बालबालिकाको अवैध ओसारपसार कायमै

काठमाडौं । गरिब, अशिक्षा र आधारभूत सेवासुविधाको अभावमा कर्णाली प्रदेशका हिमाली जिल्लाबाट अहिले पनि सयौँको सङ्ख्यामा बालबालिकाको ओसारपसार हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न तीनै तहका सरकारहरू गम्भीर हुनुपर्नेमा जोड दिइएको छ । ६० औँ बाल दिवसको अवसरमा आधार विकास नेपाल र हिमाली नवीन समाजद्वारा यहाँ आयोजित नेपालमा संस्थागत हेरचाहमा हुने बालबालिकाको ओसारपसार विषयक गोष्ठीका सहभागी वक्ताहरूले सो धारणा राखेका हुन् । नेपालमा संस्थागत हेरचाहसँग जोडिएर हुने बालबालिकाको बेचबिखन तथा ओसारपसारको नियन्त्रण तथा रोकथाम र कानूनी व्यवस्था नभएकाले देशका दुर्गम जिल्लाहरुबाट विभिन्न बहानामा वर्षेनी सयौंको सङख्यामा बालबालिकाहरु आफ्ना परिवार समाजबाट बिछोडिनुपरेको छ । यसले ती बालबालिकाको अभिभावकसँग बिताउन पाउने नैसर्गिक अधिकारबाट बञ्चित हुनुको साथै उनीहरूले शारिरीक, मानसिक यातना सहनु परेकाले यसतर्फ ध्यान दिनुपर्ने वक्ताहरुको भनाइ छ । सो अवसरमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश जडीबुटी र खाद्यान्न उत्पादनको अपार सम्भावना रहेपनि त्यसको उपयोग गर्न नसक्दा गरिबीको अवस्था देखिएको उल्लेख गर्दै सामाजिक सोच र व्यवहारले पनि कर्णाली उपेक्षामा परेको बताए । उनले विगतमा धनीका छोराछोरी बालमन्दिरहरुमा राखिने गरेपनि अहिले विपन्न र अशिक्षित परिवारका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी राख्ने गरिएको र त्यहाँ रहेका बालबालिकाको शैक्षिक, स्वास्थ्य अवस्था राम्रो नभएकाले उनीहरूलाई परिवारमै बस्ने वातावरण् बनाउनुपर्नेमा जोड दिए । आधार नेपालका देशीय प्रतिनिधि प्रल्हाद ढकालले केही बालबालिकालाई उनीहरुको गुणस्तरीय शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सुविधा दिने नाममा सहरमा ल्याउनुभन्दा जिल्लामै त्यो अवसर दिन सकिएमा परिवार, समाज र संस्कृतिसँगको सम्बन्धबाट उनीहरु विमुख हुन नपर्ने बताए । हिमाली नवीन समाजकबा कार्यकारी निर्देशक धनबहादुर लामाले देशका अधिकांश बालगृहहरु राज्यको मापदण्डअनुसार नरहेको उललेख गर्दै ती बाल गृहहरुमा राखिएका बालबालिका थुप्रै समस्याहरुबाट पीडित रहेकाले उनीहरुलाई परिवारमै पुनस्थापित गर्न संस्थाले पहल गरिरहेको उल्लेख गरे । सो अवसरमा राष्ट्रिय बालअधिकार परिषदका कार्यक्रम प्रबन्धक नमूना भुसाल, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता गौतम मिश्र,  कानुन व्यवसायी डा शिव पौडेल र आधार नेपालका प्रज्ञा लम्सालले बालबालिकासम्बन्धी विद्यमान कानुन, वालगृहको अवस्था र राज्यले अवलम्बन गर्नुपर्ने नीतिका बारेमा प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा केही वर्षअघि रुकुम टक्सेराबाट काठमाडौं ल्याइएकी वर्मा बुढामगरले आफूले ११ वर्षसम्म बालगृहमा रहँदा भोग्नुपरेका पीडाका बारेमा बोलेकी थिइन् ।  सो अवसरमा हाम्रो घर हाम्रो परिवार नामक पुस्तकको पनि लोकार्पण गरिएको थियो । रासस

हनुमान ढोकामा इन्द्र ध्वजोत्थान गरेसँगै सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं । हनुमानढोकामा इन्द्रजात्राको लिंगो ठड्याइएको छ । बिहान ८ बजेर २६ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारी समुदायले मनाउने जात्रा हो । यसलाई येँया पुन्हि पनि भनिन्छ । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । १२ औँदेखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । इन्द्रजात्रा र लिंगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, वृहत्संहीता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।

ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै

काठमाडौं । आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ ८ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।