डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी

काठमाडौं । डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । यो सहकार्यको औपचारिक घोषणा डिशहोमको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो । सम्झौतामा डिशहोम इन्टरनेटका तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र अभिनेत्री रायमाझीले हस्ताक्षर गरे । 'डिजिटल कनेक्टिभिटीलाई प्रविधिमा मात्र सीमित नराखी नयाँ पुस्ताको प्रेरणासँग जोड्ने प्रयासमा छौं,' डिशहोमले भनेकाे छ, 'दिव्या रायमाझी युवाको आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन् ।' सो अवसरमा रायमाझीले भनिन्, 'डिशहोम इन्टरनेटजस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय हो । यो केवल ब्रान्डको सहकार्य होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात हो ।' डिशहोम इन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । ‘माई डिशहोम’ मोबाइल एपमार्फत कम्पनीले ग्राहक सेवा स्मार्ट र सहज बनाएको जनाएको छ। रायमाझीसँगको सहकार्यबाट डिशहोम इन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ प्रगाढ बनाउने र डिजिटल पहुँचलाई जनस्तरसम्म विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको कम्पनीले जनाएको छ।

राजावादीको आन्दोलन भड्काउने ओलीको अभिव्यक्ति, सुरक्षा  निकायसँग भने : चक्रपथभित्र छिर्न नदिनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शनलाई रोक्न निर्देशन दिएका छन् । जेठ १५ गते हुने भनिएको राजावादीको प्रदर्शनसँग सम्बन्धित अभिव्यक्ति दिँदै ओलीले राजावादीलाई चक्रपथभित्र प्रवेश गर्न नदिन निर्देशन दिएका हुन् । बिहीबार चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा ब्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभित्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ ।  सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन् । तर, यी दुवै कार्यक्रम कहाँ हुने भन्ने टुंगो लागेको छैन । दुवै समूहले सरकारका कुनै पनि निकायसँग कार्यक्रम आयोजनाका लगि ठाउँ माग गरेका छैनन् । ओलीले यसअघि दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै मानव अधिकार आयोगले पनि चिन्ताव्यक्त गरेको थियो ।   

गोसाइँकुण्ड मेला सुरु, गङ्गा दशहराका लागि भक्तजनको ओइरो

रसुवा ।  पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।  मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा समितिले राखेको छ ।  जिल्लाको उच्च भागमा अवस्थित समुन्द्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौंदेखि धुञ्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा सुरू हुने र तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै  गोसाइँकुण्ड पुग्न सकिन्छ ।         गङ्गा दशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज बिहानै गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ ।  धार्मिक मान्यताअनुरूप जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाइँकुण्ड पुग्ने गरेका छन् ।  विशेष पर्व गङ्गादशहरामा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिनगरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ ।  बाह्रै महिना भक्तजन आवतजावत भने निरन्तरता दिँदै आएको छ ।  यात्रुहरूको बासस्थानका लागि ठाउँठाउँमा होटल सञ्चालनमा छन् ।  अनुपम प्राकृतिक छठाले गर्दा  कुण्डमा जान सहज भएको कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले बताए ।