डर गर्न सकिने र छठ पछि व्यवसायीहरूले उक्त यन्त्र पाउने इसेवाले जनाएको छ । हाल, इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका २ लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा दुई करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

नेप्सले २१ प्रतिशत लाभांश बाँड्ने, प्रिमियममा आईपीओ जारी गर्न साधारण सभा आह्वान

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् (नेप्स)ले १० औँ वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिको बैठकले कात्तिक २३ गते काठमाण्डौको हात्तीसारस्थित आरण्य बुटिक होटेलमा अपराह्न ४ बजे साधारण सभा आह्वान गरेको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद गरी कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । आईपीओ निकाष्शन प्रक्रिया अघि बढाउन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

ह्वावेसँगको सहकार्यमा चाइना मोबाइलले सगरमाथामा पहिलो एफटीटीआर-बी नेटवर्क जोड्ने

बेइजिङ । चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर– बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका छन् । ह्वावे एफटीटीआर– बी (फाइबर–टू–द–रुम बिजनेस) समाधानमा आधारित, चाइना मोबाइलले विश्वकै अग्लो ठाउमा रहेका कर्मचारी र पर्यटकहरूलाई उनीहरूको दैनिक सञ्चार र व्यापार आवश्यकताहरू पूरा गर्दै अल्ट्रा–गिगाबिट प्रिमियम वाईफाई सेवाहरू प्रदान गर्ने छ । चाइना मोबाइलको ह्वावेसँग एफटीटीआर– बी नेटवर्क विस्तारमा सहकार्य गर्दै समुन्द्री सतहबाट ५,२०० मिटर उचाइमा रहेको पर्यटक शिविरको व्यवस्थापन कार्यालयमा कर्मचारीले वातावरण संरक्षण यन्त्रहरू जाँच्न, उच्च रिजोलुसनको फोटो र भिडियोहरू फिर्ता पठाउन र प्रत्येक दिन माउन्ट एभरेष्ट एडमिनिस्ट्रेशन ब्यूरोमा लग्नुपर्छ । कमजोर नेटवर्क अवस्थाका कारण, फ्रेम फ्रिजिङ, ढिलो भिडियो अपलोड, र कागजात पठाउन बारम्बार समस्या हुने गरेको थियो । हाई–स्पीड एफटीटीआर–बी नेटवर्कले सफलतापूर्वक स्थापनापछि यसले नेटवर्कको अवस्थालाई मौलिक रूपमा परिवर्तन गरेको छ । जसले पर्यटक आधार शिविरमा रहेका सबै कर्मचारी र पर्यटकहरूले प्रिमियम वाईफाई सेवाहरूको आनन्द लिन सक्नेछन् । यसका अतिरिक्त, एफटीटीआर– बी को स्थापना समुद्री सतहबाट ४२०० मिटरमाथि नजिकैको सहरको पर्यटक होटलमा राखीएकोे छ । विगतमा, नेटवर्क समस्याहरू जस्तै फ्रेम फ्रिजिङ, नेटवर्क जडान नहुने, र चेक–इन प्रणालीमा सुस्तता समय–समयमा देखा पर्ने गरेको थियो, जसले पाहुनाहरुको इन्टरनेटको पहुचमा असर गरेको थियो । एफटीटीआर– बी स्थापनापछि होटलका ३०० पाहुनारूले एकै समयमा उच्च–गतिको इन्टरनेटमा पहुँच पाउने छन् र होटल कर्मचारीहरूले समेत आफ्नो काम धेरै सहज रूपमा गर्न सक्ने भएका छन् । ह्वावे एफटीटीआर– बी उपकरण एफएटीटी– बी चीनमा साना र मध्यम आकारका उद्यमहरू (एसएमईएस) को लागि अल्ट्रा–गिगाबिट सबै–अप्टिकल नेटवर्किङ प्रदान गर्न चाइना मोबाइल र ह्वावेद्वारा संयुक्त रूपमा सुरु गरिएको हो । यो प्रविधि व्यापक रूपमा होटल र पसलहरूमा प्रयोग गरिने गरेको छ । ह्वावे एफटीटीआर– बी डिभाइसहरूमा लचिलो ट्रिपल–मोड एन्टेनाहरू छन् र भित्री क्षेत्रहरूमा पूर्ण वाईफाई कभरेज प्रदान गर्न छत वा भित्ताहरूमा सजिलै स्थापना गर्न सकिन्छ जसले प्रयोगकर्ताहरूलाई सबै ठाउमा प्रिमियम नेटवर्क अनुभवको आनन्द दिलाउछ । यस प्रविधिले सिग्नलहरू प्रसारण गर्न र एकै समयमा उपकरणहरूमा पावर आपूर्ति गर्न कठिन शक्ति अधिग्रहणको समस्याहरू समाधान गर्न पावर ओभर फाइबर (पीओएफ) केबलहरू प्रयोग गर्दछ । थप रूपमा व्यवस्थापन कार्यालय र होटलहरूमा आइटी कर्मचारीहरूको लागि नेटवर्क टोपोलोजी व्यवस्थापन, एक–क्लिक नेटवर्क अप्टिमाइजेसन, र सेल्फ–सर्भिस नेटवर्क कन्फिगरेसन जस्ता कार्यहरू प्रदान गर्दछ भने अप्रेशन र मेन्टेनेन्स (ओएनयम) कार्यभार समेत घटाउँछ । चाइना मोबाइलका अप्रेशन र मेन्टेनेन्स इन्जिनियरहरूले यस एपको प्रयोग गरेर अप्रेशन र मेन्टेनेन्स दक्षता सुधार गर्दै नेटवर्क समस्याहरू पत्ता लगाएर समस्या समाधान गर्न सक्छन् । २०२४ मा, चाइना मोबाइलले आरोही आधार शिविरमा एफटीटीआर–बी समाधान विस्तार गर्न ह्वावेसँग काम गर्नेछ । यसले पर्वतारोहीहरू विश्वको उच्च ठाउमा जानेक्रममा गीगाबिट नेटवर्कको आनन्द लिन सक्ने छन । एक अग्रणी विश्वव्यापी आइसीटी पूर्वाधार प्रदायकको रूपमा ह्वावेले चाइना मोबाइल जस्ता अपरेटरहरूसँग व्यापक सहकार्य गरेको छ र धेरै साना र मध्यम आकारका उद्यमहरूलाई एफटीटीआर– बी जस्ता नवीन समाधानहरू मार्फत डिजिटल रूपान्तरण गर्न मद्दत गरेको छ । भविष्यमा, ह्वावेले नवीन प्रविधिहरू प्रयोग गरेर गिगाबिट अप्टिकल नेटवर्कहरू निर्माण गर्न चाइना मोबाइलसँगको सहकार्य गर्न जारी राख्नेछ ।