विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै

काठमाडौं । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीयतह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो । वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीमा विकास पुगेको छ । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै सहर झर्ने र मधेस पस्नेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । ‘गाउँ गाउँजस्तो छैन सहर सहरजस्तो छैन कसकसले केके गर्दिए कुन्नि आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’ कवि हेम हमालको कवितामा भनिएझैँ तीव्ररूपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँ गाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ । ४/५ वर्षअघिसम्म दुर्गम मानिएका गाउँहरूमा पछिल्लो समय विकासको लहर चलेको छ । तर, विकास र सुविधा गाउँमा पुगेपछि मोटर चढेर गाउँ छोड्नेहरू पनि उत्तिकै बढेका रघुुगङ्गा गाउँपालिका-६ ठाडाखानीका टेकबहादुर छन्त्यालले बताए । हेर्दै रहरलाग्दो म्याग्दीको मालिका गाउँपालिका-२ मा पर्ने रूम गाउँको यो सौन्दर्य अहिले बसाइँसराइका कारण एक्लिदै जान थालेको छ । ‘गाउँमा घरहरू त छन् तर, घरमा बस्ने मानिसहरू छैनन् । बस्ती पातलिँदै जान थालेको छ । भीरपहरा र खोलाहरू छिचोल्दै गाउँमै सडक पुगेको छ । सुविधा थपिएका छन् । विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरू थप सुविधाको खोजिमा सहर बजार र तराईतिर जानेक्रम भने झन बढ्दै जान थालेका छन्,’ छन्त्यालले भने । ठाडाखानी मात्रै होइन आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको म्याग्दी जिल्लाका दर्जनौँ गाउँहरू पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेका छन् । जिल्लाका दुर्गम गाउँहरूबाट मात्रै होइन सदरमुकाम नजिक र सबै कुराको सुविधा पुगेका गाउँहरूबाट समेत बसाइँसराइ बढ्दै गएको छ । बेनी नगरपालिकाको ज्यामरूककोट, पुलाचौर, सिंगा, भकिम्ली, घतानजस्ता गाउँहरू समेत बसाइँसराइका कारण रित्तिदै जान थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन् । ८/१० वर्षअघि ५५ घरधुरी भएको बेनी नगरपालिका-२ गौश्वारा गाउँमा अहिले २६ घरधुरीमा मात्रै मानिसको बसोबास रहेको छ । त्यसैगरी १७९ घरधुरी भएको बगरफाँट र खबरा क्षेत्रबाट ४८ परिवारले बसाइँ सरेको बेनी नगरपालिका-२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए । गाउँमा विकासले गति लिँदै गरे पनि बसाइँ सर्नेको सङ्ख्यामा भने कमी आउन नसकेको उनको भनाइ छ । गाउँमा साह्रोगाह्रो र आपत्विपत् पर्दा सहयोग गर्ने छिमेकी घट्दै जान थालेका र विकास निर्माणको काम गर्न समस्या हुने गरेको मङ्गला गाउँपालिका-२ का केदार जैसीले बताए । म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवासुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसङ्ख्या घटेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार विसं २०६८ को तुलनामा ०.५४ प्रतिशतले म्याग्दीको जनसङ्ख्या घटेको हो । विसं २०६८ को जनगणनाअनुसार १ लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा १ लाख ७ हजार ३७२ जना भएको केन्द्रीय विभागको तथ्याङ्कमा उल्लेख छ ।

पत्रकार महासंघ बझाङका अध्यक्षमाथि चक्कु प्रहार, ‘तीन जनाको ज्यान मार्ने उद्देश्य थियो’

  काठमाडौं । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहमाथि कुटपिट भएको छ । सोमबार राति साढे ११ बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा उनलाई कुटपिट तथा चक्कु प्रहार भएको हो । बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार सिंहमाथि बझाङकै बिनोद कठायतको समूहले आक्रमण गरेको हो । घटनामा संलग्न २९ वर्षीय बिनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको ठगुन्नाले बताए । सिंहलाई घटनालगत्तै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको छ । पीडित सिंहले आफ्नो ज्यान मार्ने उद्देश्यले आफूमाथि आक्रमण भएको जानकारी दिए । ‘म खाना खाएर आफ्नो कोठातर्फ गइरहेको थिएँ, उनीहरुले मलाई होटलमा बोलाएर कोठाको ढोका बन्द गरेर कुटपिट गरे, चक्कु प्रहार गरे,’ उनले भने, ‘उनीहरुको मलाई मार्ने उद्देश्य थियो ।’ सिंहले प्रहरीमा उजुरी दिइसहेको जानकारी दिएका छन् ।

वनारसी धामको ऐतिहासिक महत्वका बारेमा पुरातत्वको चासो, सडक नहुँदा बिच बाटोबाट फर्किँदै भक्तजन

काठमाडौं । बैतडीको पाटन नगरपालिका-३ स्थित प्रसिद्ध वनारसी धामको ऐतिहासिक र पौराणिक महत्वका बारेमा पुरातत्व विभागले चासो देखाएको छ । शुक्रबार जात्रा सम्पन्न भएको वनारसी धाममा शनिबार पुरातत्व विभागका अधिकृत राजेश परियारले अवलोकन गरेका हुन् । वनारसी धाममा पुगेर सांस्कृतिक र ऐतिहासिक विशेषताका बारेमा जानकारी लिएको बताइएको छ । वनारसी धाममा अमूर्त संस्कृति रहेको र यसलाई संरक्षण गर्नु आवश्यक रहेको श्री वनारसी धाम विश्वनाथ ज्योर्तिलिङ्गका कोषाध्यक्ष एवम् धार्मीक प्रवक्ता मठाधिश समेत रहेका गणेश प्रसाद पन्तले बताए । पञ्चाङ्गकार पन्तका अनुसार वनारसी धामको ऐतिहासिक र सांस्कृतिक महत्वका बिषयमा पाटन नगरपालिका-३ का वडा अध्यक्ष करुणाकर भट्ट लगायतका सरोकारवाला व्यक्तिहरुसँग छलफल गरिएको पन्तको भनाइ छ । उनका अनुसार सामाजिक सदभाव र विभेद अन्त्यका लागि वनारसी धामको संस्कृति निकै महत्वपूर्ण रहेको छ । साथै उक्त क्षेत्रको संरक्षण सम्वर्द्धन वृहत विकासको लागि गरिएको डीपीआरले १८ करोड ४७ लाख ७५१ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । तर, सरकारले चासो नदिँदा कार्यान्वयमा समस्या देखिएको पञ्चाङ्गकार पन्तले गुनासो गरे । परापूर्वकालदेखि दलित समुदायका मानिस मुख्य पूजारी रहेको यस मन्दिरमा सबै जातजातीका दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । १२औं शताब्दीदेखि यो मन्दिरमा जात्रा लाग्ने गरेको र यसमा सबैको सहभागिता हुने गरेको पन्तको भनाइ छ । यसको महिमाको बारेमा सबैलाई जानकारी गराउन आफूले पहल गरिरहेको उनले बताए । ‘यस क्षेत्रमा आउने धार्मीक पर्यटकका लागि सौचालयको समेत व्यवस्था छैन, हवनकुण्ड, आवाश, आश्रमको पनि अभाव छ, व्यवस्थित सडक नहुँदा अधिकांश भक्तजन बिच बाटोबाट फर्किने गरेका छन्,’ उनले भने, ‘यस क्षेत्रमा सरकारले चासो दिएर संरक्षणसँगै विकासमा टेवा पुर्याउनुपर्छ ।’ तत्कालीन राजा मानूक चन्दका पालामा राजगुरु बिरभद्र बसी पन्त मूल मुखिया भट्ट, बिष्ट, अवस्थी आदी सम्पूर्ण स्थानीयबाट छलफल गराई तत्कालीन राजसभा परिषदबाट तत्कालीन राजा मानूक चन्दले विभेदमुक्त सार्वजनिक पूजास्थल घोषणा गरे । र बयनी लुहारलाई पुजारी नियुक्त गरे ।