बरालको मौरीपालन : आफ्ना लागि आम्दानी, अरुका लागि प्रेरणा

गण्डकी । जीवनको साढे दुुई दशक मौरीपालन व्यवसायमा खर्चिएका पोखरा महानगरपालिका–३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरुका लागि प्रेरणाको स्रोत बनेका छन् । लामो समयको मौरीपालन अनुभवले खारिएका उनी मौरीपालनबाट राम्रो  आम्दानीसँगै अहिले विभिन्न ठाउँमा पुगेर तालिम दिन थालेका छन् । साकुुरा एपियारी फार्मका सञ्चालक बराललाई यतिबेला पोखरा आसपासका क्षेत्रमा मौरीपालन तालिम दिन भ्याइनभ्याइ छ । तालिमका लागि ठाउँठाउँबाट माग हुुने गरेको बताउँदै उनले आफूले यसबीचमा धेरै ठाउँमा तालिम दिएको अनुभव सुनाए । जिल्ला मौरिपालक महासङ्घका अध्यक्षसमेत रहेका बरालको फर्ममा हाल एक सयभन्दा बढी मौरीका घार छन् । आफूले मौरीपालनबाट वार्षिक १० लाखसम्म आम्दानी गरेको उनको भनाइ छ । सुरुमा दुईवटा घारबाट मौरीपालनमा मौसमी व्यवस्थापनको ठूूलो महत्व हुने बताउँदै उनले वर्षा, जाडो र गर्मी मौसमअनुसार घारको व्यवस्थापनलाई ध्यान दिनुुपर्ने आवश्यकता औँल्याए । मौरीको भित्री भागमा कीरा लाग्ने सम्भावना हुने बताउँदै बरालले बाहिरी रुपमा सत्रु कीराले पनि आक्रमण गर्ने भएकोले त्यसलाई ध्यान दिनुुपर्ने बताए । मौरीलाई अरिङ्गाल, माउसुुली, पहेँले, माकुरा, वन साङ्लो आदिबाट जोगाउन चुनौतीपूर्ण रहेको उनको भनाइ छ । मौरीको सङ्ख्या बढाउनका लागि किसान सचेत बन्नुपर्ने उल्लेख गर्दै उनले सुरुमा सातवटा फ्रेमभरी सकेपछि सुपर कक्ष राख्न सकिने र छाउरा कक्ष भरेपछि सुपरकक्षमा मह उत्पादन हुने बताए । भाले, कर्मी र रानी मौरी सबैका आ–आफ्ना भूूमिका रहेको उनको भनाइ छ । मौरी विभिन्न बाली, फलफूूलका लागि पनि उपयोगी हुने बताउँदै उनले मौरीले गर्ने परागशेचनले बाली उत्पादनमा समेत वृद्धि हुने जानकारी दिए । जङ्गलमा फूूल्ने फूलबाट औषधीय गुण भएका रस मौरीले सङ्कलन गर्ने र यसबाट उत्पादन पनि बढ्ने उनको भनाइ छ । उनले भने, ‘वन जङ्गलबाट आर्थिक लाभ लिनका लागि पनि मौरीपालन आवश्यक छ, मौरीबिना वन जङ्गलमा उत्पादित पुष्परस सङ्कलन गर्ने कुनै अर्को उपयुक्त विधि र प्रविधि देखिन्न ।’ बरालले एपि सेरेना जातको मौरीपालन गरिरहेका छन् । समुद्री सतहको आठ सयदेखि अधिकतम तीन हजार मिटरको उचाइमा पनि मौरीपालनको व्यावसायिक खेती गर्न सकिने उनको भनाइ छ । बढ्दो बेरोजगारीसँगै भइरहेको विदेश पलायनलाई रोक्नका लागि मौरीपालन उपयुक्त विकल्प हुनसक्ने बरालले बताए । ‘मोरीपालन स्वरोजगार बन्नका लागि पनि उपयुक्त विकल्प हो, कम्तीमा ५० वटा मौरीका घारबाट व्यवसाय सञ्चालन गर्न सके मासिक रु ४० देखि ५० हजारसम्म आम्दानीका लागि भौतारिनुपर्दैन’, उनले भने । सहरीभन्दा पनि ग्रामीण क्षेत्र मौरीपालनका लागि उपयुक्त हुने बताउँदै उनले यसले गाउँबाट सहरतर्फ भइरहेको बसाइँसराइ रोक्न पनि योगदान गर्न सक्ने धारणा राखे । पोखरामा वार्षिक ९० टन मह उत्पादन हुने गरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाको भनाइ छ । उनका अनुसार महानगरपालिकाभित्रका वडा नं १६, २०, २८ र ३० लाई मौरी पकेट क्षेत्र घोषणा गरिएको छ । महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा वडा नं १६ मा मौरीसहितका एक सय ९२ वटा घार वितरण गरेको छ भने वडा नं २० मा मौरीसहितका एक सय ८५ घार वितरण गरेको छ । महानगरपालिकाले वडा नं २८ मा मौरी सहितका दुई सय ५० घार र वडा नं ३० मा मौरीसहित एक सय ८३ घार वितरण गरेको उनले बताए । उनका अनुसार व्यक्तिगत रुपमा एक दुुई घार राख्नेको सङ्ख्या पनि पोखरा महानगरभित्र ठूलो छ । मौरीपालन तोरी, फापरजस्ता कृषिजन्य उत्पादनका लागि पनि उपयोगी हुने बताउँदै उनले मौरीपालन गरेका स्थानमा १० देखि १५ प्रतिशत बढी उत्पादन पाइएको उनको भनाइ छ । मौरीपालन सुरु गरेका उनले यसबीच विभिन्न तालिम लिएको र घार पनि थप्दै गएको बताए । आफूले विगतमा लिएको तालिमबाट सिकेको ज्ञान, सीप तथा मौरीपालनको अनुभवका आधारमा यतिबेला आफूले तालिम दिँदै आएको उनले बताए । उनलाई कास्की, स्याङ्जा, तनहुँलगायतका स्थानबाट तालिमका लागि निम्तो आउने गरेको छ । बरालका अनुसार फार्ममा उत्पादित महप्रति केजी रु एक हजार आठ सयसम्म बिक्री हुन्छ । यहाँ उत्पादित महका लागि बजारको कुनै समस्या नभएको उनको भनाइ छ । तर बाहिरबाट आयात हुने कम गुणस्तरको महका कारण बजारलाई प्रभावित बनाउने गरेको उनको अनुभव छ । रासस

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको विशेष अभियान सुरु हुँदै

काठमाडौं । ‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले यही असोज २७ देखि आगामी मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गर्ने भएको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी सो अभियान सञ्चालन गर्न लागिएको हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । विगत वर्षहरुमा पुस/माघको जाडो याममा सञ्चालन गरिने गरेको यस किसिमको अभियान यसपटक नेपालीको मुख्य चाडहरुलाई लक्षित गरी सञ्चालन गर्न लागिएको उनले बताए । उनका अनुसार यस अभियानमा करिब तीन सय जनाको उद्धार गरिनेछ । यसपटक यस अभियानलाई अझ प्रभावकारी बनाउन वरिष्ठ समाजसेवी एवं आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्मा पनि सहभागी हुनेछिन् र अभियानमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन पनि उनले नै गर्न लागेकी छन् । मानव सेवाभन्दा अर्को महान धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको समाजसेवी आनी छोइङले बताइन् । उनले भनिन्– ‘मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाजसेवा नै हो । सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरु सार्थक रहनेछन् ।’ मानव सेवा आश्रमका देशका सातै प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्रहरु रहेका छन् । ती केन्द्रहरुबाट हालसम्म आठ हजारभन्दा बढीको उद्धार गरिएको छ र हाल १६ सय जना संरक्षणमा रहेका छन् । तीमध्ये करिब सय बालबालिका छन् भने एक हजार मानसिक समस्या भएका व्यक्ति छन् । रासस

भ्रममा बाँचेका नेपाली जसले कपाल काट्दा तिर्छन ८६२४ रुपैयाँ

काठमाडौँ । हरेक पुरुषलाई ढेड दुई महिनामा नियमित कपाल काट्नै पर्छ । नेपाली मात्र होइन, केही अपवाद बाहेक विश्वभर नै पुरुषले नियमित कपाल सैलुनमा गएर काट्छन्, छोट्याउँछन् । नेपालमा सामान्य सैलुनमा पुरुषको कमाल काट्दा १५० रुपैयाँ लाग्छ । दरवारमार्ग वा कमलादीमा खुलेको धेरै महँगा सैलुनहरुले पनि पुरुषको कपाल काटेको बढीमा १ हजार रुपैयाँ लिने गरेका छन् । अन्य कस्मेटिक बस्तु उपभोग गरेबाफत भने अतिरिक्त मूल्य पनि पर्छ । कपाल काट्दा विश्वमा सबैभन्दा बढी मूल्य तिर्नु पर्ने पनि नर्वेमा नै हो । वल्ड अफ स्ट्याटिक्सका अनुसार नर्वेमा एक जना पुरुषले कपाल काट्दा ६४ अमेरिकी डलर तिर्नुपर्छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार ८ हजार ६२४ रुपैयाँ हुन जान्छ । वल्ड अफ स्ट्याटिक्सका अनुसार कपाल काट्दा दोस्रो महँगो देश जापान हो, जहाँ ५६ अमेरिकी डलर तिर्नुपर्छ । तेस्रो महँगो देश डेनमार्क हो जहाँ ४८.२१ डलर तिर्नुपर्छ । त्यस्तै, स्वीडेनमा ४६.१३ डलर, अस्ट्रेलियामा ४६ डलर, अमेरिकामा ४४ डलर, स्वीजरल्याण्डमा ४२.९६ डलर, फ्रान्समा ३७.०५ डलर र क्यानडामा २४.२८ अमेरिकी डलर तिर्नुपर्छ । त्यस्तै, ब्राजिलमा ८.६७ डलर, भारतमा ५.२९ डलर पर्छ भने नेपालमा १.१३ डलर पर्छ । नेपालीहरु विदेशमा काम गर्छन, डलरमा कमाउँछन् र नेपाली रुपैयाँसँग तुलना गर्छन । अमेरिकामा काम गर्ने नेपालीले महिनामा ५ हजार डलर कमाउँछ । तर, तुलना गर्छ नेपाली रुपैयाँसँग र घरमा बुवा, आमा वा साथीभाईलाई सुनाउँछ ‘मासिक ६ लाख ६० हजार भन्दा बढी कमाउँछु ।’ तर अमेरिकामा एक मुठा साग किन्दा ५ डलर (६६० रुपैयाँ) खर्च गर्नु परेको, कपाल काट्दा ४४ डलर (५ हजार ८०० रुपैयाँ) तिर्नु परेको, कोठाभाडा १५०० डलर (१ लाख ९८ हजार रुपयाँ) तिर्नु परेको सुनाउँदैन ।