इन्टरनेट कम्पनीहरूको लुट धन्दा अन्त्य गर्न १५० रूपैयाँमै सेवा दिन लागेका छौं : विनोद अग्रहरी

काठमाडौं । सुपर भिजन नेटवर्कले नेपालगञ्जमा मासिक १५० रुपैयाँमा ५० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउन सुरु गरेको छ । इन्टरनेट परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि कम्पनीले अहिले व्यावसायिक रूपमा इन्टरनेट सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । न्यून मूल्यमा नै ‘टप स्पिड’ चल्ने इन्टरनेट सेवा ग्राहलाई उपलब्ध गराउँदा बजारमा यसको चर्चा बढेको छ । इन्टरनेटको गुणस्तर अरू कम्पनीको भन्दा कम नभएको दाबी गर्दै आएका सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरी न्यूतम मूल्यमा अधिकतम ग्राहकलाई सेवा दिने उद्देश्यसहित यो इन्टरनेट ल्याएको बताउँछन् । उनै सञ्चालक अग्रहरीसँग यो इन्टरनेट सेवाको विकास, इन्टरनेट विस्तारको योजना, कम मूल्यमा इन्टरनेट दिनुको उद्देश्यलगायत विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । नेपालमा समयक्रमसँगै इन्टरनेट विस्तार गर्ने कम्पनीहरूको संख्या बढ्दो छ, तपाईंहरूले पनि बजारमा आधुनिक प्रविधिको इन्टरनेट ल्याउनुभएको छ, सस्तो मूल्यमै ग्राहकलाई इन्टरनेट दिने योजना कसरी बन्यो ? मेरो पहिला केवल टिभी नेटवर्क थियो । जुन मैले ३० करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको थिएँ । केवल टिभीलाई इन्टरनेट कम्पनीले निःशुल्क गरिदिँदा मेरो व्यवसाय धराशायी भयो । नेपालगञ्जबाटै उक्त सेवा सुरु गरेको थिएँ । त्यो व्यवसाय धराशायी भएपछि इन्टरनेटमा हात हालेको हुँ । मान्छेले मासिक इन्टरनेट ८/९ सय रुपैयाँ तिरेर चलाइरहेका छन् । घर बाहिर निस्किँदा डाटा खोलेर चलाउनुपर्ने अवस्था छ । सोही कुरालाई मध्यनजर गर्दै जुन प्रविधि एकपटक पेमेन्ट गर्दा यी सबै समस्याको हल होस् भनेर यसको आविष्कार गरिएको हो । इन्टरनेटको अनुसन्धान गर्न मलाई करिब साढे दुई वर्ष लाग्यो । किनभने इन्टरनेटमा धेरै कमी–कमजोरी थियो । अहिले यी विषयमा सुधार भइसकेको छ । मैले यो सेवा करिब ८ करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको हुँ । अनुसन्धानमा करिब साढे दुई करोड रुपैयाँ खर्च भयो । नेपालगञ्ज अहिले यसका प्रयोगकर्ता कति छन् ? हामीले अहिले नेपालगञ्जमा ८ हजार जनालाई यो इन्टरनेट चलाउन दिएका छौं । उहाँहरूले निःशुल्क चलाइराख्नु भएको छ । इन्टरनेट परीक्षणका लागि उहाँहरूलाई निःशुल्क चलाउन दिएका हौं । उहाँहरूले करिब ८ महिनादेखि निःशुल्क इन्टरनेट चलाइराख्नु भएको छ । इन्टरनेटको गुणस्तर बढाउन सकियोस् र आएका समस्या समाधान गर्न सकियोस भनेर सेवा निःशुल्क गरिएको हो । देखिएका समस्या सबै समाधान गरी यूजरले पनि राम्रो छ भनिसकेपछि पश्चात् यसलाई लन्च गरेका छौं । यसलाई नेस वाइफाई नेटवर्क भनिन्छ । जुन नेपालमा पहिलोपटक आएको प्रविधि हो । यो हामी आफैंले विकास गरेको प्रविधि हो । तपाईंले डेढ सय रुपैयाँ शुल्क तिर्नुभयो भने पसलदेखि घरसम्म काम गर्छ । साथै, बसपार्क रेष्टुरेन्ट आदि सबै ठाउँमा मज्जाले चल्छ । यो फाइबर र वायरलेस दुवैबाट चलाउन सकिन्छ । तपाईंहरू व्यावसायिकरूपमा कहिलेदेखि अगाडि बढ्नुहुन्छ ? यसको परीक्षण सफल भइसकेको छ । कुनै समस्या छैन । हामीले मंसिर १ गतेदेखि युजरबाट पैसा उठाउने तयारी गरेका छौं । तपाईंहरूको यो सेवा कहाँ–कहाँ उपलब्ध छ ? उपत्यका अथवा सहरी क्षेत्रमा पनि यो इन्टरनेट भित्र्याउने लक्ष्य राख्नुभएको छ ? यो सेवा अहिले नेपालगञ्जमा मात्र उपलब्ध छ । यदी कसैले अन्य ठाउँमा यो सेवा विस्तार गर्न खोज्यो भने प्राविधिक सहयोग निःशुल्क दिन्छौं । ताकी अर्को ठाउँको मान्छेले पनि यो इन्टरनेट सेवा सस्तोमा पाओस् । कसैले कुनै ठाउँमा खोल्न चाहनुभयो भने सम्पर्क गर्न सक्नुहुन्छ । इन्टरनेटमा अर्बाैं खर्बौं रुपैयाँ लुट भइरहेको छ । यो इन्टरनेट विस्तारसँगै इन्टरनेटका प्रयोगकर्ताले पनि यसको महगो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास हामीले लिएका छौं । यसको प्रयोग कसरी गर्ने, यो नेट जडान गर्दा तार वा राउटरको पैसा पनि तिर्नुपर्छ ? यसलाई आफ्नो व्यक्तिगत फोनमा कनेक्ट गरेर पनि चलाउन सकिन्छ । हामीले जसरी सीममा रिचार्ज गर्छौं त्यसरी नै गर्नु पर्ने हुन्छ । मोबाइलबाट अन्य फोन तथा डिभाइसमा कनेक्ट गरेर पनि चलाउन सकिन्छ । घरमा चलाउने हो भने राउटर जोडेर चलाउनुपर्ने हुन्छ । राउटर र तार चाहिँ आफैंले तिर्नु पर्ने हुन सक्छ । वायरलेसमा पैसा पर्दैन । यदि फाइबारबाट लग्नु पर्यो भने सुविधा अनुसार राउटरको शुल्क तिर्नु पर्ने हुन्छ । आवश्यकताका आधारमा एमबीपीएस बढाउन सकिन्छ । १५० रुपैयाँमै इन्टरनेट उपलब्ध गराउँदा तपाईंहरूलाई कति फाइदा हुन्छ ? यो इन्टरनेट ६/७ वर्ष चल्छ । त्यसपछि नयाँ प्रविधि आउन सक्छ । त्यो अवधिभित्र नै लगानी र नाफा उठाइसक्नुपर्ने हुन्छ । हामीले एक वर्षमा ८० हजारभन्दा बढी प्रयाेगकर्ताले यो नेट चलाउने अपेक्षा राखेका छौं । ८० हजार प्रयाेगकर्ता भएपछि डेढ सयले मासिक रकम भुक्तानी गरे भने करिब १ करोड २० लाख रुपैयाँ रकम संकलन हुन्छ । हाम्रो प्रशासनिक खर्च अथवा अन्य खर्च ४० लाख रुपैयाँसम्म भयो भने ६०/७० लाख रुपैयाँ बचत हुन्छ । सोही अनुपातमा हाम्रो लगानी एक वर्षभित्र उठ्ने लक्ष्य राखेका छौं । अर्को विषय केवल टिभी तारबाट पनि यो नेट चलाउन सकिन्छ । इन्टरनेटले गर्दा त्यो फाइबरको सदुपयोग भयो । अहिले हामीसँग करिब ४० जना कर्मचारी छन् । यो इन्टरनेटलाई देशव्यापी बनाउने योजना पनि छ ? इन्टरनेटमा धेरै लुट भइरहेको छ । यसबाट उपभोक्ता ठगिएका छन् । इन्टरनेटमा भएको लुटतन्त्र हटाउन सस्तो इन्टरनेट उपलब्ध गराउने हाम्रो योजना छ । यसलाई क्रमिकरूपमा विस्तार गर्न सकिन्छ । एउटै सहरभित्र फरक–फरक ठाउँमा घर र व्यवसाय भएकाहरूले १५० रुपैयाँ शुल्क तिरेर दुई ठाउँमा नै चलाउन सक्ने छन् । १५० रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट दिँदा पनि आफूलाई फाइदा छ ।

भाइटीका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, विजेतालाई १ लाख पुरस्कार

काठमाडौं । एनसेल आजियाटाले चलचित्र मार्फत दाजु–बहिनी, दिदी–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ । यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समूहले भाग लिन सक्छन् । यस प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैले दिदी–भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडिओ अर्थात् चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्दछ । यस प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैले दिदी–भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडिओ अर्थात् चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्दछ । भिडिओको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्दछ । उल्लेखित सबै कुरालाई ध्यानमा राखी सहभागीहरुले दिदी–भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन्। यस प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, दोस्रो हुनेले रु ७५ हजार नगद र तेस्रो हुनेले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। ‘हामी उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। विभिन्न समूह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतीमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ। अझै राम्रो पाटो भनेको हामी सधै अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिईरहेका हुन्छौं’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने । प्राप्त सबै भिडिओहरु मध्ये छानिएका भिडिओहरु भाइटीकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिनेछ। निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरुको समीक्षा र मूल्यांङकन गर्नेछ। यस प्रतियोगिताका विजेताहरु कात्तिक २९ गते भाइटीकाको दिन घोषणा गरिनेछ । सहभागी हुन इच्छुकहरुको प्रतिक्रिया र अनुरोधका आधारमा यस प्रतियोगिताको भिडिओ बुझाउने मिति कात्तिक २३ गतेसम्म थप गरिएको छ। थप जानकारी तथा सर्तहरुका बारेमा एनसेलको वेबसाइटमार्फत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

भारतमा एक महिनामै ७१ लाख ह्वाट्सएप एकाउन्ट प्रतिबन्धित

एजेन्सी । विश्वव्यापीरूपमा लोकप्रिय सन्देश आदान–प्रदान सेवा ह्वाट्सएपले सेप्टेम्बर महिनामा भारतमा लगभग ७१ लाख १० खाता (एकाउन्ट) मा प्रतिबन्ध लगाएको छ । अमेरिकी टेक्नोलोजी कम्पनी मेटाद्वारा नियन्त्रित यो सेवाले आइटी नियमअन्तर्गत ती एकाउन्टमा प्रतिबन्ध लगाएको हो । ह्वाट्सएपले प्रयोगकर्ताबाट कुनै पनि रिपोर्ट प्राप्त गर्नुअघि तीमध्ये २५ लाख ७ हजार एकाउन्ट प्रतिबन्धित गरेको हो । ह्वाट्सएपले देशका लागि जारी गरेको मासिक प्रतिवेदनमा सेप्टेम्बरमा कम्पनीलाई गुनासो पुनरावेदन समितिबाट ६ वटा आदेश प्राप्त भएको र ती सबैको पालना गरिएको जनाएको छ । ह्वाट्सएपमा भारतीय एकाउन्टहरूको देश कोड ‘+९१’ द्वारा पहिचान गरिन्छ । प्रयोगकर्ता सुरक्षा रिपोर्टमा प्रयोगकर्ताबाट प्राप्त गुनासो र उनीहरूमा ह्वाट्सएपले चालेका कदमबारे जानकारी दिइएको छ । यसका साथै उक्त रिपोर्टमा यो मेसेजिङ प्लेटफर्ममा उत्पीडन रोक्नका लागि ह्वाट्सएपले उठाएका कदमका विवरण पनि समावेश गरिएको छ । ह्वाट्सएपले अगस्टमा पनि भारतका ७४ लाख एकाउन्टमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये लगभग ३५ लाख एकाउन्ट ब्लक गरिएको थियो जबकि प्रयोगकर्ताले कुनै रिपोर्ट गरेका थिएनन् । रिपोर्टअनुसार सेप्टेम्बरमा ह्वाट्सएपले प्रयोगकर्ताबाट १० हजार ४ सय ४२ रिपोर्ट प्राप्त गरेको थियो । तीमध्ये प्रतिबन्धको पुनरावेदनसँग सम्बन्धित ७ हजार ३ सय ९६ रिपोर्ट थिए । भर्खरै ह्वाट्सएपले च्यानलहरूको सुविधा सुरु गरेको छ । यसमा प्रयोगकर्ताले आफ्ना फलोअरहरूसँग आफ्नै प्रसारण वा अपडेट साझेदारी गर्न सक्छन् वा उनीहरूको मनपर्ने ह्वाट्सएप च्यानल फलो गर्न सक्छन् । प्रधानमन्त्री नरेन्द्र मोदी पनि यो सुविधासँग जोडिएका छन् । उनको च्यानललाई लाखौं प्रयोगकर्ताले फलो गरेका छन् । यो सुविधा अर्को वर्ष लोकसभा चुनावअघि राजनीतिज्ञहरूलाई जनतासँग जोड्नका लागि एक महत्वपूर्ण माध्यम हुन सक्छ । यो एकतर्फी प्रसारण उपकरण हो । यसमा प्रयोगकर्ताले आफ्ना फलोअरलाई आफूसँग सम्बन्धित जानकारी पठाउन सक्छन् । तर, फलोअरहरूसँग सिधा कुराकानी गर्न सक्दैनन् । पाठ सन्देश, फोटो, भिडियो, स्टिकर र मतदान ह्वाट्सएप च्यानलमार्फत पठाउन सकिन्छ । यो सुविधा अपडेट नामक नयाँ ट्याबमा उपलब्ध छ । यो सुविधा एन्ड्रोइड, आइओएस र डेस्कटप प्रयोगकर्ताका लागि उपलब्ध छ ।